• १२ साउन २०८१, शनिबार

भूकम्पपीडितले छिट्टै राहत पाउनुहुन्छ : उपप्रधानमन्त्री खडका

blog

नलगाड नगरपालिका उपप्रमुख सिंहलाई श्रद्धान्जली दिन त्रिबेणी नदीमा पुग्नुभएका उपप्रधानमन्त्री पूर्णबहादुर खडका । तस्विर : वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, कात्तिक १९ गते । भूकम्पमा परि मृत्यु भएकी नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायत मृतकलाई श्रद्धाञ्जली दिन जाजरकोट आउनुभएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले भूकम्पपीडितले छिट्टै राहात पाउने बताउनुभएको छ । 

आइतबार नलगाड नगरपालिकाका उपप्रमुख सिंहलाई त्रिवेणी नदीमा राष्ट्रिय झण्डा ओढाएर उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभयो । भूकम्पपीडितको उपचार राहतका लागि सरकारले प्राथमिकतामा राखेको रक्षामन्त्री खडकाले बताउनुभयो । राज्यका सबै शक्ति परिचालित भएर घाइतेको उद्धार गर्न सफल भएको भोलिदेखि राहत वितरण सुरु गर्ने बताउनुभयो ।  

‘ग्रामीण बस्तीका भूकम्पबाट पीडित जनतालाई राहत सामग्री आएको छ । राहत आउनेक्रममा छ, सबैलाई समान तरिकाले वितरण गरिनेछ’ मन्त्री खडकाले बताउनुभयो । नेपालगञ्ज, सुर्खेत, काठमाडौँका अस्पतालमा उपचार गराइरहनुभएका घाइतेलाई उपचारमा कमी हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो । 

भूकम्पमा मृत्यु भएकी उपप्रमुख सिंहको पार्थिव शरीर नलगाड ल्याएको थियो । उहाँको  आइतबार त्रिवेणी नदीमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उपप्रमुख सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बेदराज सिंह, कर्णाली प्रदेश सभा सदस्य राजीवविक्रम शाहले स्वर्गीय सिंहलाई श्रद्धाञ्जली दिनुभयो ।