• ११ मंसिर २०८१, मङ्गलबार

गायक बरालको एकल साँझ

blog

काठमाडौँ, कात्तिक २० गते । गायक यम बरालको एकल साँझ शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको छ । साँझमा गायक बरालले आफ्ना लोकप्रिय गीत सुनाउनुभएको थियो । ‘हिस्टोरिकल लाइभ इन कन्सर्ट’ नाम दिइएको साँझमा गायक बरालले जाजरकोट भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो प्रस्तुति सुरु गरेका थिए । 

गायक बरालले  लोकप्रिय गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ बाट सुरु साङ्गीतिक साँझ सुरु गर्नुभएको थियो । त्यसपछि ‘दिलमाया दिलमाया’, ‘अब चोटहरूले’ ‘मन रहे पो मायाप्रीति’ र ‘निष्ठुरीले छाडेर गइहाली’ प्रस्तुत गर्नुभयो । बरालले  दोस्रो चरणमा चलचित्रका गीत गाउनुभयो । ‘तिम्रो हाम्रो चिनारी’, ‘जाऔँ न ठमेलमा’ गीतमा उहाँलाई गायिका देविका वन्दना र अनु अधिकारीले स्वरमा साथ दिनुभएको थियो ।

साङ्गीतिक साँझमा उपसभामुख इन्दिरा रानामगर, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, आलोकश्रीलगायत व्यक्तिको सहभागिता रहेको थियो । लाइन्स क्लब अफ काठमाडौँ सिद्धार्थ एभरग्रिनले आयोजनामा समाजसेवाका लागि बरालले एक साँझ गर्नुभएको हो । 

कार्यक्रमबाट उठेको रकम सामाजिक कार्य अन्तर्गत क्यान्सर पीडित गायिका जमुना थापाको उपचारार्थ र धादिङको एक विद्यालय र अनाथ आश्रमलाई सहयोग दिने आयोजकले जानकारी दियो ।