पाल्पामा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी–५, गेझा बस्ने ७१ वर्षीय बेलबहादुर खाम्चा रहनुभएको छ ।
नेपाली कांग्रेसको मधेश प्रदेश समितिको प्रथम सम्मेलन आजबाट सुरु हुने भएको छ । पुस ५ र ६ गते अर्थात् बिहीबार र शुक्रबार दुई दिन हुने कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको समुद्घाटन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।
नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ । यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ ।
स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् ।
कोलोराडोको सर्वोच्च अदालतले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ ।
गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् ।
“सदनमा पर्याप्त विधेयक प्रवेश नहुँदा भनेजति काम पाइएको छैन । सदनमा विधेयकका चाङ नै लागे पनि कानुन बनाउने काममा मात्रै लागेर हामी सुख पाउँदैनौँ”, प्रतिनिधिसभा सदस्य सरिता भुसालको अनुभव छ, “विधि निर्माणका साथै जनताका विकास र समस्यामा सांसदले साथमा साथ दिन सक्नुपर्छ ।”
उन्नत नस्लको बहर पालेर मनग्गे आम्दानी गर्दै आउनुभएका स्थानीय किसान कमलापति भट्टलाई बहरको हाडनाता छुट्याउन भने समस्या भएको छ। छ वर्षअघि भारतको पिथौरागढबाट महाकाली नदी तारेर बैतडी ल्याइएको होलेस्टाइन जातको कल्लु नाम गरेको बहरले चार वर्षमा हजारौँ गाईलाई गर्भाधान गराएको छ। दशरथचन्द नगरपालिका–५, रिचपला गाउँमा रहेको कल्लुले दैनिक तीन/चार वटा गाईलाई गर्भाधान गराउँदै आएको जानकारी उहाँले दिनुभयो । गाईपालक किसानको माग अनुसार घरमै पुगेर सेवा दिने गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविव्रmम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ पुर्जी अनुचित भएको बताउनुभएको छ ।
टीकापुर नगरपालिका–५, मौरनियाका भिखुराम चौधरीका दुईवर्षे छोरालाई लगातार ज्वरो आएपछि अस्पतालमा जँचाउनुभयो । औषधी उपचार गर्दा पनि निको नभएपछि सिकलसेल भएको थाहा भयो । उक्त रोग पत्ता लागेपछि बालकको नियमित उपचार भइरहेको छ । भिखुरामले छोरामा लागेको रोग पत्ता लगाउनै धेरै समय खर्चिए पनि अहिले भने सिकलसेलको पहिचान गाउँघरमै हुने गरेको छ । भजनी नगरपालिका–१, गौनियाँका ५२ वर्षीय खोजराम चौधरीले आफ्नै वडामा आयोजना गरिएको सिकलसेल स्क्रिनिङ क्याम्पमा जँचाउँदा सिकलसेलको शङ्कास्पद लक्षण देखायो ।
चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो ।
सरकारले बुधबार उखुको मूल्य निर्धारण गरे पनि सर्लाहीका उखु किसानले भने एक सातादेखि जारी आन्दोलन नरोक्ने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले गएको वर्षको तुलनामा २५ रुपियाँ बढाएर यो वर्षका लागि उखुको प्रतिक्विन्टल मूल्य ६३५ रुपियाँ तोकेको छ । त्यसमा उद्योगीले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख छ । सर्लाहीका उखु किसानले उद्योगीको प्रभावमा परेर मूल्य तोकिएको भन्दै यो मूल्य स्वीकार नगर्ने र आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
घोडाघोडी नगरपालिका–१, हिम्मतपुर मुक्त कमैया शिविरका ३३ वर्षीय अपाङ्गता छविलाल चौधरीकी श्रीमतीलाई सिकलसेल एनिमियाले च्यापेपछि परिवारको बिचल्ली भएको छ । हातमा सिप र श्रीमतीको साथले ह्विलचेयर चलाएर घर गुजारा चलाउँदै आएको चौधरी परिवारको मूली नै बिरामी परेपछि चिन्ताले गिजोलेको छ । छविलालकी ३२ वर्षीय श्रीमती ताराकुमारी चौधरीलाई खुट्टा दुख्न थालेको एक वर्ष भएको थियो ।
भूकम्पपीडित लाभग्राहीको सङ्ख्या जाजरकोटमा ३३ हजार २५ पुगेको छ । जिल्लाका नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले लाभग्राहीलाई रकम दिन सकेको छैन । रकम लिइसकेका पालिकाको ढिलासुस्तीका कारण पीडितले रकम पाउन सकेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग अस्थायी आवासका लागि आवश्यक थप ५० करोड रुपियाँ माग गरिएको बताइन्छ । रकम माग गरेको ११ दिनपछि चार करोड रुपियाँ मात्र प्राप्त भएको छ । अस्थायी आवास निर्माणमा अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् । हालसम्म तीन हजार ७२१ परिवारको खातामा पहिलो किस्ताबापतको २५ हजार रुपियाँ निकासा भएको बताइन्छ । भेरी नगरपालिकाले चार हजार ५४९ लाभग्राही कायम गरेको छ ।
निर्माण व्यवसायीलाई यतिबेला दुई थरीको तनावले पिरोलेको छ । एकातिर निर्माण गरिसकेको कामको भुक्तानी भएको छैन, अर्कातिर अरू ठेक्का रोक्ने, कालो सूचीमा राख्ने गर्दा निर्माण व्यवसायी तनावमा रहेका छन् । निर्माण सम्पन्न भएका ठेक्काको भुक्तानी सरकारले नगर्दा व्यवसायीको अन्य काममा असर पुगेको छ । यसका कारण ती काम केही अधुरा छन् । त्यसैलाई आधार बनाएर सरकारले ठेक्का तोड्ने, कालो सूचीमा राख्दा ९० प्रतिशत निर्माण व्यवसायीको फोन अफ हुने गरेको नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय महासचिव रोशन दाहालले बताउनुभयो ।