• १६ चैत २०८०, शुक्रबार

सस्तियो हरियो तरकारी : उपभोक्तालाई राहत

blog

शिवशङ्कर मिश्र
बारा, जेठ १२ गते ।
कलैया बजारमा अचेलको दिनदेखि हरियो तरकारी सस्तो भएको छ । हरियो तरकारी सस्तो भएपछि आलु, प्याज छोडेर दैनिक हरियो तरकारी खाने गरेको उपभोक्ताहरुले बताएका छन् ।

सय बढी मूल्यसम्म बिक्री हुने तरकारी अहिले ५/१० रुपियाँसम्म प्रतिकिलो पाई राखेकोमा उपभोक्ताहरुलाई राहत भएको उनीहरु बताउँछन् ।

कलैया बजारलगायत स्थानीय तहका गुदरी बजार, हाट बजार र चोकचोकमा दैनिक लाग्ने बजारहरुमा प्रायः सबै ठाउँमा दुईचार रुपियाँको फरकफरक दर रेटमा हरियो तरकारी बिक्री वितरण भई राखेको कलैया तरकारी बजार व्यवस्थापन समितिको अध्यक्ष तथा बारा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य दिपलालप्रसाद साहले जानकारी दिनुभयो ।

उहाँले पहिलाको अपेक्षामा अहिले बजार व्यवस्थापनको कुनै समस्या नरहेको तथा नापतौलमा पनि ८०/८५ प्रतिशत व्यापारीहरुले पुरानो ढक, तराजु छोडेर विद्युतीय तराजु प्रयोगमा राखेको बताउनुभयो ।

हाल हरियो तरकारी घिउरा १०/१५, करेला १०/२०, झिगुनी २५/३०, रामतोरिया ५/१०, काक्रो १०/२०, कटहर ३५/४०, प्याज २५/३० रुपियाँमा प्रतिकिलो बिक्री भइराखेको छ । यस्तै, लौका प्रतिगोटा १०/१५ र बोडी प्रति पुल्ला ५/१०, सागको पुल्ला ५/१० मा बिक्रीमा छ ।

केहीदिन अगाडि बजारमा घिउरा ४०/५०, करेला ५०/६०, झिगुनी ५०/६०, रामतोरिया ३०/४०, काक्रो ४०/५०, कटहर १००/१३०, प्याज ६०/७० प्रतिकिलोमा बिक्री भइराखेको थियो । यस्तै, लौका प्रतिगोटा ५०/६० र बोडी प्रति पुल्ला ३०/४०, सागको पुल्ला २०/२५ मा बिक्री भएको थियो ।

किसानको भन्दा लोकल तरकारी व्यापारीहरुले आफू अनुकूल मूल्य राखेर बिक्री गर्ने होडबाजी पनि चलेको तथा सर्वसाधारण किसानहरुले हरियो तरकारी खेती गरेकोमा तरकारी सस्तो भएको कलैया उपमहानगरपालिका वार्ड नम्बर–५ का सुरेश शर्माले बताउनुभयो ।

यसवर्ष कृषकहरुले करिब पाँच हजार ४५० हेक्टर क्षेत्रफलमा वर्षे तरकारी खेती गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवम् बाली विकास अधिकृत राजनारायण प्रसाद साहले बताउनुभयो ।