• १३ साउन २०८१, आइतबार

युवाको विदेश पलायन रोक्न कोहलपुरमा रोजगार बैंक स्थापना गर्ने निर्णय

blog

कोहलपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुख । तस्विर– सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ १२ गते । स्थानीय तहमा निर्वाचित हुनुभएका बाँके जिल्लाका विभिन्न पालिका प्रमुख र अध्यक्षहरुले जनतालाई आकर्षित गर्न विभिन्न लोकप्रिय निर्णय गर्न थाल्नुभएकाे छ । 

जिल्लाका अधिकांश पालिका प्रमुखले सामाजिक भत्ता घरमै पु¥याउने, शिक्षा र स्वास्थ्यमा विशेष योजना ल्याउने तथा कर घटाउने जस्ता निर्णय गरिरहेको बेला पश्चिम नेपालको केन्द्रबिन्दु मानिएको कोहलपुर नगरपालिकाका प्रमुखले आफ्नो नगरमा बेरोजगारी अत्याधिक रहेको ठहर गरी सो समस्या समाधानका लागि रोजगार बैंक स्थापना गर्ने निर्णय गर्नुभएको छ । 

कोहलपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख पूर्णप्रसाद आचार्यले पदभार ग्रहण गर्दै रोजगार बैंकको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेर उक्त बैंक स्थापनाका लागि पहल सुरु गर्नुभएको हो । रोजगार बैंकको स्थापनापछि यहाँका बेरोजगारहरुलाई रोजगारीका लागि सहज हुने अपेक्षा गरिएको जनाउँदै मेयर आचार्यले यसले युवाको विदेश पलायन पनि कम हुने बताउनुभयो । 

उहाँले बेरोजगारीकै कारण अहिले कोहलपुरका धेरै युवा रोजगारीको खोजीमा विदेशी भूमिमा अलपत्र पर्न बाध्य रहेकाले नगरपालिकाले रोजगारी सिर्जना गर्न गराउन रोजगार बैंक स्थापना गर्ने निर्णयमा पुगेको बताउनुभयो ।  

आफूले निर्वाचन प्रचार प्रसारको क्रममा अधिकांश नगरवासीबाट सो समस्याका बारेमा गुनासो सुनेकाले नै पहिलो निर्णयहरुमा उक्त निर्णय पनि समावेश गरेको बताउनुभयो । करिब तीन दशकको एमालेको गढ भत्काउँदै मेयरमा निर्वाचित हुनुभएका आचार्यले पदभार लगत्तै सातवटा विभिन्न जनमुखी निर्णयमा हस्ताक्षर गर्नुभएको छ । 

प्रमुख आचार्यले गर्नुभएका अन्य निर्णयहरुमा नगरपालिकामा टोल फ्रि नम्बर सञ्चालन, महिनाको दुई पटक जनतासँग सिधा कुरा गर्ने, छात्रवृत्तिको लागि क्याम्पससँग सहकार्य गर्ने, पूर्वाधार विकासका साथै आर्थिक विकासमा समेत टेवा पु¥याउने गरी आर्थिक अवस्था विश्लेषण गरी ६ महिनाभित्र प्रतिवेदन तयार गर्नेलगायतका जनमुखी निर्णय छन् ।