• १४ वैशाख २०८१, शुक्रबार

रेसुंगामा धार्मिक पर्यटन बढाउन धार्मिक अनुष्ठान गरिने

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत ५ गते । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगामा धार्मिक पर्यटन वृद्धि गर्न भारतबाट सन्त महन्तहरु लिएर धार्मिक अनुष्ठान गरिने भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा रेसुंगामा आगामी वैशाख तेस्रो हप्तादेखि जेठ पहिलो हप्ता भित्रमा धार्मिक अनुष्ठान गरिने भएको हो ।

ऐतिहासिक महत्व रहेको रेसुंगा प्रचारप्रसारमा ओझेलमा परिरहेको भन्दै सो अनुष्ठानको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । भारतबाट सयौंको संख्यामा सन्त महन्तहरुलाई ल्याएर वृहत् धार्मिक अनुष्ठान गरिने रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।

अहिले मिति तय गरिएको छैन । धार्मिक अनुष्ठानमा भारतको अयोध्या, बनारस, राजिस्थान, हरिद्वार तथा वृन्दावनलगायतका स्थानबाट सन्त, महन्तहरु सहभागी गराइने भएको छ । अनुष्ठान आयोजनाका लागि तम्घासस्थित भगवती मन्दिर तम्घासमा अयोध्यादेखि रेसुंगासम्मको धार्मिक सम्बन्धका विषयमा विचार गोष्ठी गरिएको थियो । 

त्यसअवसरमा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आफुहरुको पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र पर्यटन रहेको बताउनुभयो । रेसुंगाको प्रचार प्रसारका लागि नगरपालिकाले हरेक क्षेत्रमा सहयोग र हातेमालोका लागि तयार रहेको बताउनुभयो । उहाँले रेसुंगाको बृहत्तर विकास तथा प्रचार प्रचारका लागि “जाँउ हिड रेसुंगा” कार्यक्रम घोषणा गर्न लागेको बताउनुभयो ।

त्यस्तै, इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, युवराज भण्डारीलगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो । विचार, विमर्श कार्यक्रममा सहभागीलाई रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशि पन्थीले धन्यवाद दिनुभयो । कार्यक्रममा मठजोगिनी राजस्थानबाट भारतका योगी शम्भुनाथ जी महाराज, रामअयोध्या धाम भारतका स्वामी राजेन्द्रनन्द जी महाराजको सहभागिता थियो ।