काठमाडौँ, जेठ १ गते । नेफ्टा फिल्म अवार्डको एघारौँ संस्करणको मनोनयन सार्वजनिक भएको छ । अमेरिकाको टेक्सासमा २०२३ जुलाई २२ मा हुने अवार्डका लागि आयोजकले आइतबार उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।
‘उत्कृष्ट अभिनेता’ मा दयाहाङ राई, विपिन कार्की, दीपकराज गिरीसँगै अनमोल केसी र प्रदीप खड्का मनोनयनमा पर्नुभएको छ । अभिनेतृतर्फ अरुणा कार्की, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्का र मिरुना मगरबीच प्रतिस्पर्धा हुने भएको छ । चलचित्र ‘फूलबारी’ बाट कार्की, ‘कबड्डी ४’ बाट राई, ‘छक्कापन्जा ४’ बाट गिरी, ‘ए मेरो हजुर ४’ बाट केसी र ‘प्रकाश’ बाट खड्का उत्कृष्ट अभिनेताका लागि मनोनयनमा पर्नुभएको छ । ‘फूलबारी’ बाट कार्की, ‘चिसो मान्छे’ बाट खड्का, ‘पानी फोटो’ बाट प्रधान, ‘द सिक्रेट अफ राधा’ बाट श्रेष्ठ र ‘कबड्डी ४’ बाट मगर उत्कृष्ट अभिनेतृका लागि मनोनयनमा पर्नुभएको आयोजकले जनाएको छ ।
त्यस्तै ‘उत्कृष्ट चलचित्र’ तर्फ ‘कबड्डी ४’, ‘छक्कापन्जा ४’, ‘ऐना झ्यालको पुतली’, ‘द सिक्रेट अफ राधा’ र ‘चिसो मान्छे’ मनोनयनमा परेका छन् ।