• १५ चैत २०८०, बिहिबार

६४ जनाको आँखाको शल्यक्रिया

blog

हिमाली जिल्ला मनाङको चामेमा सञ्चालित आँखा शिविरमा सेवा लिँदै स्थानीय । तस्बिरः लमजुङ समाचारदाता ।

बेलिना थापा 

लमजुङ, जेठ १२ गते । हिमाली जिल्ला मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलबार र बुधबार गरी ६४ जनाको आँखाको शल्यक्रिया गरिएको हो । ६३ जनाको मोतियाबिन्दुको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको छ । एक जनाको आँखामा मासु पलाएकाले शल्यक्रिया गरिएको छ ।


शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका ११ जना प्राविधिक र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । डा= रुइतले ६४ जना वृद्धवृद्धाका आँखाको शल्यक्रिया गर्नुभएको थियो । आँखा शिविरमा चारै गाउँपालिकाका नागरिक आएका थिए ।


विकट नार्पाभूमि गाउँपालिकाको नारगाउँबाट दुई दिन हिँडेर सेवा लिन आएका थिए । आँखासम्बन्धी सेवा कहिल्यै नपाएका नागरिक पनि आएका थिए । 


चामे गाउँपालिकासँगै नासो गाउँपालिका मनाङ ङिस्याङ गाउँपालिकाका नागरिक पनि लाभान्वित भएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठान, तेज कोहली एण्ड रुइत फाउन्डेशन र सामुदायिक आँखा केन्द्र मनाङको आयोजनामा सञ्चालित शिविरमा करिब नौ सयजनाको आँखा परीक्षण गरिएको थियो । एक सातासम्म गाउँगाउँ पुगेर आँखा जाँच गरिएको थियो । 


आँखा परीक्षणपछि शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामीको चामेमा शिविर सञ्चालन गरेर आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाका अनुसार शल्यक्रियाका लागि लमजुङ र गोरखाबाट बिरामी आएका थिए ।


मनाङमा पहिलो पटक बहत् आँखा शिविर सञ्चालन भएको हो । स्थानीयले पहिलो पटक यस्ता खाले शिविर पाउँदा खुसी व्यक्त गरेका छन् । शिविरमा शल्यक्रियापछि बिरामीलाई गाउँगाउँमा पु¥याउन भ्राकाका कालु घलेले सहजीकरण गर्नुभएको छ । चामेको आमा समूहले अन्य सहजीकरण गरेको थियो ।