• ७ वैशाख २०८१, शुक्रबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भरत पुन र दिवा पुन । तस्विरः ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार  विजयी भएका छन् । बीहीबार बिहान सम्पन्न मतगणना अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत पुनले चार हजार ५८ र उपाध्यक्षका उम्मेदवार दिवा पुनले चार हजार १५  मत प्राप्त गरी विजयी हुनुभएको हो । 

यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बलबहादुर तिलिजाले तीन हजार ३१६ र उपाध्यक्षका उम्मेदवार ललिता तिलिजाले तीन हजार ३५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो । 

आठवटा वडा रहेको अन्नपूर्णको १,२,३,७ र ८ नम्बर वडामा नेकपा एमालेका क्रमशः दिलीपकुमार गर्बुजा,ओमप्रकाश फगामी,रमेश पुर्जा,मइलन पुन र खमबहादुर गर्बुजा विजयी हुनुभएको छ ।यसैगरी नेपाली काँग्रेसले वडा नम्बर ४ मा लोकबहादुर फगामी, ५ मा राजेश तिलिजा र ६ मा रामबहादुर खड्का विजयी हुनुभएको छ । 

मतगणनामा विवाद भएपछि स्थगित भएको मतगणना बुधबार बिहानदेखि सुरु गरिएको थियो । अन्नपूर्णको मत परिणाम सार्वजनिक भएसँगै म्याग्दीका सबै स्थानीय तहमा मतगणना सकिएको छ । जिल्लामा रहेका छ स्थानीय तहमध्ये नेकपा एमालेले मालिका, मङ्गला, अन्नपूर्ण र बेनी नगरपालिकामा प्रमुख जितेको छ । 

नेपाली काँग्रेसले रघुगङ्गामा अध्यक्ष र उपाध्यक्ष, धौलागिरि गाउँपालिकामा अध्यक्ष जितेको छ । यसैगरी माओवादीले बेनी नगरको उपप्रमुख र धौलागिरि गाउँपालिकाको उपाध्यक्ष जितेको छ । बेनी नगर र धौलागिरिमा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए ।

Author

ठाकुरप्रसाद आचार्य