• ५ वैशाख २०८१, बुधबार

सिन्धुलीमा पाठ्यपुस्तक बिना पठनपाठन सुरु

blog

बाबुराम देवकोटा
सिन्धुलीमाढी, जेठ १२ गते ।
सिन्धुली जिल्लामा नयाँ शैक्षिक सत्रको सुरुसँगै अधिकांश सामुदायिक विद्यालयले पाठ्यपुस्तक बिना नै पठनपाठन सुरु गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै सिन्धुली जिल्लामा सामुदायिक विद्यालय सञ्चानमा आएका भए पनि विद्यार्थीहरु पाठ्यपुस्तकको पर्खाइमा बसेका विद्यालयले जनाएका छन् । कमलमाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङ विद्यालय खुले पनि विद्यार्थी भने पाठ्यपुस्तकको पर्खाइमै बसेका बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक यो वर्ष परिवर्तन भएकाले इन्टरनेटबाट मास्टर कपी तानेर शिक्षकले पठाएका छन् । तर विद्यार्थीले पाठ्यपुस्तकको अभावमा पढ्न र गृहकार्य गर्न भने पाएका छैनन् । कहिले किताब आउने हो, अझै ठेगान छैन ।’’

अन्य कक्षाको पाठ्यपुस्तक पुरानैसँग मिल्ने भएपनि गाउँमा साथिको खोजेर लिएर विद्यालयमा पढ्न आउभन्दा विद्यार्थीले नमानि रहेको उहाँको भनाइ छ । ‘‘नयाँ किताब लिएजस्तो पुरानो कितामा लिन विद्यार्थी मान्दा रहेन छन् । अरु कक्षाका विद्यार्थी पनि नयाँ किताबकै पर्खाइमा बसेका छन्,’’ प्रधानाध्यापक थिङले भन्नुभयो, ‘‘अभिभावक र विद्यार्थीले नयाँ किताब कहिले आउछ भनेर सोधेर हैरान बनाइसके !’’

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरुलाई भर्ना लिएपनि अहिलेसम्म पाठ्यपुस्तक आइनपुग्दा पढाउन समस्या भएको उहाँको भनाइ छ । विद्यालयका अनुसार भर्ना भएसँगै विद्यार्थीहरु नियमित कक्षामा आउने गरेका छन् । तर विद्यालयमा किताब छैन ।
‘‘किताब नहेर कसरी पढाउने अन्येलमा छौँ,’’ कमलामाई नगरपालिका–३ स्थित जलकन्या माविका शिक्षक रामप्रसाद सिग्देलले भन्नुभयो, ‘‘बाँकी कक्षामा त पुराना किताबले पढाउने गरेका छौं ।’’

चार, सात र नौ कक्षाको पाठ्यक्रम नयाँ भएकोले सो कक्षाका विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको उहाँको भनाइ छ । । शिक्षक सिग्देलले भन्नुभयो, ‘गत वर्ष  कोरोनाका कारण पढाइ प्रभावित भएको थियो । यो वर्ष विद्यार्थीलाई नियमित रुपमा पढाउने योजना बनाएका थियौं । तर किताबको अभावले योजना नै बिफल होला जस्तो छ ।’’

कमलामाई नगरपालिका–६ माझीटारस्थित तिमल्सीना पुस्तक पसलका बिक्रेता दिपक तिमल्सीना अहिलेसम्म सिन्धुली जिल्लामा कक्षा १ र ३ को नया पाठ्यपुस्तक आएको र बाँकी कक्षाको किताब नआएको जानकारी दिनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘कक्षा १ र ३ का किताब विद्यालयमा पठाइ रहेका छौं । बाँकी कक्षाको किताब सेटमा जनक शिक्षा सामग्रीले दिन सकेको छैन । सेटमा नदिएपछि हामीले पनि ल्याएका छैनौं ।’’

यो वर्ष स्थानीय तह निर्वाचनका कारण जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक छपाई गर्न ढिलाई गर्दा विद्यार्थीले बेलैमा पाठ्यपुस्तक पाउन नसकेको हुन सक्ने शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत दुर्गाप्रसाद काफ्लेले बताउनुभयो । नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा प्रावि ३६२, निमावि ८१ र मावि १२० गरी ५६३ वटा सामुदायिक विद्यालय रहेको उहाँले जानकारी दिनुभयो ।