• १३ साउन २०८१, आइतबार

तनहुँमा दुई दलित उम्मेदवार बने उपप्रमुख

blog

अमरराज नहर्की 

तनहुँ, जेठ १२ गते । स्थानीय तहको निर्वाचनमा तनहुँमा दलित समुदायबाट दुई जना उपप्रमुखमा निर्वाचित हुनुभएको छ  । एक नेपाली कांग्रेस र अर्को माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएको व्यक्ति उपप्रमुख बन्न सफल हुनुभएको हो । 

भानु नगरपालिकामा काँग्रेसका उमा गोतामे र शुक्लागण्डकी  नगरपालिकामा माओवादी केन्द्रका राजु विश्वकर्मा उपप्रमुखमा विजयी हुनुभएको हो । दलित समुदायबाट पालिकाको प्रमुखमा भने शुन्य रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका गोतामे झण्डै दोब्बर मत ल्याई निर्वाचित हुनुभयो । गोतामेले १० हजार ५४७ मत ल्याएर विजयी हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गर्नुभयो  ।

  सीप विकास तालिम प्रदान गरी महिलालाई स्वरोजगारबाट आत्मनिर्भर बनाउने, दलित, सिमान्तकृत समुदायको महिलालाई नेतृत्व विकासको तालिम दिने, अध्ययनमा समस्या भएका विपन्न अभिभावकका बालबालिकालाई मद्दत गर्नेलगायतलाई प्राथमिकतामा राखिएको गोतामे बताउनुहुन्छ ।  

साथै, उहाँले दलित तथा पिछडिएको वर्गलगायतको हितमा काम गर्ने बताउनुभएको छ । यस अघि उहाँ स्थानीय तहको निर्वाचनमा भानु नगरपालिका–५ को वडा सदस्य भई काम गर्नुभएको थियो । जिल्ला समन्वय समिति तनहुँका सदस्य अर्जुनबहादुर अधिकारीले गोतामे गण्डकी प्रदेशमै दलित महिलाबाट उपप्रमुख बन्ने एक मात्र महिला भएको बताउनुभयो । 

दलित समुदायबाट उपप्रमुखमा गोतामेलाई काँग्रेसले उम्मेवार प्रमुखलाई समेत मत धेरै प्राप्त भएको अधिकारीले बताउनुभयो । ‘दलित महिलालाई अवसर दिएपछि अधिकांश समुदायले प्रमुख तथा उपप्रमुख दुवैलाई भोट दिएकाले दुवैले अत्याधिक मत ल्याएर विजयी हुनुभयो’ अधिकारीले भन्नुभयो । 

शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा विकले १० हजार २६२ मत ल्याएर विजयी हुनुभयो । विकको निकतम प्रस्तिपर्धी एमालेका फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाउनुभयो । उपप्रमुख विक विकासमा पछि परेको समुदाय, भूगोललाई प्राथमिकता दिएर बजेट विनियोजनको लागि पहलकदमी गर्ने बताउनुहुन्छ । यस अघिको वि.सं २०७४ को निर्वाचनमा दलित समुदायबाट शुक्लागण्डकीको नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका सविता रसाइली उपप्रमुखमा विजयी हुनुभएको थियो ।