• ७ पुस २०८१, आइतबार

गोरखापत्र संस्थान र राष्ट्रिय अभिलेखालयबीच समझदारीपत्रमा हस्ताक्षर

गोरखापत्रका सबै प्रकाशनलाई डिजिटाइजेसन गरिने

blog

समझदारीपत्र आदानप्रदान गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र राष्ट्रिय अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्ग साथमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी । तस्बिरः कविन अधिकारी

काठमाडौं, जेठ १२ गते । गोरखापत्र संस्थानका प्रकाशनहरूलाई डिजिटाइजेसन गर्न गोरखापत्र संस्थान र राष्ट्रिय अभिलेखालयबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

संस्थानमा भएको कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले संस्थानका प्रकाशनहरू डिजिटाइजेसन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

संस्थानले ‘गोरखापत्र’, ‘द राइजिङ नेपाल’ सहितका प्रकाशनहरूको डिजिटल अभिलेख तयार पार्दैछ । १२२ वर्षको इतिहास बोकेको संस्थानले हाल सञ्चालित तथा यसअघि बन्द भइसकेका सबै  प्रकाशनको डिजिटल अभिलेखीकरण गरी वेबमा आधारित सर्चेबल टेक्स्ट डेटाबेस विकास गर्दैछ । उक्त डेटाबेसमा पाठकहरूले संस्थानका सबै प्रकाशन सजिलै पढ्न पाउनेछन् ।


संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र एउटा पत्रिका मात्र नभएर मुलुकको राजनीतिक, सामाजिक इतिहासको ऐनासमेत भएकाले यसको संरक्षणमा विशेष ध्यान दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भावी पुस्ताले इन्टरनेटमार्फत् हाम्रा ऐतिहासिक महत्वका प्रकाशनहरूको अभिलेखमा पहुँच पाउनेछन्, अत्याधुनिक प्रविधि पनि जोडिएकाले यो कार्यलाई सम्पन्न गर्नु चुनौतीपूर्ण पक्कै छ तर हामी यो चुनौती सफलतापूर्वक सामना गर्न तयार छौँ ।”

कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘लाखौँ पाठक र अनुसन्धाताहरूलाई गोरखापत्रको डिजिटल अभिलेख महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने मेरो विश्वास छ ।’’

राष्ट्रिय अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले अनुसन्धाताहरूका लागि गोरखापत्र सबैभन्दा ठूलो स्रोत भएकाले अभिलेखालयले यसको भौतिक सुरक्षा गरिरहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “अब हामी संस्थानसँग मिलेर यसको डिजिटल अभिलेख पनि तयार पार्नेछौँ, यसबाट मुलुककै सम्पत्तिको दीर्घकालीन सुरक्षा हुनेछ, इतिहास बोकेको यो अभिलेखलाई प्रविधिको प्रयोग गर्दै भावी पुस्ताका लागि जीवन्त राख्ने कार्य आफैँमा महत्वपूर्ण छ ।”

समझदारीपत्र अनुसार संस्थान र अभिलेखालयले दुबै निकायमा पूर्ण सङ्कलन नरहेका प्रकाशनहरूलाई एकत्रित गर्नेछन् । गोरखापत्र संस्थानका सम्पूर्ण प्रकाशनलाई उच्चतम् गुणस्तरको प्रविधि प्रयोग गरी डिजिटाइजेसन गरिनेछ ।

यस्तै, संस्थानको सङ्कलनमा रहेका ऐतिहासिक तस्बिर तथा फिल्म रिलहरूको पनि डिजिटाइजेसन गरिनेछ । अभिलेखालयसँग वि.सं १९५८ देखि २०२८ सम्मका गोरखापत्रका अङ्कहरू माइक्रोफिल्म प्रविधिमा सुरक्षित छन् ।
सम्भव भएसम्म माइक्रोफिल्मबाट र सम्भव नभएमा हार्डकपीबाट डिजिटलमा रुपान्तरण गर्ने तथा २०२९ सालपछिका गोरखापत्रलाई हार्डकपीबाट डिजिटाइजेसन गरी आधुनिक प्रविधिमा सुरक्षित गर्ने समझदारीपत्रमा उल्लेख छ ।

संस्थानका सबै प्रकाशनहरूको गुणस्तरीय डिजिटल इमेज तयार तथा सङ्कलन गरी एकत्रित गर्ने र यसरी तयार गरिएका डिजिटल इमेजहरूको बहुप्रति उत्पादन गरी संस्थान र अभिलेखालयमा छुट्टाछुट्टै भण्डारण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।


महाप्रबन्धकको संयोजकत्वमा व्यवस्थापन समिति गठन
संस्थानका सबै प्रकाशन, ऐतिहासिक तस्बिर तथा रिलहरूको विस्तृत सूची बनाई समयमै डिजिटाइजेसन कार्य सम्पन्न गर्न गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको संयोजकत्वमा व्यवस्थापन समिति गठन भएको छ ।

समितिमा गोरखापत्र संस्थान, राष्ट्रिय अभिलेखालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।

संस्थानले गत मङ्गलबार डिजिटल अर्काइभ कार्यक्रमअन्तर्गत गोरखापत्र पुस्तकालयको स्तरोन्नति तथा व्यवस्थानका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

पुस्तकालयको स्तरोन्नति, प्रकाशनहरूको डिजिटाइजेसन तथा वेबमा आधारित प्रणालीको विकासलाई संस्थानले सँगै अगाडि बढाएको छ ।