• १३ साउन २०८१, आइतबार

जाजरकोटका पालिका प्रमुख र अध्यक्षले लिए शपथ

blog

जाजरकोटका सातवटै पालिकाका नगर प्रमुख र पालिका अध्यक्षहरु शपथ ग्रहण लिएपछि । तस्बिर : गोरखापत्र

वासुदेव शर्मा

जाजरकोट, जेठ ५ गते । जाजरकोटका सातवटै पालिकाका नगर प्रमुख, पालिका अध्यक्षले शपथ ग्रहण लिएका छन् । मुख्य नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट विजयी नगर प्रमुख तथा पालिकाका अध्यक्षले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले नगरप्रमुख, पालिकाका अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । वैशाख ५ गते आज निवर्तमान जनप्रतिनिधिको कार्यकाल सकिएको छ । स्थानीय तहलाई सुचारु गर्न जननिर्वाचित नगर प्रमुख तथा अध्यक्षलाई  शपथ ग्रहण गराइएको हो ।

नेपालको संविधानप्रतिपूर्ण बफादार रहँदै कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताइ कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रही वा खराब भावना नलिई पदीय गोपनीयता कायम गर्दै इमान्दारीका साथ नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेकाले जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताका नाममा नगरप्रमुख तथा अध्यक्षले  शपथ लिनु भएको छ ।

शुक्रबार पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई नगर प्रमुख, पालिका अध्यक्षले शपथ ग्रहण खुवाउने कार्यक्रम रहेको छ । शुक्रबार शपथ ग्रहण लिएपछि नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्नुहुने छ ।