प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वित्तीय संस्थाको अनुगमन र नियमन आवश्यक रहेको बताउनुभएको छ । बैङ्क, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा हुनुपर्ने उहाँले बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थाको समीक्षा आवश्यक छ । अनि मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौँ ।”
लक्ष्मीपुरपतारी गाउँपालिका–६, सीतापुर निवासी शिबु साह घरघरमा उपचार गरेर भएको कमाइबाट चारै छोरालाई डाक्टर बनाउन सफल हुनुभएको छ। शिबुले अनुभवबाट उपचार गर्न सुरु गर्नुभएको थियो। गरिब दलित बस्तीमा उपचारका लागि निकै प्रख्यात भएकाले उहाँलाई बिरामीले दिएको पदवी नै शिबु डाक्टर हो। तर वास्तवमा उहाँ चिकित्सक हुनुहुन्न। अहिले पनि विपन्न दलित बस्तीमा कोही बिरामी पर्दा शिबुकहाँ नै आउने गरेका छन्। २०३६ सालमा एसएलसी उत्तीर्ण गरेर भारत विहारको दरभङ्गामा न्युरोलोजिस्ट डाक्टर सीताराम सिंहको क्लिनिकमा पाँच वर्ष कम्पाउन्डरको काम गर्नुभएको शिबु साह आफ्नै गाउँ फर्केर ज्वरो, दम झाडापखालालगायत सीतापुरवरिपरिका गाउँमा सामान्य बिरामीको उपचार गर्न थाल्नुभएको थियो।
केही वर्षअघिसम्म मुख्य आम्दानीको स्रोत बन्न थालेको चिराइतोको उत्पादन नहुँदा मूल्य भने बढ्न थालेको छ। इलामको लेकाली उत्तरी क्षेत्रका किसानले खेती गर्दै आएको चिराइतोको मूल्यमा गिरावट आउँदा किसानले खेती नै गर्न छाडेका थिए तर यो वर्ष चिराइतोको मूल्य वृद्धि भएपछि किसानलाई पछुतोजस्तै भएको छ। अहिले इलाममा चिराइतो प्रतिमन ३० हजारदेखि ३२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रमा एक साथ तीन संरचना निर्माण सुरु भएको छ । विराटनगर महानगरपालिका–१८, बुधनगरस्थित रेल मार्गको नेपाल कस्टम यार्ड र आईसीपीलाई जोड्ने लिङ्क रोड, रेलमार्फत आएका कन्टेनर राख्ने यार्ड र चोरी पैठारीबाट आयात भएका वस्तु बरामद भएपछि भण्डारण गर्न ‘लिटिगेसन’ गोदाम निर्माणको काम एकसाथ सुरु गरिएको हो ।
अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका युवा टेकबहादुर पुनले दुई वर्षअघि मिस्त्री खोला जलविद्युत् आयोजनाको सेयरको प्राथमिक निष्कासन (आईपीओ)मा ५५ हजार रुपियाँको ५५० कित्ता सेयर खरिद गर्नुभयो । पुनजस्तै नारच्याङका अधिकांशले आईपीओमा लगानी गरेका थिए ।
विद्यार्थी चढेको ट्याक्टर मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा दुर्घटना हुँदा एकको मृत्यु र चार घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष नौले रावलले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी किर्ते मुद्दाको प्रक्रिया अघि नबढाउने निर्णय जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ । प्रहरीको रायसहितको प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले मुद्दा चलाउने आधार नभएको निर्णय गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी बैठकले सत्तापक्षमा बस्ने र प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ। सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगले यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन बुझाउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति कार्यालयले उपराष्ट्रपतिको शपथग्रहण समारोह सोमबारका लागि तय गरेको छ।
शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपको दक्षिणतर्फको उत्खननका क्रममा गजुर फेलापरेको छ। कन्थक स्तूपनजिकै रहेको विहार र पोखरीको उत्खननमा उक्त गजुर भेटिएको हो। माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटरको छ।
नेविसंघका निरु चौधरी ८० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।
तस्बिर : कविता थापाकाठमाडौं, चैत ५ गते। यस वर्षको घोडेजात्राको तयारी सुरु भएको छ। नेपाली सेनाले राष्ट्रपतिको प्रमुख आतिथ्यतामा हुने घोडे जात्राको तयारी गरेको हो। घोडे जात्राको अवसरमा विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साइकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प प्रदर्शन गरिने छ। यो वर्षको घोडेजात्रा चैत ७ गते परेको छ। घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवम् समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुग्नु हुनेछ।
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगामा धार्मिक पर्यटन वृद्धि गर्न भारतबाट सन्त महन्तहरु लिएर धार्मिक अनुष्ठान गरिने भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा रेसुंगामा आगामी बैशाख तेस्रो हप्तादेखि जेठ पहिलो हप्ता भित्रमा धार्मिक अनुष्ठान गरिने भएको हो ।
पोखरा, चैत ५ गते। फेवातालमा साइँली, डुङ्गा सललसम्झनामा तिम्रो तस्बिर झलल।स्वरः शिव परियार, सङ्गीतः रामचन्द्र काफ्ले, रचनाः किरण घिमिरे। पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई। फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन्। आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्दछन्। जति हेरे पनि नथाकिने फेवातालको सुन्दरतामा माछापुच्छ्रेको छाँया प्रकृति प्रेमीका लागि निकै लोभलाग्दो दृश्य हो। फेवातालमा डुङ्गामा सयर गर्दै माछापुच्छ्रेलगायतका हिमशृङ्खलाको सुन्दर दृश्य तालमा हेरेर फर्कन पर्यटक निकै लालयित हुने गरेको पाइन्छ। यद्यपि पछिल्लो समय भने यही सुन्दर ताल छेउमा अस्तव्यस्त पुराना डुङ्गाले फेवातालको सुन्दरतालाई घटाइरहेको छ। लामो समय भएका काठका डुङ्गा ताल किनारमा बेवारिसे अवस्थामा रहँदा तालको सुन्दरतामा असर पारिरहेको बताउनुहुन्छ लेकसाइड निवासी साहित्यकार लक्ष्मण थापा। “फेवातालको सुन्दरता बेचेर धेरै बाँचेका छन्, पोखराको गहना फेवातालको छेउछाउमा पुराना डुङगालाई बेवारिसे छोडिनु गैरजिम्मेवारपन हो। यसले फेवातालको सुन्दरतासँगै ताल पुरिने जोखिम पनि बढाउँदै लगेको छ”, उहाँले भन्नुभयो, “यसरी नै पुराना डुङगा अस्तव्यस्त छोड्ने हो भने कालान्तरमा फेवातालले आफ्नो अस्तित्व जोगाउन सक्दैन।” फेवाताल किनारमा रहेका डुङ्गा वर्षायाममा पानीको सतह बढ्दा तालभित्र हराउने हुँदा ताल पुरिने जोखिम पनि बढ्दै गएको उहाँको भनाइ छ। योसँगै थापाले फेवातालसँगै जोडिएको भक्कल भन्ने ठाउँमा सिमपानीको चिसा खोलाले बगाएर ल्याएको माटो फेवातालमा मिसिँदा पनि ताल पुरिने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। फेवा डुङगा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बेवारिसे अवस्थामा ताल किनारमा रहेका डुङ्गालाई वैशाख महिनाभित्र व्यवस्थापन गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले हालै बैठकबाट यही विषयमा निर्णय गरेका छौँ, चैत २० गतेबाट अनुगमन गर्छौं र वैशाख महिनाभित्र ताल किनार र तालभित्र रहेका डुङगाको व्यवस्थापन गर्नेछौं।” उहाँका अनुसार अहिले फेवा तालमा आठ घाटबाट (बाराही घाट, स्वीमिङ घाट, गौरीघाट, अम्मटघाट, फिस्टेलघाट, फेवाघाट, बङ्लादी घाट, पारिघाट) डुङगा सञ्चालन हुँदै आएको छ। फेवातालका लागि सातसय ६७ डुङ्गा सञ्चालित छन्। बाराही घाटबाट धेरै डुङ्गा सञ्चालन हुने गर्दछ। फेवाताल किनारमा बेवारिसे अवस्थामा रहेका करिब एक सय पचासदेखि दुई सयसम्म डुङ्गा हुन सक्ने उहाँको अनुमान छ। अनुगमनबाट सम्बन्धित डुङ्गा धनीलाई त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न लगाउने तयारी भएको उहाँले जानकारी दिनुभयो। “हामीले डुबाएर राखेका डुङ्गालाई निकाल्ने मर्मतपछि प्रयोगमा ल्याउन मिल्नेलाई त्यहीअनुसार र नमिल्नेलाई तालबाहिर सम्बन्धित डुङ्गा धनीलाई नै व्यवस्थापन गर्न लगाउने गरी निर्णय गरेका छौँ। अब केही महिनामा ताल छेउमा बेवारिसे डुङ्गा देख्नुहुन्न”, गिरीले भन्नुभयो। पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित डुङ्गा व्यवसायीलाई एक महिनाको समय दिइएको बताउनुभयो। “फेवाताल किनारका बेवारिसे डुङ्गाको विषयलाई लिएर कुरा आएको छ, हामीले त्यसको व्यवस्थापनका लागि एक महिनाको समय दिएका छौँ, त्यो समयभित्र उहाँहरूले त्यसको व्यवस्थापन गर्नुभएन भने वडाले नै त्यस्ता डुङ्गाको व्यवस्थापन गर्नेछ।” उहाँले डुङ्गा व्यवसायीले आफ्नो डुङ्गा प्रयोगविहीन भएपछि ताल छेउमा राख्दा तालको सुन्दरतामा असर परेकोप्रति वडाले चासो दिएको बताउनुभयो। अध्यक्ष भट्टराईले फेवातालको मुख्य स्थानमा सरसफाइका लागि दुई कर्मचारी राखेर नियमित सफाइ कार्य गरेको र ताल छेउका व्यवसायीलाई पनि ताल र आसपास क्षेत्रमा फोहर नफाल्न सचेत गराइरहेको जानकारी दिनुभयो। योसँगै वडा सदस्य पवित्र थापाको संयोजकत्वमा ‘हाम्रो सफा वैदाम’ अभियान सुुरु गरेको उहाँले बताउनुभयो। साथै ताल सरसफाइ र संरक्षणका लागि स्थानीय जलारीलाई पनि सक्रिय बनाएर कार्य गर्ने सम्बन्धमा वडाले निर्णय गरेको उहाँको भनाइ छ। रासस