• २० असोज २०८१, आइतबार

उद्योगमा लगानी वृद्धि

blog

काठमाडौँ, जेठ ५ गते । मुलुकमा स्वदेशी तथा विदेशी लगानीमा ४५१ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा २८३ स्वदेशी र १६८ विदेशी नयाँ उद्योग दर्ता भएका हुन् । कोभिड–१९ को महामारी नियन्त्रणमा आएसँगै उद्योग दर्ता सङ्ख्या बढ्दै गएको हो । 

उद्योग विभागका अनुसार आव २०७८/७९ को साउनदेखि वैशाखसम्ममा स्वदेशी २८३ उद्योगमा तीन खर्ब ७८ अर्ब ३१ करोड रुपियाँ लगानी हुनेछ भने २५ हजार ६८७ जनाले रोजगारी पाउनेछन् । अघिल्लो वर्ष सो अवधिमा स्वदेशी लगानीमा २१३ उद्योग दर्ता भएका थिए । त्यसका लागि एक खर्ब ५९ अर्ब ३८ करोड चार लाख रुपियाँ लगानी गर्ने ती उद्योगबाट ११ हजार ९७१ जनालाई रोजगारी दिने प्रस्ताव पेस भएको थियो । 

चालू आर्थिक वर्षको पहिलो १० महिनामा सबैभन्दा धेरै उत्पादनमूलक उद्योग १०९ दर्ता भएका छन् । यसैगरी पर्यटन उद्योग ५१, ऊर्जामूलक र सेवामूलकमा ४२, कृषि तथा वन पैदावारमा आधारित २१, सूचना प्रविधिमा आधारित १२, पूर्वाधारमा पाँच र खनिज एक उद्योग दर्ता भएका छन् । 

विभागका महानिर्देशक रामचन्द्र तिवारीले लगानीको वातावरण अनुुकूल बन्दै गएकाले उद्योग स्थापना बढ्दै गएको बताउनुुभयो । विशेष गरी ऊर्जा, पर्यटन र सेवामूलक उद्योगमा लगानीकर्ताको आकर्षण बढ्दै गएको उहाँले जानकारी दिनुुभयो । 

कोभिडका कारण उद्योग दर्ता बढ्न नसकेको र अहिले कोरोना महामारी कम हुँदै गएकाले उद्योग दर्ता वृद्धि भएको उहाँले बताउनुभयो । यसैगरी यो समयमा नीतिगत र प्रक्रियागत सुधार भएकाले उद्योगमा लगानी गर्ने क्रम बढेको विभागले जनाएको छ । ऐन, कानुन, नियमावलीलाई समसामयिक सुधार तथा लगानी वातावरणका सुधार गर्न सरकारले बजेट, योजना तथा नीति कार्यक्रम निर्माणमा प्राथमिकता दिएको विभागले जनाएको छ ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो दस महिनामा वैदेशिक लगानीमा १६८ परियोजना दर्ता भएका छन् । यी परियोजनामा ३९ अर्ब १५ करोड तीन लाख रुपियाँ लगानी गर्ने प्रतिबद्धता आएको हो ।  सो अवधिमा विदेशी लगानीमा सबैभन्दा धेरै पर्यटन उद्योग ६७, सेवामूलक उद्योग ६०, उत्पादनमूलक उद्योग २९, सूचना प्रविधिमा आधारित छ, कृषि तथा वन पैदावर उद्योग चारवटा दर्ता भएका हुुन् । ती उद्योगबाट १७ हजार ६६८ जनालाई रोजगारी दिने अनुुमान गरिएको छ ।


Author

लक्ष्मी सापकोटा