• १२ साउन २०८१, शनिबार

तीन स्थानीय तहले भूकम्प प्रभावितलाई सहयोग गर्ने

blog

कपिलबस्तु नगरपालिकाको प्रशासनिक भवन । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, कात्तिक १९ गते । कपिलबस्तुका तीन स्थानीय तहलाई भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन निर्णय गरेको छ । जिल्लाका बाणगंगा, कपिलबस्तु र बुद्धभुमि नगरपालिकाले भुकम्प प्रभावितका लागि ५ लाखका दरले आर्थिक सहयोग गर्ने भएका हुन् । 

तीन वटै कार्यपालिकाको बैठक बसी नगरपालिकाको कोषबाट सो रकम दिने निर्णय गरिएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनस्र्थापना पुनःनिर्माण लगायतका कार्यमा सहयोग गर्न उक्त रकम दिने निर्णय भएको छ । बाणगंगा नगरपालिकाले ५ लाख, कपिलवस्तु नगरपालिकाले ५ लाख र बुद्धभुमि नगरपालिकाले ५ लाख ५ हजार ५५ रकम सहयोग गर्ने निर्णय गरेको छ । 

कपिलवस्तुका नगरपालिकाले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण कपिलवस्तुबासीलाई आह्वान समेत गरेको छ । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले भुकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सक्दो सहयोग गर्न अपील गर्नुभएको छ । 

आफुहरुले बिपद् कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरेको भन्दै बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले यस्तो बिपदको बेला सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । 

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भएको छ । भुकम्पमा ढेडसय बढीको मृत्यु र दुईसय बढी घाइते भएका छन ।