• ७ वैशाख २०८१, शुक्रबार

युगान्डासँग लगातार तेस्रो हारसँगै नेपालले सिरिज गुमायो

blog

युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपालकी खेलाडी । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, जेठ ५ गते । लगातार तेस्रो हारसँगै नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाएको छ । पाँच खेलको सिरिजमा पाहुना टोली युगान्डा दुई खेल अगावै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो ।

यससँगै युगान्डाले सिरिजमा ३–० को अग्रता लिएको छ ।  यसअघि नेपाल युगान्डासँग पहिलो खेलमा नेपाल १२ रन र दोस्रो खेलमा एक विकेटले पराजित भएको थियो । नेपालले दिएको एक सय रनको विजयी लक्ष्य युगान्डाले १८.२ ओभरमा चार विकेटको क्षतिमा एक सय एक रन बनायो ।

युगान्डाका लागि केभिन विनोले अविजित ४२ रन बनाउनुभयो । जेनेट वावाजीले २७ रन बनाउनुभयो । बलिङमा नेपालकी कविता कुँवरले दुई तथा कप्तान रुविना क्षेत्री र इन्दु वर्माले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाउनुभयो । रुविना क्षेत्रीले अविजित १८ र सिता रानामगरले १२ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले दुई दुई विकेट लिनुभयो । नेपाल र युगान्डाबीचको चौथो खेल शुक्रबार र पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेको हो ।