• १२ साउन २०८१, शनिबार

भूकम्पपीडितलाई नवलपुरका तीन स्थानीय तहको आर्थिक सहयोग

blog

मीना कंडेल 

कावासोती, कात्तिक १९ गते । पूर्वी नवलपरासीका तीन स्थानीय तहले भूकम्पका कारण पीडित भएकालाई दुई–दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।  

जिल्लाको देवचुली, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पीडित भएकालाई सो आर्थिक सहयोग  प्रदान गर्ने घोषणा गरेका हुन् ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले दुई लाख सहयोग गर्ने भएको छ । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको तर्फबाट पहिलो चरणमा भूकम्पका पीडितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि तत्काल दुई लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नवलपरासी पूर्वको देवचुली नगरपालिकाले जाजरकोट केन्द्र बनाइ गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि दुई लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नगरपालिका र नगरबासीको तर्फबाट दुई लाख रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । 

‘जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले अत्यन्त दुखित बनाएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति गाउँपालिकाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछौ ।’