नारायणगढ समाचारदाता
नारायणगढ, पुस ५ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविव्रmम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ पुर्जी अनुचित भएको बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले विप्लवलगायतका नेतालाई पक्राउ नगर्न सरकारलाई आग्रहसमेत गर्नुभएको छ । “हामी गठबन्धनमा छौँ । समाजवादी मोर्चामा पनि छौँ । कानुनी प्रबन्ध पनि हेर्नुपर्ने हुन्छ तर यस्तो बेलामा उहाँहरूमाथि जसरी गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित हो,” उहाँको स्पष्ट भनाइ थियो, “द्वन्द्व व्यवस्थापन गर्दै जाने हो । गर्दै पनि आएका छाँै ।”
केही दिनअघि ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको थियो । पूर्वप्रधानमन्त्री नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने जानकारी दिनुभयो । सत्तासीन दलहरूबिचको गठबन्धनको विकल्प नभएको बताउँदै उहाँले गठबन्धन तोडिए सरकार परिवर्तन हुने धारणा पनि राख्नुभयो ।
“गठबन्धन हुन्छ । अरू गठबन्धन बन्ने सम्भावना नै छैन,” उहाँले थप्नुभयो, “गठबन्धन फेर्नुको मतलब सरकार फेर्नु हो ।” उहाँले राष्ट्रिय सभामा आफूहरूले पाउने सिटका आधारमा उम्मेदवार चयन गर्ने जानकारी दिनुभयो । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरेका कार्यहरू प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले यसमा अझै कडाइका साथ लाग्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । “सरकारले भ्रष्टाचारका केसहरूमा चासो राखेको छ । कडाइ गरेको छ । दण्डित गर्ने कार्य पनि थालेको भनेर सरकारको प्रशंसा पनि भएको छ,” उहाँले थप्नुभयो, “सरकारले राम्रो काम गर्नु पर्छ । हिम्मतका साथ अगाडि बढ्नु पर्छ ।”