घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), पुस ५ गते । घोडाघोडी नगरपालिका–१, हिम्मतपुर मुक्त कमैया शिविरका ३३ वर्षीय अपाङ्गता छविलाल चौधरीकी श्रीमतीलाई सिकलसेल एनिमियाले च्यापेपछि परिवारको बिचल्ली भएको छ । हातमा सिप र श्रीमतीको साथले ह्विलचेयर चलाएर घर गुजारा चलाउँदै आएको चौधरी परिवारको मूली नै बिरामी परेपछि चिन्ताले गिजोलेको छ । छविलालकी ३२ वर्षीय श्रीमती ताराकुमारी चौधरीलाई खुट्टा दुख्न थालेको एक वर्ष भएको थियो ।
एकाएक खुट्टा टेक्नै नमिलेपछि तारालाई सुखडमा रहेको घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । परीक्षणपछि तारालाई सिकलसेल पोजेटिभ देखिएको छ । लौरोको सहायताले भित्रबाहिर गर्ने ताराले रुँदै भन्नुभयो, “कसरी परिवार पाल्ने र बाँच्ने हो, दुःख छ ।” शारीरिक रूपमा अशक्त ताराको सिकलसेलकै कारण जोर्नी दुखाइको समस्या भएको चिकित्सकले बताएको छविलालले बताउनुभयो । ताराको हिप ज्वाइन्टको हड्डीको अपरेसन गर्नुपर्ने र त्यसका लागि काठमाडौँ जानुपर्ने भएपछि छविलाललाई आर्थिक जोहोको चिन्ता लागेको छ । बदाम (ममफली) बेचेर, बेतबाँसका सामग्री बनाएर, च्याउ खेती गरेर जसोतसो परिवारको गर्जो टार्ने गरेका छविलालको परिवारलाई नसोचेको सङ्कट आइपरेको छ । उहाँको परिवारमा एउटा छोरा छ ।
ताराको सिकलसेल परीक्षणमा संलग्न घोडाघोडी अस्पतालका चिकित्सक मोहम्मद अन्सार सेखले शङ्का लागेर सिकलसेल परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो । जनजाति समुदायमा देखिने वंशाणु्गत सिकलसेलका कारण जोर्नी दुख्ने, रक्तअल्पता, मेरुदण्ड तथा करङ दुख्ने, कलेजो सुन्निने, श्वासप्रश्वासमा समस्यालगायतका लक्षण देखिने गरेको बताइन्छ ।