• १३ मंसिर २०८१, बिहिबार

बहर पालेर मनग्गे आम्दानी

blog

बैतडी समाचारदाता

बैतडी, पुस ५ गते  । उन्नत नस्लको बहर पालेर मनग्गे आम्दानी गर्दै आउनुभएका स्थानीय किसान कमलापति भट्टलाई बहरको हाडनाता छुट्याउन भने समस्या भएको छ। छ वर्षअघि भारतको पिथौरागढबाट महाकाली नदी तारेर बैतडी ल्याइएको  होलेस्टाइन जातको कल्लु नाम गरेको बहरले चार वर्षमा हजारौँ गाईलाई गर्भाधान गराएको छ। दशरथचन्द नगरपालिका–५, रिचपला गाउँमा रहेको कल्लुले दैनिक तीन/चार वटा गाईलाई गर्भाधान गराउँदै आएको जानकारी उहाँले दिनुभयो । गाईपालक किसानको माग अनुसार घरमै पुगेर सेवा दिने गरिएको छ । 

“घरमै गाई लिएर आए एक हजार र होम डेलिभरी सेवा मागे थप पाँच सय रुपियाँसहित १५ सय शुल्क लिने गरेको उहाँले बताउनुभयो। आम्दानी पनि राम्रो नै छ उहाँले भन्नुभयो, “कल्लुको हाडनाता छुट्याउन समस्या हुन थालेको छ। सकेसम्म हाडनाता बारे सोधपुछ गर्ने गरेको छु।” गएको साढे तीन वर्षदेखि कल्लुको नस्लबाट जन्मेका बाच्छाबाच्छी गाउँभरि बिक्री भएका कारण कुन गाई कुन गाउँ/टोलबाट आएको हो ? भन्ने कुरा सोधपुछ गरेर हाडनाता छुट्याउने गरेको उहाँले बताउनुभयो। 

कल्लुलाई बदलेर अर्को उन्नत जातको बहर ल्याउन झुलाघाट पुलबाट भारतीय सुरक्षाकर्मीले रोकेको उहाँले बताउनुभयो। लामो समयदेखि आम्दानी दिँदै आएको कल्लुलाई त्यत्तिकै छाड्न पनि मनले नमानेको उहाँले बताउनुभयो। कल्लुले दैनिक २० किलो उसिनेको अन्न, एक किलो गुड (सक्खर) र एक भारी घाँस खाने गरेको छ। दशरथचन्द नगरपालिकामा स्थानीय र उन्नत जातका गरी करिब नौ हजार गाई रहेको तथ्याङ्क छ । उन्नत जातका मात्रै करिब चार हजार गाई रहेको नगरपालिकाका पशु शाखा प्रमुख ईश्वरीदत्त भट्टले बताउनुभयो।