• १३ साउन २०८१, आइतबार

विद्युतीय सवारीसाधन बढाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ५ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउने र प्रोत्साहन गर्ने नीतिगतसहितको तयारी भइरहेको बताउनुभएको छ। 

उहाँले चक्रपथभित्र विद्युतीय रेल चलाउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै रेल सञ्चालनसँगै काठमाडौँका सडकमा देखिएको सवारी चाप कम हुने बताउनुभयो। विद्युतीय रेलको प्रयोगबाट पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै राज्य कोषको बर्सेनि अर्बौं रुपियाँ जोगिने उहाँको भनाइ थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगद्वारा संयुक्त रूपमा बुधबारदेखि राजधानीमा आयोजित ‘नेपालमा सार्वजनिक यातायातको विद्युतीकरण रणनीति’ सम्बन्धी दुई दिने राष्ट्रिय परामर्श कार्यशालामा मन्त्री यादवले सो धारणा व्यक्त गर्नुभएको हो।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै कारण मुलुकले आयात निर्यातमा ठूलो घाटा बेहोर्नुपरेको चर्चा गर्दै उहाँले मुलुकभरि पेट्रोलियमबाट सञ्चालन हुने सवारीसाधनको सङ्ख्या चालिस लाख पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकभरि गुड्ने सवारीसाधनको करिब पचास प्रतिशत सङ्घीय राजधानीमै गुड्छ। त्यसैले यहाँ वातावारणमैत्री सवारीसाधनको प्रयोग अति आवश्यक देखिएको छ।” 

मन्त्रालयले विद्युतीय सवारीसाधनको सञ्चालनसम्बन्धी विषयलाई बजेटमा प्राथमिकताका साथ राखिएको बताउँदै अबका दिनमा सरकारले पेट्रोलियम सवारीलाई विद्युतीकरण गर्न र चार्जिङ स्टेसन निर्माण गर्ने व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिनुभयो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक सवारीसाधन मात्र नभई पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीसाधनलाई विद्युतीकरण गरी व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  फरक प्रसङ्गमा बोल्दै उहाँले अध्ययन र अनुसन्धानबिना नै सुरु गरिएकाले पूर्वाधारसम्बन्धी आयोजनाहरू आशातीत रूपमा अगाडि बढ्न नसकेको बताउनुभयो । विज्ञहरूको अध्ययनमा आधारित भएर मात्र राजनीतिक नेतृत्वले पूर्वाधार निर्माणसम्बन्धी धारणा बनाउनुपर्ने स्पष्ट पार्नुभयो ।