• १५ वैशाख २०८१, शनिबार

त्रियुगामा मतगणनामा कलम र रुखको आलोपालो अग्रता

blog

भोटराज राई

उदयपुर, जेठ १२ गते । उदयपुरको जेठो र ठूलो नगरपालिका त्रियुगाको मतपरिणाम रोचक बन्दै गएको छ । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ । प्रमुख र उपप्रमुख पदमा यी तीनै पक्षमा मत आइरहेको छ । यसबीचमा पनि कांग्रेस र गठबन्धनको निकटतम टक्कर देखिएको छ ।

१० हजार ५१४ मतगणनामा गठबन्धनबाट नेकपा एसका बलदेव चौधरी तीनहजार ४७२ मतका साथ अग्रतामा हुनुहुन्छ । कांग्रेसको प्रमुख पदका उम्मेद्वार वसन्त बस्नेत तीनहजार ३२४ मतका साथ दोस्रो स्थान र एमालेका भागवत राउत दुई ३६१ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । सयदेखि तीनसयसम्मको मतान्तरमा कांग्रेस र गठबन्धनको अग्रता आलोपालो भइरहेको छ । 

हालसम्मको मत परिणामले उपप्रमुखमा पहिलो रुख, दोस्रो गोलाकारभित्रको हँसिया हथौडा र तेस्रोमा सूर्यले मत पाएको छ । उपप्रमुखमा कांग्रेसका सरिता राईको तीनहजार ४२, गठबन्धनबाट माओवादी केन्द्रका गीता खड्का कार्कीको दुई हजार ८५७ र एमालेका महेश्वरी राईको दुईहजार ६१३ मत छ ।

हालसम्म पाँचवटा वडाहरु १, २, १४, १५ र १६ को मतगणना सकिएको छ । पाँचमध्ये १४, १५ र १६ गरी तीनवटा वडामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले वडामा प्यानलै विजय हासिल गरेको छ । वडा नं. १ मा नेपाली कांग्रेस र २ मा नेकपा एमालेले विजय गरेको छ ।  

वडा नं. १६, १५ र १४ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. १ मा कांग्रेस र वडा नं. २ मा एमालेले वडाध्यक्ष जितेको हो । गठबन्धनका १६ नं वडाध्यक्षमा मानबहादुर राई, १५ मा गणेशप्रसाद तिम्सिना र १४ मा हिमराज मगरले प्यानलै जितेका हुन् । वडा नं. १ मा कांग्रेसका मनोजकुमार चौधरीसहित प्यानलै जित्नुभयो भने वडा नं. २ मा घमानसिंह खत्रीले वडाध्यक्षमा जित हात पार्नुभयो । सो वडाको अन्य सदस्य भने सबै कांग्रेसका विजयी भएका छन् । 

अब त्रियुगाको २९ हजार ६६५ मत गन्न बाँकी छ । त्रियुगामा ६० हजार ४६ मतदातामध्ये  ४० हजार १७९ मत खसेको छ ।