पाल्पा, वैशाख १२ गते । पाल्पामा १७ थान हातहतियार सङ्कलन भएको छ । इजाजत प्राप्त हातहतियार प्रहरीमा बुझाउन प्रशासनले गरेको आग्रह अनुसार हालसम्म ११ थरिका १७ जना विभिन्न खालका हतियार, पाँच सय ४२ वटा गोली सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।स्थानीय तहको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले इजाजत प्राप्त हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको थियो । प्रहरीका अनुसार १२ नाले बन्दुक तीन थान, एक नाले टोटा बन्दुक चार थान, दुई नाले बन्दुक एक थान सङ्कलन भएको छ । यस्तै, एक नाले १२ बाेर बन्दुक एक थान, दुई नाले बृज लोडिङ् बन्दुक, एक नाले बृज लोडिङ् बन्दुक, २२ बारे राइफल, भरुवा बन्दुक, २२ वटा एक नाले बन्दुक, एक नाले भरुवा बन्दुक, एक नाले बृज लोडिङ् बन्दुक एक, एक नाले हतियार बरामद भएको प्रहरीले जनाएको छ । सङ्कलन भएको हातहतियार विभिन्न प्रहरी तथा इलाका प्रहरी कार्यालयमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचनअन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ ।
काठमाडौं, वैशाख १२ गते । आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका १० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिराहा लाहान नगरपालिका ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । श्रीमतीलाई सुतिरहेको अवस्थामा आगो लगाई हत्या गर्न खोजेका थिए । शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएपछि उपचारको क्रममा मृत्यु भएको भएको थियो । आगो लगाएको अवस्थामा स्थानीयबासीले फेला पारी घाइतेको उपचार लागि अस्पताल भर्ना गरेको तर उपचार क्रममा मृत्यु भएको सोमबार प्रहरीले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख छ । यता मकवानपुरमा आफ्नै श्रीमती २८ वर्षीया दिया शर्माको हत्या गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको छ । बकैया गाउँपालिका ५ तीनतले बस्ने भारत मध्यप्रदेश भाेपाल घर भएका ३० वर्षीय पवन सोनीलाई प्रहरीले आइतबर राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पवनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
गोरखापत्र अनलाइन काठमाडौं, वैशाख १२ गते । स्थानीय तह सदस्य निर्वाचन मनोनयन दर्ताको दोस्रो दिन निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले सोमबार चन्द्रागिरि नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गर्नुभएको छ । निर्वाचन अधिकृत सिर्जना थपलियाकाअनुसार चन्द्रागिरि नगरपालिकाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । आयुक्त डा. तुलाधरले निर्वाचन अधिकृतको कार्यालय, मनोनयनदर्ताको लागि गरिएको तयारीबारे जानकारी लिनुभयो । । सोहीअनुसार उहाँले मतदानपछि हुने मतगणनाका लागि तय गरिएको स्थानको समेत निरीक्षण गर्नुभएको थपलियाले जानकारी गराउनुभयो । सो अवसरमा आयुक्त डा. तुलाधरले उम्मेदवारी दर्ता गर्ने क्रममा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलालाई प्राथमिकतामा राखेर मनोनयन दर्ताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको निर्वाचन अधिकृत थपलियाले जानकारी गराउनुभयो । मनोनयन दर्ता प्रक्रियालाई सहज र चुस्त बनाउन भूमिका खेल्न उहाँले निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।
विराटनगरमा प्रमुख राजनीतिक दलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसलाई दिउँसो १ बजे र नेकपा एमाले र नेकपा समाजवादीलाई दिउँसो ३ बजे उम्मेदवारी दर्ता गर्ने भएको हो ।
बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका ३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा एमालेले लमजुङका ८ वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको टुङ्गो लागेको नेकपा एमाले गण्डकी केन्द्रीय सदस्य मायानाथ अधिकारीले बताउनुभयो ।
सोमबार ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नु पर्ने भएकोले सत्ता गठबन्धन दलहरुबीच सहमति नजुटेपछि आ–आफ्नो ढंगले उमेदवारी दिने तयारीमा जुटेको हो । पूर्वी नवलपरासीमा सत्ता गठबन्धनमा अझै कुरा मिल्न सकेको छैन तथापि माओवादी केन्द्रले गठबन्धनसँग तालमेल मिल्ने गरी उमेदवारी दिने तयारी गरेको छ ।
काठमाडौं, बैशाख १२ गते । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य शान्ता आङबुहाङले पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा आठराई त्रिवेणी गाउँपालिकाको उपप्रमुख पदमा मनोनयन गर्ने तयारी गर्नुभएसँगै लिम्बुले पदबाट राजिनामा दिनुभएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । प्रेस स्वतन्त्रताको मर्मलाई मध्यनजर गरी आङबुहाङले राजिनामा दिनुभएको पत्रमा उल्लेख छ । यस अघि महासंघकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दिनुभएसँगै राजिनामा दिनुभएको थियो ।
तिलाचन पाण्डेतम्घास, वैशाख १२ गते । गुल्मीका १५ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।जिल्लाको कालीगण्डकी ,मालिका ,मदाने ,सत्यवती र चन्द्रकोट गाउँपालिकाका गरी १५ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । यस्तै ४१ वटा मतदान स्थल संवेदनशील र ८६ वटा मतदान स्थल सामान्य रहेको उहाँले जानकारी दिनुभयो । संवेदनशील स्थलहरुमा सुरक्षा लगायत अन्य हिसावले पनि सबै प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो । शान्ती सुरक्षाका हिसावले आफूहरुले सबै प्रबन्ध मिलाएको र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आफूहरु सक्षम रहेको पौडेलले दाबी गर्नुभयो । मतदान स्थलहरुलाई वर्गीकरण गर्दा भगोल, यातायात, जिल्लागत सीमा लगायतका विषयहरुलाई आधार मानेर वर्गीकरण गरिएको हो ।जिल्लामा कुल १४२ मतदान स्थल छन् भने मतदान केन्द्र भने २७९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा आठ वटा मतदान स्थल छन् भने सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदान स्थल रहेको निर्वाचन कार्यालयका नायबसुब्बा मेघलाल पाण्डेले जानकारी दिनुभयो ।कालीगण्डकी र मदाने गाउँपालिकामा १०-१०, गुल्मीदरबार, रुरुक्षेत्र र मालिका गाउँपालिकामा ११-११, चन्द्रकोट गाउँपालिकामा १४ तथा छत्रकोट गाउँपालिकामा १० मतदान स्थल छन् । त्यस्तै धुर्कोट गाउँपालिकामा ११ एवम् मुसिकोट र रेसुङ्गा नगरपालिकामा १५-१५ वटा मतदान स्थल रहेको पाण्डेले बताउनुभयो । गुल्मीमा कुल दुई लाख २४ हजार २७६ मतदाता रहेको कार्यालयले जनाएको छ । जसमा महिला एक लाख १४ हजार २५१ , पुरुष एक लाख १० हजार ५९ र २ जना अन्य रहेको कार्यालयले जनाएको छ ।
तिलाचन पाण्डे गुल्मी, वैशाख १२ गते । नेकपा (एमाले) ले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारहरुको टुङ्गो लगाएको छ । एमालेले रेसुङ्गा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेलाई सिफारिस गरेको छ । यस्तै मुसिकोट नगरपालिकामा जीवन खरेल प्रमुख र उपप्रमुखमा गङ्गा श्रेष्ठलाई सिफारिस गरेको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो । यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा अध्यक्षका लागि रामजी ढकाललाई सिफारिस गरेको छ भने उपाध्यक्षको टुङ्गो लगाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सत्यवती गाउँपालिकामा अध्यक्षमा टीकारम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी रहनुभएको छ । चन्द्रकोट गाउँपालिकामा अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा यस अगाडिकै राधिका अर्याललाई पुनः सिफारिस गरेको छ । रुरु क्षेत्र गाउँपालिकामा अध्यक्षका लागि हिमाल श्रेष्ठ र उपाध्यक्षका लागि मिना गौतम रहनुभएको छ । छत्रकोटमा अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली रहनुभएको छ । गुल्मीदरबार गाउँपालिकामा अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुन , इश्मा गाउँपालिकामा अध्यक्षमा हीरा एसी र उपाध्यक्षमा यस अगाडिकै विमला मालिका गाउँपालिकामा यस अगाडिकै अध्यक्ष रितबहादुर थापा हुनुहुन्छ भने उपाध्यक्षमा रनमाया पुन रहनुभएको छ । मदाने गाउँपालिकामा अध्यक्षका लागि प्रेम केशी र उपाध्यक्षमा यस अगाडीकै सरिता खडका रहनुभएको छ । धुर्कोट गाउँपालिकामा भने अहिलेसम्म कसलाई सिफारिस गर्ने भन्ने बारेमा टुङ्गो लागेको छैन । अहिले पनि धुर्कोटको बारेमा छलफल भइराखेकाले केही समयमै टुङ्गो लगाइने श्रीपालीको भनाइ छ । यता गठबन्धनले भने रेसुङ्गामा काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीलाई प्रमुखमा र अमृता कुँवरलाई उपप्रमुखमा पठाउने निर्णय गरेको छ । मुसिकोटमा गठबन्धनबाट काँग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा समाजवादीका नेता श्रीराम महत रहने भएका छन् । मालिका गाउँपालिकामा गठबन्धनको तर्फबाट माओबादीबाट देवीराम अर्याल अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उपेन्द्र अर्यालले आइतबार नै मनोनयन दर्ता गराई सक्नुभएको छ । गठबन्धनले अझै अन्य केही स्थानीय तहको बारेमा भने टुङ्गो लगाउन बाँकी छ ।
एभर्टनमाथि सहज जित निकाल्दै लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दौड कायम राखेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोलले हरायो ।
इटालियन सिरी ‘ए’ लिग फुटबलको उपाधि होड रोचक बनेको छ । आइतबार राति भएको खेलमा लाजियोलाई उसैको मैदानमा २–१ गोलले हराउँदै एसी मिलान शीर्षस्थानमा उक्लिएको छ ।
स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोनालाई रायो भालेकानोको धक्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोलले पराजित भयो ।
अविनाशविक्रम शाहको छोटो चलचित्र कान्स फिल्म फेस्टिभलमा छानिएको छ । कान्सले सार्वजनिक गरेका चलचित्रमध्ये शाहले निर्देशन गर्नुभएको ‘लोरी’ छनोट भएको हो । योसँगै नेपालबाट प्रतिस्पर्धात्मक विधामा छनोट हुने ‘लोरी’ पहिलो चलचित्र बनेको छ ।