लक्ष्मी चौधरी
जनकपुरधाम, पुस ५ गते । नेपाली कांग्रेसको मधेश प्रदेश समितिको प्रथम सम्मेलन आजबाट सुरु हुने भएको छ । पुस ५ र ६ गते अर्थात् बिहीबार र शुक्रबार दुई दिन हुने कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको समुद्घाटन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।
उद्घाटन सत्र जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुनेछ भने बन्द सत्र महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा हुने जनाइएको छ ।
सम्मेलनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेता सहभागी हुन आज जनकपुरधाम आउँदै हुनुहुन्छ । नेपाली कांग्रेसको यो सम्मेलन मुलुकभरका लागि उदाहरणीय बनाउने योजना मधेश प्रदेश समितिले लिएको दाबी गरिएको छ ।
बन्दसत्रमा प्रदेशका ८ वटै जिल्लाबाट छनोट भएका आठ सय २५ जना प्रदेश प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै, कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा बुधबार बसेकोको बैठकले पाँचबुँदे निर्णय गरेको छ । उक्त निर्णयमा कांग्रेस मधेश प्रदेश कार्यसमितिको सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन संशोधनसहित पारित भएको जनाएको छ ।