भवानी ऐरगोदावरी (कैलाली), बैशाख ४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भाषासम्बन्धि कानून चाँडै ल्याउने बताउनुभएको छ । भाषा आयोगका अध्यक्ष डा. लबदेव अवस्थी नेतृत्वको टोलिसँगको भेटघाटमा मुख्यमन्त्री भट्टले सो कुरा बताउनुभयो । आईतबार मुख्यमन्त्री भट्टसँग भाषा आयोगको टोलीले भेटघाट गर्दै प्रदेशमा सरकारी कामकाजको भाषा कार्यान्वयनमा ल्याउनुपर्ने आग्रह गर्नु भएपछि मुख्यमन्त्री भट्टले प्रदेश ऐन आउँदो अधिवेशनमै पेश गरिने बताउनुभयो ।भाषा आयोगले हालै प्रकाशनमा ल्याएको आफ्नो पाँचौं बार्षिक प्रतिवेदनबारे सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र मुख्यमन्त्री भट्टलाई जानकारी गराएको बताउनुभयो । आयोगका अध्यक्ष डा. अवस्थीले सुदूरपश्चिम प्रदेशमा बोलिने भाषाबारे र सरकारी कामकाजको भाषासम्बन्धि संवैधानिक प्रावधानअनुसार बहुसंख्यक जनताले बोल्ने भाषालाई प्रदेश कानूनमा समेट्न सुझाएको बताउनुभयो ।
काठमाडौं, वैशाख ४ गते। धितोपत्र बजार शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झन्डै ३० अङ्कले ओरालो लागेको छ। नयाँ वर्षको पहिलो कारोबार सकारात्मक हुने अनुमान विपरीत नेप्से परिसूचकमा गिरावट देखिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.६० अङ्कले ओरालो लागेर दुई हजार ३८५.६४ मा ओर्लिएको हो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१२ अङ्कले ओरालो लागेर ४५०.९७ मा ओर्लेको छ।नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ। कूल २३३ कम्पनीको ३४ लाख सात हजार २७२ कित्ता शेयर एक अर्ब ४४ करोड सात लाख २३ हजार १८२ मूल्यमा खरिद बिक्री भए। आजको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ८४ अर्ब १२ करोड २८ लाख ६० हजारको हाराहारीमा सीमित भएको छ।नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ ८.८९, व्यापार ६।३९, होटल तथा पर्यटन ६३.२४, विकास बैंक ६६, जलविद्युत् ४२.८८, निर्जीवन बीमा १२०.६५, उत्पादन ८८.८, अन्य ३४.०१, लघुवित्त ४४.७४, जीवन बीमा २००.८७, सामूहिक लगानी कोष ०.०४ र लगानी १.५ अङ्कले ओरालो लागे।कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको चार करोड ९९ लाख ४७ हजार ३८१ बराबरको कारोबार भयो। यस्तै, अरुण भ्याली हाइड्रोपावर चार करोड ८६ लाख २५ हजार ३०४, ग्लोबल आइएमई बैंकको ऋणपत्र चार करोड २५ लाख ३५ हजार, हिमालयन डिस्टिलरी चार करोड एक लाख ३९ हजार ७९४ र नबिल बैंक तीन करोड ४९ लाख १७ हजार २७५ बराबरको कारोबार भएर शीर्ष पाँचभित्र पर्न सफल भए।नेप्सेका अनुसार नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो। जाल्पा सामुदायिक लघुवित्त ४.०३, सामुदायिक लघुवित्त ३.९८, उन्नति सहकार्य लघुवित्त ३.३३ र एनआइसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए। नेप्सेका अनुसार आज २४ कम्पनीको शेयर मूल्य मात्रै उकालो लागेको थियो।त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो। इमर्जिङ नेपाल ७.५८, राष्ट्र उत्थान लघुवित्त ६.०७, समालिङ पावर कम्पनी ५.६९ र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले गुमाए।रासस
स्याङ्जाको वालिङमा भएको जिप दुर्घटना परीे मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ४ गते। पछिल्लो समय सिन्धुपाल्चोकका युवा कृषि व्यवसायमा सक्रिय हुन् थालेका छन्। यस्तै वैदेशिक रोजगारमा जान लागेका इन्द्रावती गाउँपालिका–१२ भीमटारका युवा व्यावसायिक मौरीपालनमा लागेका हुन्।स्थानीय ईश्वर खड्का पूर्णरुपमा मौरी पालन व्यवसायमा लाग्नु भएको छ। उहाँको मात्रै ७५ घारमा मौरी पालन गर्नुभएको छ। उहाँले एक सिजनमै पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ। खड्का अहिले सिन्धुपाल्चोककै मौरी पालन व्यवसायकै प्रशिक्षकसमेत हुनुभएको छ। परम्परागत खेती छाडेर खड्का वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा हुनुहुन्थ्यो। तर, कोभिड सङ्क्रमणले वैदेशिक रोजगारीमा रोक लगाएपछि उहाँले गाउँमै मौरी पालन व्यवसाय सुरु गर्नुभएको थियो। विदेशमा गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँमा बसेर काम गर्दा आम्दानी बढेको खड्काले बताउनु भयो। खड्काले मौरीपालन व्यवसायमा राम्रो आम्दानी हात पार्न थालेपछि अहिले सो स्थानका अरु युवासमेत मौरीपालनमा लागेका छन्।
काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना हुने बताउनुभएको छ । आइतबार प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौँ राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले उक्त कुरा बताउनुभएको हो ।गत साता बसेको मन्त्रीपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । ‘राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ । हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आआफ्नो स्तरबाट तयारी अगाडि बढाउन आग्रह गर्छु,’ घिसिङले भन्नुभयो । प्रतियोगिता र पूर्वाधारको व्यस्थापन र समन्वय गर्न आवश्यक रहेकोले सरोकारवालासँग पहिलो बैठक बोलाईएको पनि घिसिङले बताउनुभयो । बैठकले राखेपको छिट्ट बस्न लागेको बोर्र्ड बैठकका लागि एजेन्डा तय गर्न सहज भएको पनि घिसिङले बताउनुभयो । ‘नवौँ राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको छ । राखेप खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको छ,’ उहाँले भन्नुभयो । बैठकमा सहभागी प्रदेशका सदस्य सचिवहरुले कर्मचारी व्यवस्थापन गरिदिनु पर्ने, पूर्वाधारको मर्मत सम्भार गर्नु पर्ने, छनोट प्रतियोगिताको विधि, प्रतियोगिता र पूर्वाधारमा समन्वय, आयोजक प्रदेशलाई १-२ खेल थप्न पाउने प्रावधान बनाउनु पर्ने, एनआरएनलाई पनि समावेश गर्न पहल गर्नु पर्ने, ऐनमा भएका जटीलतालाई फुकाउनु पर्ने, खरिदलगायतका कुरा निर्देशिकामा स्पष्ट हुनु पर्ने, गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व गर्ने गरी सबै जिल्लामा प्रतियोगिता सञ्चालन गर्नु पर्नेलगायतका विषयमा धारणा राख्नुभएको थियो । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले राष्ट्रिय खेलकुदको महत्व, सहभागी हुने टिम, खेल संख्या, खेलाडीलगायत सहभागी संख्या, नवौं राष्ट्रिय खेलकुदको स्वरुपलगायतका विषयमा प्रकाश पार्नुभएको थियो । बैठकमा ६ प्रदशेका सदस्य सचिव, नेपाल ओलम्पिक कमिटी, नेपाल प्रहरी, नेपाली सेना र एपीएफका प्रतिनिधिको उपस्थिति रहेको थियो । मधेस प्रदेशमा सदस्यसचिव नियुक्त भइ नसकेकाले महिला, बालवालिका तथा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख ठूलोबाबु दाहाल बैठकमा उपस्थित हुनुहुन्थ्यो ।
राजन रावतहुुम्ला, वैशाख ४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेको स्थानीय तह निर्वाचन अपरिहार्य भएको बताउनुुभएको छ । स्थानीय तह निर्वाचनका लागि चुनाबी सभामा आज यहाँ सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । देश निर्वाचनमय भएको बताउनुहुँदै अध्यक्ष ओलीले निर्वाचन अब कसैले रोक्न र छेक्न नसक्ने दावी गर्नुभयो । कुनै पक्ष निर्वाचन रोक्नेतर्फ लागेमा दुर्घटना हुने उहाँले बताउनुभयो । मानसरोवर बहुुमुखी क्याम्पसमा सञ्चालन भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देश नै चुनावी माहोलमा होमिएको बताउनुुभयो । स्थानीय निर्बाचनबाट जनताका नजिकका जनप्रतिनिधिहरु छानिने भएकाले सबैको चासो रहेको बताउनुभयो ।आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष र स्वच्छ बाताबरणमा जनप्रतिनिधि छनौट गर्ने नेपाली जनतामा जिम्मेवारी आएको उहाँको भनाई छ । जो जता मिलेर गठबन्धन गरेर निर्वाचनमा गएपनि एमालेलाई फरक नपर्ने उहाँले जिकिर गर्नुभयो । एमालेको पक्षमा जनलहर आएको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले निर्बाचनपछि पनि एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभयो । आबधिक निर्वाचन स्वभाबिक भएको बताउँदै त्यसबिरुद्ध कोही पनि जान नहुने उहाँले बताउनुुभयो । हाल देशमा सत्ता गठबन्धन दलहरु एकातिर र अर्कोतिर एमाले भएका कारण निर्वाचनमा दुुई पक्षीय संघर्ष हुने उहाँले चर्चा गर्नुभयो । हालसम्म सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट जतिसक्दो चाँडो जोड्नेतर्फ लाग्नुुपर्ने बताउनुुभयो । अहिले कर्णालीमा जति पनि समस्या देखिएका छन् ती सबै सडक यातायात नजोडिएका कारण भएका उहाँले बताउनुभयो । एमाले उपाध्यक्ष बिष्णु पौडेलले निर्वाचन परीक्षणको घडी भएकाले जनताले सही र देशको समृद्धिका लागि काम गर्ने दललाई बहुमत दिनुपर्ने बताउनुभयो । पछि पछुताउनुभन्दा अहिले योग्य र काम गर्न सक्ने जनप्रतिनिधि छनौटमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । यसअघि सिमकोट बिमानस्थलबाट बजागाजासहित एमालेले र्याली निकालेको थियो । अध्यक्ष ओलीले आईतबार दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा भएको सभामा पनि सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओली श्रीमति राधिका शाक्यसहित केही नेताहरुलाई लिएर हुम्लाको चुनावी सभामा पुग्नुभएको हो ।
ललितपुर, वैशाख ४ गते। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली साहित्यका विशिष्ट साधक एवम् लिम्बू संस्कृतिका ज्ञाता वैरागी काइँलालाई सम्मान गर्नुभएको छ। नेपाली लेखक सङ्घको सातौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई र शुभकामना दिन नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आयोजना गर्नुभएको कार्यक्रममा सङ्घका सल्लाहकार एवम् वरिष्ठ कवि बैरागी काइँलालाई सम्मान गरिएको हो।कार्यक्रममा वरिष्ठ कवि काइँला, महामन्त्री शर्मा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा लेखक सङ्घका सल्लाहकार डा. विष्णुविभु घिमिरे र नवनिर्वाचित अध्यक्ष तीर्थ श्रेष्ठले शुभकामना व्यक्त गर्नुभएको छ।समारोहमा नवनिर्वाचित अध्यक्ष एवम् कवि तीर्थ श्रेष्ठसहित कवि विष्णुविभु घिमिरे, श्रवण मुकारुङ, शैलेन्दु नेपाल, रामेश्वर राउत, श्रीबाबु कार्की, अमृता स्मृति, इन्द्र लम्साल, गणेश भट्टले कविता वाचन गर्नु भएकको थियो। सङ्घका महासचिव सोझो गाउँलेले कार्यक्रमबारे प्रकाश पार्नुभएको समारोहमा करिब पाँच विशिष्ट विद्वान् लेखकको उपस्थिति थियो।
काठमाडौँ, वैशाख ४ गते । यू–२० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लब र बडिमालिका रग्बी क्लबले जितेको छ । चितवनको भरतपुरमा भएको प्रतियोगितामा गोर्खाली पुरुषतर्फ र बडिमालिका महिलातर्फ च्याम्पियन बनेको हो ।फाइनलमा गोर्खालीले मकवानपुर रग्वी क्लबलाई ५–३ ले हरायो । महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी क्लबलाई १०–० ले स्तब्ध बनायो । पुरुषतर्फ गोर्खालीका रोहन डंगोल र महिलामा बडिमालिकाकी अर्पना थापा उत्कृष्ट खेलाडी चुनिनुभयो ।
काठमाडौं, वैशाख ४ गते। सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ। विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याउनुभयो। आजदेखि काठमाडौँमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताउनुभयो। उहाँले कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको पनि बताउनुभयो। सभामुख सापकोटाले आफ्नो विवेकले भ्याएसम्म भ्रष्टाचारविरुद्ध लागिरहने प्रण पनि गर्नुभएको छ।“कार्टुन भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसमा समाजको चित्रण साँच्चैको सिर्जनामा हुन्छ”, उहाँले भन्नुभयो, “अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु।” सत्यकुरा गर्न सजिलो भए पनि त्यसलाई अङ्गाल्न गाह्रो हुने बताउँदै सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानमा हुने सङ्कल्पप्रति आफ्नो पूर्ण समर्थन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले काम गुणस्तरयुक्त, कानुन निर्माण गर्नु र ठीक ढङ्गले लागू भएको छ कि छैन भनेर निगरानीको नेतृत्व गर्ने हो भन्दै उहाँले त्यसमा आफू प्रतिबद्धताका लागि लागिरहेको र अब पनि लागिरहने बताउनुभयो। सभामुख सापकोटाले भन्नुभयो, “भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन। यो राष्ट्रियतासँग जोडिएको विषय पनि हो। यो बढ्दै गयो र यस्तै गरी हामीले यसविरुद्ध खबरदारी गरेनौं भने यसले हाम्रो प्यारो मातृभूमिलाई भित्रभित्रै खाइदिन सक्छ।”स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सुरु भएको चित्रकारको कार्टुन प्रदर्शनी अर्थपूर्ण रहेको र अबको २५ दिन धेरै गुणात्मक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा तीनदिने उक्त कार्टुन प्रदर्शनी सुरु भएको हो। भ्रष्टाचारविरुद्ध सचेतना जगाउन दुई महिना भित्रमा सातै प्रदेशमा प्रदर्शनी गर्ने क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिनुभयो। प्रदर्शनीमा ३६ जनाका ५० वटा कार्टुन समावेश छ। रासस
काठमाडौं, वैशाख ४ गते। पाँचदलीय सत्ता गठबन्धनको वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक बसिरहेको पौडेलका प्रेस संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताबीच निर्वाचनको सिट बाँडफाँडलगायतका विषयमा छलफल भएको थियो। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लका अनुसार सोमबारसम्ममा महानगरपालिका र नगरपालिकाको भागबण्डाका विषयमा गठबन्धने टुङ्गो लगाउँदैछ। जारी बैठक यही विषयमा केन्द्रित छ। पौडेल नेतृत्वको दश सदस्यीय समितिमा काँग्रेसका तर्फबाट पौडेलसहित महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का तर्फबाट देव गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट डा. वेदुराम भुषाल र विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राईलगायत हुनुहुन्छ।
जनार्जन खत्री सर्लाही, वैशाख ४ गते । नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको चमेलिमाई मन्दिर नजिकै आइतबार दिउँसो भारतीय बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कदै गरेको बीआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले ठक्कर दिँदा साइकल यात्री कविलासी नगरपालिका–९ का ५८ वर्षीय शङ्कर रायको मृत्यु भएको हो । मलङ्गवा नगरपालिका–१२, मा बसले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार छन् । बस प्रहरीको नियन्त्रणमा छ ।
काठमाडौं, वैशाख ४ गते। पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो। त्यसैगरी ७३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् भने मृत्यु शून्य छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ छ।
धनगढी, वैशाख ४ गते। विभागीय टोली नेपाल पुलिस क्लबले प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता विजयी सुरुवात गरेको छ। कैलालीको धनगढी रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले चन्द्रपुर नगरपालिका रौतहटलाई १-० गोलले हरायो। पुलिसको जितमा रेखा पौडेलले निर्णायक गोल गर्नुभयो। रेखाले ५१औँ मिनेटमा गरेको गोल पुलिसको जितमा पर्याप्त बन्यो। धनगढीमा पहिलो पटक फर्डलाइटमा रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो। वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीको सहभागिता छ। गोल्डकपको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ। यसैगरी प्रत्येक खेलको ‘वमन अफ दि म्याच’लाई पाँच हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको थियो।
काठमाडौं, वैशाख ४ गते । 'मिष्टर नेपाल वर्ल्ड-२०२२' को उपाधि मोरङका नूतन श्रेष्ठले जित्नुभएको छ । शनिबार सम्पन्न मिस्टर नेपालको ग्राण्ड फिनालेमा २६ वर्षीय श्रेष्ठले उपाधि जित्नुभएको हो । श्रेष्ठले उपाधिसहित नगद पाँच लाख रुपियाँ पाउनुका साथै 'मिष्टर वर्ल्ड-२०२२' मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गर्नुभएको छ । यस्तै, प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट रनर्स अप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेन्ड रनर्स अप, कैलालीका २१ वर्षीय समीप शाही थर्ड रनर्स अप र मोरङका २७ वर्षीय विशाल कट्वाल फोर्थ रनर्स अप हुनुभएको छ । उहाँहरुले क्रमशः रु. पचास, तीस, बीस र पन्ध्र हजार नगद पुरस्कारका रुपमा प्राप्त गर्नुभएको हो ।ह्यात रिजेन्सी होटलमा आयोजित प्रतियोगितामा पूर्व मिष्टर नेपालद्वय डा.आयुष्मान घिमिरे तथा सन्दीप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री ऋचा शर्मा, सञ्चारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राजभाइ सुवाल निर्णायकको रुपमा रहनुभएकाे थियाे ।
नवराज कट्टेलविराटनगर, वैशाख ४ गते । सुनसरीको दुहवी बजारक्षेत्रका स्थानीयले निर्माणमा ढिलासुस्ती भएको भन्दै सडक जाम गरेका छन् । सडक निर्माण सम्झौता गरेको साह निर्माण सेवा कम्पनीले काममा ढिलासुस्ती गरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक घनेन्द्र हाङका अनुसार विस्तारको कामका लागि भत्काएको सडकमा सवारी गुड्दा धुलो धेरै उड्न थालेपछि स्थानीयले केहीबेर सडक अवरोध गरेका छन् । स्थानीयको विरोधपछि ठेकेदार कम्पनीले भत्काएको सडकमा नियमित पानी हाल्ने र निर्माणको कामलाई अगाडि बढाउने सहमति जनाएपछि अवरोध हटेको प्रहरी निरीक्षकले जानकारी दिनुभयो ।६ लेन सडक आयोजनासँग निर्माण सम्झौता गरेको साह निर्माण सेवाका प्रोपाइटर जयप्रकाश साहले निर्माणका क्रममा रहेको सडकमा धुलो उडेको भन्दै विरोध गरिएको बताउनुभयो । निर्माणका लागि आवश्यक पर्ने सामग्री अभाव भएका कारण पनि कामलाई अगाडि बढाउन असजिलो भएको बताउनुभयो । ठेक्का सम्झौता हुँदादेखि अहिले दुई गुणाले वस्तुको मूल्य वृद्धि भएको छ, साहले भन्नुभयो–“सम्झौता रकमले सडक निर्माणको काम बढाउन नसक्ने स्थिति आएको छ । सरकारसँग निर्माण व्यवसायीले पछिल्लो मूल्यवृद्धिको अवस्थाबारे जानकारी गराइसकेकाले त्यसबेलाको बोलकबोल रकमले निर्माणको काम गर्न नसक्ने स्थिति आएको छ ।”दुहवीका स्थानीयले समयमै सडक विस्तारको काम गर्न नदिएका कारण अहिले सास्ती बेहोर्नुपरेको छ । ६ लेन सडकको सीमाक्षेत्र समयमै क्लियर गर्न नदिएका कारण ठेक्का ढिलो लागेको बताइएको छ । दुई करोड रुपियाँमा मर्मत गर्नेगरी ठेक्का लिइएको सडकको काम पछिल्लो डेढ महिना यता भइरहेको छ । साहले २० दिन सडक क्लियर गर्न लागेको र बाँकी काम अगाडि बढिरहेको बताउनुभयो ।कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ ६ लेन सडक विस्तार आयोजना २०६८ सालदेखि नै सुरु भएको थियो । सुनसरीको दुहबी बजार ६३० मिटर दूरीलाई सरकारले ‘बिल्टअप एरिया’घोषणा गरेको थियो । त्यही प्रावधानमा टेकेर स्थानीय सडक विस्तार गर्न नदिएका कारण अहिले सास्ती बेहोर्नुपरिरहेको छ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशानालयले सुनसरीको दुहवी बजारक्षेत्रमा विस्तार बाँकी राखेको २ किलोमिटर दूरीमध्ये १३७० मिटरको निर्माण र ६३० मिटर क्षेत्र मर्मतको काम गरिरहेको छ । सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गको मापदण्ड २०३४ सालमा केन्द्रबिन्दुबाट २५–२५ मिटर निर्धारण गरिएको थियो । तर २०५४ सालमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारको सिफारिसमा दुहवी बजारको ६३० मिटर क्षेत्रलाई ‘बिल्टअप एरिया’ घोषणा गर्दै सडक सीमालाई केन्द्रबिन्दुबाट दायाँ–बायाँ ८.३–८.३ मिटर निर्धारण गर्ने निर्णय गरिएको थियो । व्यापारिक राजमार्ग नामकरण गरिएको रानी–किमाथाङ्का सडकको पहिलो खण्ड रानी–तरहरासम्मको ३४.६ किलोमिटर दूरीको काम दुहबी बजारबाहेक करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।