काठमाडौँ, चैत ६ गते । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगले यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन बुझाउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति कार्यालयले उपराष्ट्रपतिको शपथग्रहण समारोह सोमबारका लागि तय गरेको छ।
निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी हुनुभएको थियो। उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव र ममता झा पनि उम्मेदवार हुनुहुन्थ्यो।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिनुभएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।
राष्ट्रपति पौडेलले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्व हुँदै गएको उल्लेख गर्नुभएको थियो। त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले गत फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट निर्वाचित भई राष्ट्रपतिजस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकोमा राष्ट्रपति पौडेललाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले यो वर्ष निर्वाचन आयोगका लागि निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत २०७८ माघ १२ गते राष्ट्रिय सभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो सिलसिला यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताउनुभयो।
निर्वाचन सम्पन्न गराउने कार्यमा महìवपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगकातर्फबाट उहाँले धन्यवाद दिनुभयो।
कार्यक्रममा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा र आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत सहभागी हुनुहुन्थ्यो।