• १३ साउन २०८१, आइतबार

जनप्रतिनिधिले लिए शपथ : सधैँ राम्रो काम गर्न सुझाव

blog

११ पालिकाका प्रमुख तथा अध्यक्षलाई शपथ ग्रहण गराउँदै मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, जेठ ५ गते । जिल्लाका ११ स्थानीय तहमा निर्वाचित हुनुभएका नगर प्रमुख तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचित प्रमुख तथा अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले शपथ ग्रहण गराउनु भएको छ ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने निर्वाचित जनप्रतिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले थप्नुभयो, तपाईँले राम्रो काम गर्नुभयो भने जनताले पुनः अनुमोदन गर्ने छन् नराम्रो काम गर्नुभयो भने जनताले आफ्नो मतमार्फत बहिष्कार गर्नेछन् राम्रो काम गर्ने प्रयत्न सधैँ गर्नुहोला । प्रतिनिधि सभा सदस्य रवीन्द्र शर्माले जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र सरकारका जनप्रतिनिधि हिँड्नु पर्ने बताउनुभयो ।

आफ्नो पाँच वर्षे कार्यकाललाई उत्कृष्ट बनाउन सबै लाग्नु पर्नेमा जोड दिँदै उहाँले स्थानीय तहको दोस्रो निर्वाचन भएका कारण गाउँपालिका तथा नगरपालिकामा धेरै ऐन नियम र कार्यविधि निर्माण भएका छन् भन्नुभयो । उहाँले आवश्यकताका आधारमा कार्यविधि बनाएर जनतालाई विकास र समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, जनताले सहज रूपमा देखिने सरकार भनेको स्थानीय तह हो । आफूले दिएको मत खेर गएन भन्ने आभास मिल्ने गरी जनताको काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, शपथ ग्रहण लिँदा उल्लेख भएको विषयलाई मध्यनजर गर्दै अघि बढ्नु होला । जनताको साझा सेवक बन्नु होला ।

शपथ लिएका अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने सहायक निर्वाचन अधिकृत सुनिल कुमार खाणले बताउनुभयो । उहाँले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्ने छन् ।