चाडपर्वको समयमा व्यापारीले कृत्रिम अभाव उत्पन्न गर्नुका साथै बजारभाउ बढाएर सर्वसाधारणको दैनिक जीवनलाई बर्सेनि अस्तव्यस्त बनाउने गरेका छन् । खास गरी चिनी, तेल, मरमसला, आलु, प्याज, तरकारी, फलफूललगायतका खाद्यवस्तु अत्यधिक महँगो बनाएर खुसियालीपूर्वक मनाउनुपर्ने चाडपर्वमा छाक टार्नै पनि मुस्किल भएर अघिपछिभन्दा पनि दुःखले भान्सा धान्नु परेको आधा जसो नेपालीको भोगाइ हो । कमाइ नबढ्ने तर महँगी भने दिनदिनै बढिरहने समस्याले सीमित आय भएकालाई जीवनयापन कष्टकर बन्दै गएको तितो यथार्थबाट अनभिज्ञ कोही छैन । चाडपर्वमा मात्र नभएर बर्खामा पनि तरकारीको बजारभाउ उसरी नै महँगिने गरेको छ । अधिकांश सहरबजारमा तरकारीको अभाव तथा महँगी यतिबेला आकासिएको आमउपभोक्ताको गुनासो छ । सङ्घीय राजधानी काठमाडौँको सबैभन्दा ठुलो थोक बजार कालीमाटीमा समेत अघिल्लो महिनाको तुलनामा शतप्रतिशत महँगो भएको बिव्रmेताको भनाइले पुष्टि हुन्छ । यहीँबाट लगेर बिव्रmी गर्ने भित्री खुद्रा पसलेकहाँ त झनै चर्को मूल्य हुने नै भयो । प्रतिकिलो एक सय रुपियाँभन्दा कममा कुनै पनि तरकारी पाइँदैन । सामान्यतः चार जनाको परिवारलाई एक छाकमा एक किलो तरकारी र त्यसलाई चाहिने तेल, नुन, मसलालगायतको खर्च जोड्दा दैनिक ज्यालादारी गर्ने परिवारको भान्सा कसरी चल्छ ? शिक्षा, स्वास्थ्य, पहिरनलगायतमा हुने खर्च त परको भयो; जीवनयापन नै धौ धौको स्थितिमा पुगेपछि सीमित आयस्रोत भएका आमनेपालीको दैनिकी टिठलाग्दो बन्दै गएको छ ।सरकारले गत साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाएर १७ हजार तीन सय रुपियाँ कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रमिकको पारिश्रमिक निर्धारणका लागि गठित सुझाव समितिको सिफारिसका आधारमा बढाइएको ज्याला उपलब्ध गराउनसमेत रोजगारदाता उद्योग प्रतिष्ठानहरूले आनाकानी गरिरहेकै छन् । श्रमिकसम्बद्ध ट्रेड युनियनहरूले कम्तीमा पनि श्रमिकको न्यूनतम तलब २५ हजार रुपियाँ हुनुपर्ने माग गरेका भए पनि उद्यमी व्यवसायीले असमर्थता प्रकट गरिसकेका छन् । श्रम ऐनबमोजिम प्रत्येक दुई वर्षमा पारिश्रमिक बढाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सरकारले दुई वर्षअघि निर्धारित न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँबाट बढाएर १७ हजार तीन सय रुपियाँ बनाएको हो । यो आम्दानीले परिवारमा एक जना मात्र रोजगार भएको अवस्थामा दैनिकी चल्ने स्थिति देखिँदैन । दैनिक ज्यालादारीको भरमा चलेको परिवारका हकमा त झनै मुस्किल परिरहेको अनुभव हुन्छ ।पछिल्लो उपभोक्ता सर्वेक्षण अनुसार बजारमा उपलब्ध हुने करिब ४० प्रकारका खाद्यवस्तुको मूल्यवृद्धि एक वर्षको अन्तरमा न्यूनतम तीन प्रतिशतदेखि एक सय ५० प्रतिशतसम्मले भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारीका अनुसार बर्खा सुरु भएसँगै तरकारीको भाउमा दिनदिनै उतारचढाव आइरहेको छ । तरकारी आयात घटेकाले मूल्य बढेको मात्रै नभएर ताजा तरकारी पाउनै गाह्रो भएको हो । यतिबेला बेमौसमी तरकारीको भाउ बढ्नु स्वाभाविक हो तर मौसमी तरकारीको भाउसमेत उच्च दरमा बढेको छ । व्यापारीले मूल्य बढ्नुलाई आपूर्तिमा कमी हुनुसँग जोड्ने गरेका छन् । तराईको तरकारी उत्पादन सकिएको, डुबानमा परेको, पहाडी क्षेत्रको उत्पादनले मात्रै बजारको माग धान्न नसक्ने हुँदा आपूर्तिमा कमी भएर महँगिएको जस्ता व्यापारीको भनाइमा केही हदसम्म सत्यता हुन सक्छ । व्यापारीको भनाइमा के कति सत्यता छ भन्नेमा बजार अनुगमन आवश्यक छ । चाडपर्वमा मात्र अनुगमन सीमित हुनुमा आमउपभोक्ताले गुनासो गर्नु स्वाभाविक हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक सातामा दैनिक बजारमा ३८० मेट्रिक टनको हाराहारीमा मात्र तरकारी भित्रिएको छ । जब कि सामान्य अवस्थामा एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेको थियो । काठमाडौँमा अधिकांश तरकारी बाहिरबाट ल्याउनुपर्ने र बाटो बिग्रिएका कारण आपूर्तिमा कमी भएको व्यापारीको अर्को तर्क पनि नाजायज होइन । मानो रोपेर मुरी उब्जाउने बेलामा तरकारीतर्फ किसानको ध्यान नपुगेको अनुमान पनि गर्न सकिन्छ । अर्कोतर्फ मौसमी वर्षा सुरु हुनुभन्दा अघि नै तरकारी सङ्कलन गरेर सुरक्षित राख्न किसानको पहुँचसम्म शीतभण्डारको अभाव हुनुले पनि बर्खामा ठुलो मात्रामा तरकारी कुहिएर नष्ट हुने गरेको छ । सरकारले कृषि उपजमा आत्मनिर्भरता बढाउनेतर्फ हरेक आर्थिक वर्षका नीति तथा कार्यव्रmम र बजेटमा घोषणा त गर्छ तर लक्षित वर्गसम्म सरकारको अनुदान तथा सहयोग पुग्न सकेको छैन । केही बिचौलियाले फाइदा लिने तर लक्षित समूह वञ्चित रहने गरेकोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
चितवन राष्ट्रिय निकुञ्जमा हरेक वर्ष बजेट कटौती हुँदै गएपछि संरक्षणका कार्यमा समेत समस्या आउन थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्ज विश्वमा दुर्लभ रहेको एकसिङे गैँडा, पाटेबाघ, घडियाल गोही, हात्तीसहितका जनावरको बासस्थान हो । यी जनावरको संरक्षणसँगै अन्य संरक्षणका काम गर्न हरेक वर्ष बजेट थप गरिँदै लैजानुपर्ने हुन्छ तर बजेट वृद्धिको विपरीत घटेर आउँदा काम गर्न ज्यादै कठिन हुन थालेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुन पुर्जाले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा २ सङ्कर नगरमा अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा फेबरब्लक बिछ्याउने र घेराबार गरिएको हो ।
उत्तरको बाबाधाम मानिने टुटेश्वरनाथमा लाग्ने साउने सोमबारको मेलालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन जनप्रतिनिधि र सुरक्षा निकायले प्रतिबद्धता जाहेर गरेका छन् ।
रामेछापको खाँडादेवी गाउँपालिकाले हरित पालिका निर्माण अभियान सुरु गरेको छ । गाउँपालिकाले हरित पालिका निर्माणका लागि सडक किनार र पहिरो जान सक्ने ठाउँमा बाँस रोप्ने अभियान ल्याएको छ ।
तनहुँको सहरी क्षेत्रमा प्रसारण लाइन सुधारको काम धमाधम भइरहेको छ । सुधारको कामले गति लिएसँगै पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज भएको छ । मुख्य बाधकका रूपमा रहेको बिजुलीको पोल सार्ने कामले गति लिएपछि सहज भएको हो । नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल धमाधम हटाउन थालेपछि सडक विस्तारको काम गर्न सहज भएको सडक आयोजनाले जनाएको छ ।
सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धमा छनबिन गर्न गठन गरिएको संसदीय छानबिन विशेष समितिले समग्र सहकारी क्षेत्रमा देखिएको सङ्कटको प्रभावका विषयमा सरोकारवालासँग परामर्श गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोला किनारका बादी बस्तीका बासिन्दा हरेक वर्ष बर्खाको समयमा रातभर सुत्न पाउँदैनन् । झुप्रा खोला र भेरी नदीको पानीको बहाव सिधै बस्तीतर्फ सोझिने हुँदा सुक्खायाममा रमाउने यो बस्तीका बासिन्दा बर्खाभरि सुत्न पाउँदैनन् । बादी बस्तीमा करिब डेढ सय घरपरिवार बस्दै आएका छन् । स्थानीय गीता बादीले बर्सेनि बर्खा लाग्नेबित्तिकै त्रास हुने बताउनुभयो ।
बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न । ”