नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)तर्फबाट रामेछाप नगरपालिकामा प्रमुख र उप्रपमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
बाबुराम शर्मा चरीकोट, वैशाख १२ गते। आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दोलखाबाट गठबन्धनका साझा उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नौ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत ३८८ पदका लागि साझा उम्मेदवारी मनोनयन दर्ता भएको हो। भीमेश्वर नगरपालिका नगरप्रमुखमा ईश्वरनारायाण मानन्धर (नेका) र उपप्रमुखमा सङ्गीता पाख्रिन ( समाजवादी), जिरी नगरपालिकामा नगरप्रमुखमा लाक्पा शेर्पा (नेका) र उपप्रमुखमा गेल्बु शेर्पा (माओवादी) ले मनोनयन दर्ता गराउनुभएको छ। त्यसैगरी कालिञ्चोक गाउँपालिकामा अर्जुनप्रसाद सिवाकोटी (नेका) र उपाध्यक्षमा कुलबहाुर बुढाथोकी ( माओवादी), वैतेश्वर गाउँपालिका अध्यक्षमा छवि लामा (नेका) र उपाध्यक्षमा लक्ष्मण खड्का (माओवादी), तामाकोसी गाउँपालिका अध्यक्षमा प्रोणप्रताप केसी (समाजवादी) र उपाध्यक्षमा सिर्जना सुवेदी (नेका), मेलुङ गाउँपालिका अध्यक्षमा रवीन्द्र कार्की (समाजवादी) र उपाध्यक्षमा भक्तबहादुर तमाङ (नेका), बिगु गाउँपालिका अध्यक्षमा सञ्जीव ओली (माओवादी) र उपाध्यक्षमा आङनिमा शेर्पा (नेका) ले मनोनयन दर्ता गराउनुभएको छ। त्यस्तै गौरीशङ्कर गाउँपालिका अध्यक्षमा विश्वास कार्की (माओवादी) र उपाध्यक्षमा श्यामसुन्दर तमाङ (नेका), शैलुङ गाउँपालिका अध्यक्षमा रिमालबाबु श्रेष्ठ (माओवादी) र उपाध्यक्षमा दावादोर्जे तमाङ (नेका) ले मनोनयन दर्ता गराउनुभएको छ। वडा अध्यक्ष र सदस्यको गठबन्धनमा सहमति नभएपछि अहिले मनोनयन दर्ता गराउने र पछि उम्मेदवारी फिर्ता लिने सहमति भएको नेपाली काँग्रेस जिल्ला सभापति बर्मा लामाले जानकारी दिनुभयो।
सत्तारुढ गठबन्धनको तर्फबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले सोमबार उम्मेदवारी दर्ता गराउनु भएको छ।
स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नागेश कोइरालाले प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ ।
भक्तपुर, वैशाख १२ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट भक्तपुर नगरपालिका प्रमुखमा बद्री लखाजूले उम्मेदवारी दर्ता गराउनुभएको छ। भक्तपुर दरबार क्षेत्रमा रहेको भक्तपुर नगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो। त्यसैगरी राप्रपाको तर्फबाट भक्तपुर नगर उपप्रमुखमा लक्ष्मी छुस्याबागले उम्मेदवारी दर्ता गराउनुभएको छ। गठबन्धन, नेकपा (एमाले)लेसमेत उम्मेदवारी दर्ताको तयारी गरेका छन्। नेकपा (माओवादी केन्द्र)ले गठबन्धन तोडेर छुट्टै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ। भक्तपुरका जिल्ला निर्वाचन अधिकारी नरेन्द्र न्यौपानेका अनुसार भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि नगरपालिका, चाँगुनारायण नगरपालिकामा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ।
ललितपुर महानगरपालिकाको प्रमुख पदमा सत्तापक्षीय गठबन्धनमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जनले र नेकपा (माओवादी केन्द्र)बाट बाबुराजा ब्रजाचार्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १२ गते । स्थानीय तह सदस्य निर्वाचन मनोनयन दर्ताको दोस्रो दिन निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले आयोगले सम्पेको जिम्मेवारी कुशलतापूर्वक वहन गर्न निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी तथा सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । सोमबार तारकेश्वर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो । निर्वाचन अधिकृत चपला पोखरेलकाअनुसार तारकेश्वर नगरपालिका धर्मस्थली काठमाडौंमा रहेको निर्वाचन अधिकृतको कार्यालयको उहाँले अनुगमन तथा निरीक्षण गर्नुभएको हो । आयुक्त डा. तुलाधरले निर्वाचन अधिकृतको कार्यालय, मनोनयनदर्ताको लागि गरिएको तयारीबारे जानकारी लिनुहुँदै आवश्यक सहयोग र समन्वयका लागि आयोगमा सम्पर्क राख्न आग्रह गर्नुभयो । सोहीअनुसार आयुक्त डा. तुलाधरले काठमाडौं उपत्यकाका प्रायः सबैजसो निर्वाचन अधिकृतको कार्यालयमा महिला निर्वाचन अधिकृतहरुलाई खटाइएकोमा खुशी व्यक्त गर्नुभयो । आयोगले दिएको जिम्मेवारी पूर्ण बफादार भई कुशलतापूर्वक सम्पन्न गर्न गराउन निर्देशन पनि उहाँले दिनुभयो । निर्वाचन आचारसंहिता पालनामा कडाई गर्न निर्वाचन अधिकृतको कार्यालय, प्रहरी प्रशासन एवम् सुरक्षाकर्मीलाई उहाँले निर्देशन दिनुभयो । सो अवसरमा निर्वाचन अधिकृत पोखरेलले निर्वाचन कार्यालय अन्तर्गतका मतदान केन्द्र र निर्वाचनसँग सम्बन्धित हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।
नवराज श्रेष्ठ रामेछाप, वैशाख १२ गते । स्थानीय तह निर्वाचनको लागि रामेछापको मन्थली नगरपालिकामा एमालेका उम्मेदवारले सोमबार मनोनयन दर्ता गराएका छन् । नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा इश्वरी बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गर्नको लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, एमाले मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरेलगायतका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो । मन्थली बजारबाट बाजागाजासहित एमालेका नेताहरू उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।१४ वटा वडा रहेको मन्थली नगरपालिकामा एमालेले वडा नं १ मा दिनेश सुवेदी, २ मा सुरेन्द्र कार्की, ३ मा कृष्णगोपाल थापा, ४ मा शुक्रबहादुर श्रेष्ठ, ५ मा गणेश कार्की, ६ मा शङ्कर थापा, ७ मा देवेन्द्र श्रेष्ठ र ८ मा गोपाल श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । यसै गरी वडा नं ९ मा गोकर्णराज आरण, १० मा रामहरि चौहान , ११ मा कृष्णबहादुर पुलामी भूपाल, १२ मा खुसहरि बुढाथोकी, १३ मा नवराज थापामगर र १४ मा मोतीलाल तामाङ उम्मेदवार बन्नुभएको छ । उम्मेदवारी दर्ता गरेपछि नगरप्रमुखका उम्मेदवार लब श्रेष्ठले सबैको सहयोग र सद्भावबाट आफूले चुनाव जित्ने विश्वास व्यक्ति गर्नुभयो । सबैको भावनालाई सम्बोधन गरी मन्थली नगरपालिकाको विकासमा जुट्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगले सोमबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी मनोनयनको विवरण सार्वजनिक गर्दै १६ हजार ५६८ उम्मेदवारी परेको जनाएको छ ।
राजु लामिछानेरुकुम पश्चिम, वैशाख १२ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुख र वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मुसीकोट १ को वडाध्यक्षमा निर्वाचित वीरबल केसीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केसीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।त्यसैगरी, वडा नम्बर १ को अध्यक्षका लागि पनि स्वतन्त्रबाट उम्मेदवारी परेको छ । मुसीकोट नगरपालिका १ का कालिबहादुर महताराले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनुभएको हो । उहाँ नेपाली काँग्रेसको भ्रातृसङ्गठन तरुण दलका मुसीकोट नगर निर्वाचन परिचालन समितिका संयोजक हुनुहुन्छ । नेपाली काँग्रेसले मुसीकोट नगरपालिकाको प्रखुमको लागि महेन्द्र केसी, उप प्रमुखमा निर्मला गिरी र वडा नम्वर १ को वडा अध्यक्षमा ज्ञानुचन्द्र चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काठमाडाैं, वैशाख १२ गते । नेवाः विद्यार्थी युनियनको आयोजनामा ‘क्याम्पसमा नेपालभाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता हुने भएको छ । नेपालभाषाका साहित्यकार कवि केशरी चित्तधर हृदयकाे जेठ १२ गते परेकाे जन्मोत्सवमा साे प्रतियोगिता हुने लागेकाे युनियनका अध्यक्ष रिदेन महर्जनले जानकारी दिनुभयाे । प्रतियोगितामा प्रथम, द्धितीय, तेस्रो र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ।
नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । साथै उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
गणेश खनालअर्घाखाँची, वैशाख १२ गते । गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ । काँग्रेसले आफ्नो भागमा परेको पाँच स्थानीय तहमा काँग्रेसले उम्मेदवार चयन गरेको हाे।सन्धिखर्क नगरपालिका प्रमुखमा काँग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी र शीतगंगा नगरपालिका प्रमुख छविलाल पौडेललाई उम्मेदवार बनाएको छ । कांग्रेस–माओवादी गठबन्धनमा उपप्रमुख जितेको भूमिकास्थान नगरपालिकामा याे पटक कांग्रेसले उम्मेदवार पाएन । नगरप्रमुख राजमो र उपप्रमुख माओवादीलाई भाग परेको छ ।त्यस्तै, छत्रदेव गाउँपालिका अध्यक्षमा चन्द्रमान श्रेष्ठ, उपाध्यक्षमा इन्दिरा भुसाल, पाणिनि गाउँपालिका अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी गौतमलाई चयन गरेको छ । श्रेष्ठ र भुसाल नयाँ अनुहार हुन् । पाणिनिका दुई गौतमलाई पुनः दोहोरिएका हुन् । मालारानी गाउँपालिका उपाध्यक्षमा शोभाखर खनाललाई उम्मेदवार बनाएको छ । जसपा गठबन्धनबाट बाहिरिएको छ ।पाणिनि गाउँपालिका र छत्रदेव गाउँपालिका काँग्रेस एक्लै भिड्ने भएको छ । माओवादीले सन्धिखर्क नगरपालिका उपप्रमुखमा राजेन्द्र भुसाल, शीतगंगा नगरपालिकाको उपप्रमुखमा टिका रेस्मी, भूमिकास्थान नगरपालिकाको उपप्रमुखमा बालकृष्ण बजान्डे र मालारानी गाउँपालिकाको अध्यक्षमा पदम क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एसले केही वडा अध्यक्ष र सदस्यहरु पाएको छ । एमालेले केही दिन अगाडि उम्मेदवार टुङ्गाे लागिसकेको छ ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले पाल्पाले स्थानीय तहमा आफ्नो पार्टीबाट उम्मेदवारको टुङ्गो लगाएको छ ।