• १५ असार २०८१, शनिबार

जिल्लाभर एक मात्रा महिला अध्यक्षमा निर्वाचित

blog

नवीन शिशिर
बागलुङ, जेठ ५ गते ।
संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यो प्रावधान कुनै पनि दलले प्रमुख र उपप्रमुख एउटै पार्टीबाट उम्मेदवारी दिँदा आकर्षीत हुन्छ । तर निर्वाचनमा दुई वा सोभन्दा बढी दल चुनावी एकता गरेर उम्मेदवारी दिँदा दुईमध्ये एक पदमा महिला अनिवार्य हुँदैन् ।

राजनीतिक दलले कानुनी छिद्रताको फाइदा उठाउँदै संविधानको मुल मर्ममाथि प्रहार गरेका छन् । जसको कारण स्थानीय तहको चुनाव लड्न तथा नेतृत्व लिनबाट महिलाहरु वञ्चित हुनुपरेको छ ।

विशेष गरी राजनीतिक दलले दुई वा सोभन्दा बढी दलबीच चुनावी गठबन्धन गर्दा त्यसको असर महिला नेतृत्वमाथि परेको छ ।  हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङका दश स्थानीय तहमध्ये एक स्थानमा मात्रा महिला उम्मेदवार प्रमुखमा निर्वाचित हुनुभएको छ ।

बागलुङको बडिगाड गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकीा गण्डकी थापा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले निकटतम् प्रतिस्पर्धी राजनकुमार पाईजालाई पराजित गर्नुभएको थियो । थापाले सात हजार २७३ मत प्राप्त गर्दा पाईजाले पाँच हजार सात सय मत प्राप्त गर्नुभएको थियो । थापा पहिलो निर्वाचनमा पाईजाका बुवा मेयरसिंह पाईजासँग ५९२ मतले पराजित हुनुभएको थियो ।

तमानखोला गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार हिराकुमारी छन्त्याल निर्वाचित हुनुभएको छ । तमानखोलाको गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भएको थिएन । त्यहाँ सबै राजनीतिक दल एकल ढङ्गबाट चुनावी प्रतिस्पर्धा गरेको हँुदा महिला उपाध्यक्षले मौका पाउनुभएको हो ।

दश स्थानीय तहमा दुई महिलाबाहेक अन्य स्थानीय तहको प्रमुख र उपप्रमुखमा महिला जनप्रतिनिधि छैनन् । गठबन्धनले अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार बनाएको थियो ।

बागलुङ नगरपालिका बाहेक बाँकी नौ स्थानीय तहमा महिलालाई उपप्रमुखको उम्मेदवार बनाए पनि जित्न सकेनन् । निर्वाचन जित्ने सम्भावना भएको गठबन्धनले महिला उम्मेदवार उठाएन ।

दश स्थानीय तहमा ४४५ जनप्रतिनिधि निर्वाचित हुँदा अनिवार्य चुनिने महिला बाहेक खुल्लाबाट जम्मा १० जना महिला मात्रा विजयी भएका छन् । ताराखोला गाउँपालिकामा दुई, ढोरपाटन नगरपालिकामा एक, बडिगाडमा तीन, गलकोट नगरपालिकामा एक र जैमिनी नगरपालिकामा एक गरी आठ जना महिला खुल्ला सदस्य निर्वाचित भएका छन् । ८५ वटा वडामा एक जना महिला महिला वडाध्यक्षमा चुनिएनन् । महिला निर्वाचनमा छजना महिला उपप्रमुख र दुईजना महिला वडाध्यक्षमा निर्वाचित भएका थिए ।