गायक यम बरालको एकल साँझ शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको छ । साँझमा गायक बरालले आफ्ना लोकप्रिय गीत सुनाउनुभएको थियो । ‘हिस्टोरिकल लाइभ इन कन्सर्ट’ नाम दिइएको साँझमा गायक बरालले जाजरकोट भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो प्रस्तुति सुरु गरेका थिए ।
प्राडा होमनाथ भट्टराईको ‘जिज्ञासा’ पुस्तक लोकार्पण भएको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका भट्टराईले लेख्नुभएको सो पुस्तकको शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री ढुण्डीराज शास्त्री, पूर्वराजदूत केदारभक्त माथेमा, प्राडा सुरेशराज शर्मालगायतले लोकार्पण गर्नुभएको हो ।
गायिका शान्ता जिसीको आवाजमा ‘यस्तो भा’छ मलाई त’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतमा शान्तालाई गायक प्रताप दासले साथ दिनुभएको छ । प्रेमिल जोडीले एक अर्कालाई छोड्न नसक्ने तर मायाले बाँधिरहने जोडीका कुरालाई मिठो लयमा ढालेर बनाइएको गीत जिसीले आफ्नै युट्युब पेज शान्ता जिसीमार्फत सार्वजनिक गर्नुभएको हो ।
सरकारले चिनीको कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बिक्री गर्नेलाई कारबाही गर्ने सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले शनिबार चिनीको कृत्रिम अभाव सिर्जना गरेर प्रतिकेजी १६० रुपियाँ लिने दुई वटा पसललाई कारबाही गरेको हो ।
अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।
पूर्वी नवलपरासीका तीन स्थानीय तहले भूकम्पका कारण पीडित भएकालाई दुई–दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रवास समन्वय समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडितको उद्धार, राहत र पुनर्निर्माणमा जुट्न आग्रह गरेको छ ।
भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० कराेड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
कपिलबस्तुका तीन स्थानीय तहलाई भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन निर्णय गरेको छ । जिल्लाका बाणगंगा, कपिलबस्तु र बुद्धभुमि नगरपालिकाले भुकम्प प्रभावितका लागि ५ लाखका दरले आर्थिक सहयोग गर्ने भएका हुन् ।
भूकम्पमा परि मृत्यु भएकी नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायत मृतकलाई श्रद्धाञ्जली दिन जाजरकोट आउनुभएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले भूकम्पपीडितले छिट्टै राहात पाउने बताउनुभएको छ ।
जाजरकोटमा आज (आइतबार) पनि दुई पल्ट भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १:२२ बजे चार रेक्टर स्केलको भूकम्प गएको हो ।
जाजरकोट र रुकुम पश्चिम लगायतका विभिन्न जिल्लामा आएको भूकम्पमा परी ज्यान गुमाएका एक सय ५७ वटा शव आफन्तले बुझेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरी र टिकटकबिच छलफल भएको छ । सामाजिक सञ्जालनमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीमाथि कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबिच शुक्रबार छलफल भएको हो ।
बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–८ माम्खामा रेबिज सङ्क्रमण भएर हलगोरु मरेका छन् । रेबिज संक्रमति कुकुरको टोकाइले रेबिज रोगको लक्षण देखापरेको माम्खाकी प्रमीला राईको हलगोरु मरेका हुन् ।