• ४ साउन २०८१, शुक्रबार

भान्सा चलाउनै कठिन

blog

चाडपर्वको समयमा व्यापारीले कृत्रिम अभाव उत्पन्न गर्नुका साथै बजारभाउ बढाएर सर्वसाधारणको दैनिक जीवनलाई बर्सेनि अस्तव्यस्त बनाउने गरेका छन् । खास गरी चिनी, तेल, मरमसला, आलु, प्याज, तरकारी, फलफूललगायतका खाद्यवस्तु अत्यधिक महँगो बनाएर खुसियालीपूर्वक मनाउनुपर्ने चाडपर्वमा छाक टार्नै पनि मुस्किल भएर अघिपछिभन्दा पनि दुःखले भान्सा धान्नु परेको आधा जसो नेपालीको भोगाइ हो । कमाइ नबढ्ने तर महँगी भने दिनदिनै बढिरहने समस्याले सीमित आय भएकालाई जीवनयापन कष्टकर बन्दै गएको तितो यथार्थबाट अनभिज्ञ कोही छैन । चाडपर्वमा मात्र नभएर बर्खामा पनि तरकारीको बजारभाउ उसरी नै महँगिने गरेको छ । 

अधिकांश सहरबजारमा तरकारीको अभाव तथा महँगी यतिबेला आकासिएको आमउपभोक्ताको गुनासो छ । सङ्घीय राजधानी काठमाडौँको सबैभन्दा ठुलो थोक बजार कालीमाटीमा समेत अघिल्लो महिनाको तुलनामा शतप्रतिशत महँगो भएको बिव्रmेताको भनाइले पुष्टि हुन्छ । यहीँबाट लगेर बिव्रmी गर्ने भित्री खुद्रा पसलेकहाँ त झनै चर्को मूल्य हुने नै भयो । प्रतिकिलो एक सय रुपियाँभन्दा कममा कुनै पनि तरकारी पाइँदैन । सामान्यतः चार जनाको परिवारलाई एक छाकमा एक किलो तरकारी र त्यसलाई चाहिने तेल, नुन, मसलालगायतको खर्च जोड्दा दैनिक ज्यालादारी गर्ने परिवारको भान्सा कसरी चल्छ ? शिक्षा, स्वास्थ्य, पहिरनलगायतमा हुने खर्च त परको भयो; जीवनयापन नै धौ धौको स्थितिमा पुगेपछि सीमित आयस्रोत भएका आमनेपालीको दैनिकी टिठलाग्दो बन्दै गएको छ ।

सरकारले गत साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाएर १७ हजार तीन सय रुपियाँ कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रमिकको पारिश्रमिक निर्धारणका लागि गठित सुझाव समितिको सिफारिसका आधारमा बढाइएको ज्याला उपलब्ध गराउनसमेत रोजगारदाता उद्योग प्रतिष्ठानहरूले आनाकानी गरिरहेकै छन् । श्रमिकसम्बद्ध ट्रेड युनियनहरूले कम्तीमा पनि श्रमिकको न्यूनतम तलब २५ हजार रुपियाँ हुनुपर्ने माग गरेका भए पनि उद्यमी व्यवसायीले असमर्थता प्रकट गरिसकेका छन् । श्रम ऐनबमोजिम प्रत्येक दुई वर्षमा पारिश्रमिक बढाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सरकारले दुई वर्षअघि निर्धारित न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँबाट बढाएर १७ हजार तीन सय रुपियाँ बनाएको हो । यो आम्दानीले परिवारमा एक जना मात्र रोजगार भएको अवस्थामा दैनिकी चल्ने स्थिति देखिँदैन । दैनिक ज्यालादारीको भरमा चलेको परिवारका हकमा त झनै मुस्किल परिरहेको अनुभव हुन्छ ।

पछिल्लो उपभोक्ता सर्वेक्षण अनुसार बजारमा उपलब्ध हुने करिब ४० प्रकारका खाद्यवस्तुको मूल्यवृद्धि एक वर्षको अन्तरमा न्यूनतम तीन प्रतिशतदेखि एक सय ५० प्रतिशतसम्मले भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारीका अनुसार बर्खा सुरु भएसँगै तरकारीको भाउमा दिनदिनै उतारचढाव आइरहेको छ । तरकारी आयात घटेकाले मूल्य बढेको मात्रै नभएर ताजा तरकारी पाउनै गाह्रो भएको हो । यतिबेला बेमौसमी तरकारीको भाउ बढ्नु स्वाभाविक हो तर मौसमी तरकारीको भाउसमेत उच्च दरमा बढेको छ । व्यापारीले मूल्य बढ्नुलाई आपूर्तिमा कमी हुनुसँग जोड्ने गरेका छन् । तराईको तरकारी उत्पादन सकिएको, डुबानमा परेको, पहाडी क्षेत्रको उत्पादनले मात्रै बजारको माग धान्न नसक्ने हुँदा आपूर्तिमा कमी भएर महँगिएको जस्ता व्यापारीको भनाइमा केही हदसम्म सत्यता हुन सक्छ । व्यापारीको भनाइमा के कति सत्यता छ भन्नेमा बजार अनुगमन आवश्यक छ । चाडपर्वमा मात्र अनुगमन सीमित हुनुमा आमउपभोक्ताले गुनासो गर्नु स्वाभाविक हो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक सातामा दैनिक बजारमा ३८० मेट्रिक टनको हाराहारीमा मात्र तरकारी भित्रिएको छ । जब कि सामान्य अवस्थामा एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेको थियो । काठमाडौँमा अधिकांश तरकारी बाहिरबाट ल्याउनुपर्ने र बाटो बिग्रिएका कारण आपूर्तिमा कमी भएको व्यापारीको अर्को तर्क पनि नाजायज होइन । मानो रोपेर मुरी उब्जाउने बेलामा तरकारीतर्फ किसानको ध्यान नपुगेको अनुमान पनि गर्न सकिन्छ । अर्कोतर्फ मौसमी वर्षा सुरु हुनुभन्दा अघि नै तरकारी 

सङ्कलन गरेर सुरक्षित राख्न किसानको पहुँचसम्म शीतभण्डारको अभाव हुनुले पनि बर्खामा ठुलो मात्रामा तरकारी कुहिएर नष्ट हुने गरेको छ । सरकारले कृषि उपजमा आत्मनिर्भरता बढाउनेतर्फ हरेक आर्थिक वर्षका नीति तथा कार्यव्रmम र बजेटमा घोषणा त गर्छ तर लक्षित वर्गसम्म सरकारको अनुदान तथा सहयोग पुग्न सकेको छैन । केही बिचौलियाले फाइदा लिने तर लक्षित समूह वञ्चित रहने गरेकोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।