गत मङ्गलवार राती करिब २ बजे खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल चोरी गर्ने चोर पत्ता लागेको छ । चोरी गर्ने क्रममा घर बेटीले थाहा पाएपछि भाग्ने क्रममा छाडिएको मोबाइलबाट प्रहरीले चोर पत्ता लगाएको छ ।
राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफल लम्बिएको छ। बिहीबार नै विधेयक पारित गर्ने तयारी रहेको थियो। बैठकमा समयसीमा नतोकिएका कारण लम्बिएको छलफल शुक्रबारसम्म जारी रहने देखिएको छ।
सुदूरपश्चिमेलीको महान् पर्व गौरा बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ। यहाँका पहाडदेखि तराईका जिल्ला देउडा भाकाबाट गुञ्जिन थालेका छन्। भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व सुरु हुने गर्छ। गौराको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनी गर्छन्। यस दिन यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाँडामा भिजाउँछन्। यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ। पौराणिक कालमा गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिव प्राप्त गरेको विश्वास गरिन्छ। त्यतिबेलादेखि नै यो परम्परा चल्दै आएको भनाइ छ। महिलाका लागि यो विशेष पर्व हो।
कर्णाली प्रदेश सरकारले सुर्खेतको वराहताल गाउँपालिकाको गिरीघाटमा बस्दै आएका बाढीपीडितलाई पुनस्र्थापनाका लागि राहत वितरण गरेको एक वर्षभन्दा बढी भयो। गिरिघाटमा बस्दै आएका बाढी प्रभावितले अझै उक्त स्थान छाडेका छैनन्। सरकारले पुनस्र्थापनाका लागि विभिन्न चरणमा राहत उपलब्ध गराए पनि बाढी प्रभावित परिवारले अस्थायी शिविर नछाडेका हुन्। कर्णाली प्रदेश सरकारले दिएको न्यून राहत रकमले पुनस्र्थापना हुन नसकेको प्रभावितले बताएका छन्। २०७१ को बाढीका कारण विस्थापित भएका वराहताल गाउँपालिका–२ का १२५ घरधुरी अहिले पनि सामुदायिक वन क्षेत्रमा बसिरहेका छन्। त्यतिबेला गाउँपालिकाका २५९ परिवार बाढीबाट विस्थापित भएका थिए। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार त्यसमध्ये प्रक्रिया पूरा गरेर १५४ घरधुरीले तीन चरणमा गरी राहत रकम पाइसकेका छन्। तर हालसम्म २९ परिवारले मात्रै उक्त ठाउँ छाडेका बताइएको छ।
वैदेशिक रोजगार कार्यालय परिसरमा रहेको रोमानियन मिसन (घुम्ती सेवा)मा आउँदो सातादेखि रोमानियाको टोली आएर काम सुरु गर्ने जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उद्देश्यले गएको बिहीबार स्थापना गरिएको यो मिसनमा रोमानियाको टोलीले आउँदो सातादेखि सेवा सुरु गर्ने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बीमाको सेवालाई गाउँगाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । बिहीबार सुर्खेतमा बीमा समितिको कर्णाली प्रादेशिक कार्यालय उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश जनता बीमाको सेवाबाट वञ्चित रहेको बताउँदै सबैको पहुँच हुने गरी बीमा सेवा विस्तार गर्न निर्देशन दिनुभयो । उहाँले बीमा सेवा सहरबजारमा सीमित नभई गाउँगाउँसम्म पु-याउनुपर्ने बताउनुभयो ।
माथिबाट खसेको ढुङ्गाले लागेर दोलखामा निर्माणाधीन सासा हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारका मन्त्री र सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । संवाद समूह प्रदेश १ को आयोजनामा बिहीबार बिर्तामोडमा भएको छलफलमा उहाँहरूले चिया क्षेत्रका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने बताउनुभएको हो । सो भेलाबाट चिया समस्याका लागि सातबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको छ । प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सराबगी, सांसद जसमाया गजमेरलगायतले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै चिया खेतीमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
सनराइज बैङ्कले भिसा इन्टरनेसनलबाट ‘एक्सलेन्स इन प्रोडक्ट इन्नोभेसन, २०२२’ प्राप्त गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बैङ्कका नायब महाप्रबन्धक रविनकुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो । सनराइज बैङ्कले सहकारी सदस्यलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नवीनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको सो बैङ्कले जनाएको छ । बैङ्कले समयसापेक्ष रूपमा प्रविधियुक्त सेवा सुविधासमेत दिँदै आएको छ, जसमा कार्डलेस विथड्रल ट्याप एन्ड पे, आफ्नै फोटो राख्ने डेबिट कार्ड, अनलाइन खाता खोल्नेजस्ता छन् ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड प्राप्त गरेको छ । मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाले जनवरी–जुन २०२२ का लागि एनसेललाई उक्त अवार्ड प्रदान गरेको हो । मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको ‘स्पिड स्कोर’ यो सम्मान प्राप्त भएको एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि बनेको ‘एक्सन टिम’ (कार्यदल)ले छानबिन तथा आवश्यक कारबाहीको काम सुरु गरेको छ। नवलपरासीका पीडितहरूले राजधानी काठमाडाैँ पुगेर धर्ना दिने उद्घोष गरेपछि सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि जिल्लामा कार्यदल गठन गर्न निर्देशन दिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलले आवश्यक कारबाहीका लागि काम सुरु गरेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङ राप्ती नदीको पुल जीर्ण अवस्था छ। इलाका प्रहरी कार्यालय भालुवाङले नै बोर्ड राखेर ‘पुल जीर्ण रहेको’ सूचना दिएको छ। जीर्ण पुल, त्यससँगै प्रहरीको सूचना बोर्डले सवारीचालक र यात्रु सबैलाई झस्काउने गर्छ। पुल जीर्ण छ, विस्तारै हिँड्न अनुरोधसहितको बोर्ड राख्दा पनि मर्मतका लागि सम्बद्ध निकायको ध्यान पुगेको छैन। त्यस्तै लमही कोइलावास हुलाकी सडक खण्डको राप्ती नदीको पुलको अवस्था पनि यस्तै छ। यो सडक फराकिलो बनाए पनि पुलमा दोहोरो सवारीसाधन आवतजावत हुन सक्दैन। जीर्ण अवस्थामा रहेका यी पुलमा आवतजावत गर्दा दुर्घटनाको खतरा बढ्दै गइरहेको छ। कहिलेकाहीँ ठूला गाडी सँगसँगै (दोहोरो) पार गर्न नसक्दा लामो समयसम्म जाम पनि हुने गरेको छ।
मुस्ताङको थासाङ गाउँपालिका–२, कोबाङमाथिको सानोसरे भीरमा गत जेठ १५ गते तारा एयरको विमान दुर्घटना भयो। उक्त दुर्घटना स्थलमा पहिलो पटक पुग्ने उद्धारकर्तामध्येका एक हुनुहुन्थ्यो– इन्द्रसिंह शेरचन। थासाङ नाउरीकोटका स्थायी बासिन्दा शेरचन अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा मुस्ताङ लेते होटल सञ्चालन गर्दै आउनुभएको छ। कुनै विपत्ति तथा दुर्घटना भएको थाहा पाएमा उद्धार कार्यमा उहाँ पहिला पुग्नुहुन्छ। कालीगण्डकी कोरिडोर सडकका सुपरभाइजरसमेत रहनुभएका शेरचन कोही कसैलाई अप्ठ्यारो परेमा पनि पुगिहाल्नुहुन्छ। बाढीपहिरो तथा अन्य विपत्का घटनामा पनि अग्रपङ्क्तिमा उहाँ नै खटिनुहुन्छ।
पोखरा महानगरपालिकाले कर्मचारी सङ्ख्या कटौती गर्ने योजना ल्याएको छ। सो योजनाअनुसार आर्थिक वर्ष २०७९/८० मा स्वर्णिम कर्मचारी अवकाश योजना सञ्चालन गरिने भएको छ। महानगरपालिकाले त्यसका लागि साढे १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहे महानगरबाट निश्चित रकम पाउने छन्। महानगरका प्रवक्ता एवं वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले निश्चित अवधि पुगेका कर्मचारीलाई अवकाश जाँदा रकम प्रदान गरिने जानकारी दिनुभयो।
नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप भएको छ। बुटवल–नारायणगढ सडक विस्तारको काम अहिलेसम्म ९० दशमलव ६६ प्रतिशत सकिनुपर्ने थियो तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेटले जम्मा १८ दशमलव ४४ प्रतिशत मात्र काम सकेको छ। कम्पनीले ढिलाइ गरेको भन्दै आलोचना भइरहेका बेला एक वर्ष म्याद थप भएको हो। सो कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनु आदि कारण देखाई काम ढिलो भएको देखाएको छ।