• १२ मंसिर २०८१, बुधबार

रेबिज सङ्क्रमणले गोरु मरे

blog

फाइल तस्बिर

शेरबहादुर राई

ओखलढुङ्गा, कात्तिक १९ गते । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–८ माम्खामा रेबिज सङ्क्रमण भएर हलगोरु मरेका छन् । रेबिज संक्रमति कुकुरको टोकाइले रेबिज रोगको लक्षण देखापरेको माम्खाकी प्रमीला राईको हलगोरु मरेका हुन् । 

यससँगै समुदायमा रेबिज रोग फैलिने जोखिम बढेको छ । रेबिज सङ्क्रमित कुकुरले जथाभाबी पशु चौपायालाई टोकेपछि समुदायमा रेबिज रोग फैलिने जोखिम बढेको स्थानीयको भनाइ छ । 

रेबिज सङ्क्रमणको जोखिम बढेका कारण कुकुर र पशु चौपायामा रेबिजविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र ओखलढुङ्गाका प्रमुख डा. सुनिलकुमार अधिकारीले बताउनुभयो । 

रोग र यसबाट बच्न स्थानीयलाई सचेत गराइएको समेत डा. अधिकारीको भनाइ छ । जथाभाबी पशु चौपायालाई टोकेर बेपत्ता भएको रेबिज सङ्क्रमित कुकुर अहिलेसम्म फेला नपरेकाले सतर्कता अपनाउन कार्यालयले स्थानीयलाई अनुरोध गरेको छ ।