• १२ मंसिर २०८१, बुधबार

भुक्तानी ढिलाइले तनावमा ठेकेदार

blog

सुर्खेत समाचारदाता

सुर्खेत, पुस ५ गते । निर्माण व्यवसायीलाई यतिबेला दुई थरीको तनावले पिरोलेको छ । एकातिर निर्माण गरिसकेको कामको भुक्तानी भएको छैन, अर्कातिर अरू ठेक्का रोक्ने, कालो सूचीमा राख्ने गर्दा निर्माण व्यवसायी तनावमा रहेका छन् । निर्माण सम्पन्न भएका ठेक्काको भुक्तानी सरकारले नगर्दा व्यवसायीको अन्य काममा असर पुगेको छ । यसका कारण ती काम केही अधुरा छन् । त्यसैलाई आधार बनाएर सरकारले ठेक्का तोड्ने, कालो सूचीमा राख्दा ९० प्रतिशत निर्माण व्यवसायीको फोन अफ हुने गरेको नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय महासचिव रोशन दाहालले बताउनुभयो । 

उहाँले शनिबार नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको २३ औँ वार्षिक साधारण सभामा यस्तो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले काम गरेको भुक्तानी नपाउनु र अरू काम नगरेको भन्दै सरकारले कारबाही प्रक्रिया अघि बढाउँदा व्यवसायी तनावमा परेको बताउनुभयो । सरकारले तोकेको न्यूनतम मूल्यभन्दा तलको दररेटमा ठेक्का हालेर आफूहरूले पनि कमजोरी गरेको निर्माण व्यवसायी नै बताउँछन् । नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष बालकृष्ण थापाले कर्णालीमा ७० प्रतिशतसम्म घटेर ठेक्का हाल्ने गरेको पाइएकाले त्यसो नगर्न आग्रह गर्नुभयो । 

नेपाल निर्माण व्यवसायी महासङ्घ बागमती प्रदेश अध्यक्ष सुविद श्रेष्ठले अस्वस्थ प्रतिस्पर्धाले निर्माण व्यवसायी मारमा परेको बताउनुभयो । 

उहाँले मूल्य वृद्धि, कोरोना, आर्थिक मन्दीले व्यवसाय चौपट भएको भन्दै हरेक वस्तुको मूल्य बढ्दा ठेक्का घटेर हाल्नु परेको बाध्यता रहेको बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासङ्घ कर्णाली प्रदेश महासचिव मानव बमले साना व्यवसायीलाई महासङ्घले समेट्नुपर्ने बताउनुभयो । 

नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका अध्यक्ष पदमबहादुर खड्काले निर्माण व्यवसायीका लागि अहिलेको समय कालो समय भएको टिप्पणी गर्नुभयो । उहाँले निर्माण व्यवसायीसँग हुने सम्झौतापत्र अङ्ग्रेजी भाषामा मात्रै हुँदा बुझ्न कठिन भएकाले नेपाली भाषामा पनि सम्झौतापत्र तयार पारिनुपर्ने सुझाव दिनुभयो ।