• १७ असार २०८१, सोमबार

ताप्लेजुङका स्थानीय तहमा काँग्रेस अगाडि

blog

फुङ्लिङका नवनिर्वाचित नगरप्रमुख अमिर मादेनलगायतका समर्थक । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेपाली काँग्रेसले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकासहित चारवटा स्थानीय तहमा काँग्रेस विजयी भएको हो ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको निर्वाचनको परिणामअनुसार काँग्रेसपछि नेकपा एमालेले तीन र नेकपा (माओवादी केन्द्र) ले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन् । काँग्रेसले फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र मेरिङ्देन गाउँपालिकामा विजयी हासिल गरेको छ । उक्त पालिकामा प्रमुख पद मेयर र अध्यक्षमा काँग्रेसका प्रत्यासी विजयी हुनुभएको हो ।

यस्तै एमाले पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्रले भने फक्ताङ्लुङ गाउँपालिका र मैवाखोला गाउँपालिकामा विजयी हासिल गरेको छ । यस्तै दुईजना उपाध्यक्ष काँग्रेस, नगरउप्रमुख र दुइजना उपाध्यक्ष एमाले, तीनजना उपाध्यक्ष माओवादी र एकजना उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) ले जितेको छ ।

यता वडाध्यक्षतर्फ एमालेले २९, काँग्रेस १५, माओवादी १०, एकीकृत समाजवादी दुई र सङ्घाीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान एक तथा स्वतन्त्रका चारजना निर्वाचित हुनुभएको छ । सदस्यमा खुल्लातर्फ एमाले ५७, काँग्रेस ३५, माओवादी १८, नेकपा एस दुई र लिम्बुवान दुई स्थानमा विजयी भएका छन् ।

महिला सदस्यमा एमाले २८, काँग्रेस २१, माओवादी नौ, एस र लिम्बुवान एक/एक तथा दलित महिला सदस्यमा एमाले ३१, काँग्रेस १८, माओवादी नौ र नेकपा एसका एकजना प्रत्यासी निर्वाचित हुनुभएको छ ।

स्वतन्त्रका भने खुल्ला सदस्य सात जना, महिला सदस्य दुई र दलित महिला सदस्यमा दुईजना निर्वाचित हुनुभएको छ । नौ स्थानीय तहका ६१ वटा रहेको जिल्लामा प्रमुख पददेखि सदस्यसम्म तीनसय १९ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ ।