काठमाडौँ, मङ्सिर २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११ औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ ।
निर्वाचन जित्नेमा ढुक्क देखिनुभएका ओलीले अध्यक्ष पदमा निरन्तरता दिने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो, “म अध्यक्षमा निर्विरोध हुन्छु होला ।” मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन सङ्कटमा रहेकाले त्यसको रक्षाका लागि पनि एमाले एकताको अपरिहार्यता भएको उहाँले बताउनुभयो । एमाले फुटेर होइन, जुटेर सङ्घर्ष गर्दा उपलब्धि हात लाग्ने उहाँको आग्रह छ ।
त्यसैगरी अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका पोखरेलले अध्यक्ष ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिनुभएको छ । पोखरेलले ओली ११ वर्ष पार्टी अध्यक्ष र छ वर्ष प्रधानमन्त्री भइसकेकाले अब गर्नुपर्ने नयाँ काम बाँकी नरहेको बताउनुभयो । “११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । छ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नुपर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन,” उहाँले भन्नुभयो, “अब ओलीले यो पार्टीको अभिभावक हुनु पर्छ भन्ने ठान्छु । आम रूपमा त्यही परिस्थिति छ ।” मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमालेको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ ।
“एमालेमा दुई कार्यकाल अध्यक्ष बनेर पटक पटक सरकारको नेतृत्व गर्नुभएको ओलीसँग प्रतिस्पर्धामा आउनुभएको पोखरेल एमालेमा अहिले भएकामध्ये सबैभन्दा लामो समय केन्द्रीय कमिटीमा बसेर काम गर्ने नेतामा पर्नुहुन्छ । उहाँ २०३२ सालदेखि २०८२ सालसम्म ५० वर्ष केन्द्रीय कमिटीमा बसेर काम गर्नुभएको छ । त्यसैले पोखरेललाई ओलीले सामान्य आक्नुभएको देखिँदैन,” राजनीतिक विश्लेषक रामप्रसाद शर्मा भन्नुहुन्छ ।
आफूतिर झुकाव राख्ने नेताहरू उता नजाऊन् भन्नेतर्फ सजग ओलीले केही महिनाअघि विधान अधिवेशनबाट पारित विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेस गरेर त्यसलाई महाधिवेशनको बन्दसत्रबाट पास गराइसक्नुभएको छ । बन्दसत्रअघि भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पोखरेल पक्षको असहमति भए पनि विधान संशोधन प्रस्तावलाई पारित गरेको छ ।
यसले अध्यक्ष ओली पक्षलाई टिकट बाँडफाँटमा सहज हुने भए पनि पोखरेलले पनि धेरैलाई टिकट दिन सक्ने स्थिति सिर्जना हुने स्वतन्त्र वामपन्थी विश्लेषक विदुर तिमल्सिनाले उल्लेख गर्नुभयो ।
बैठकले पार्टीको पुरानै विधान कायम राखेर अघि बढ्ने निर्णय गरेको र विधानको मूल मर्म नबदल्ने र संरचनागत पक्षमा मात्र समायोजन गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा ओलीलाई रोक्न सातै प्रदेशलाई समेटेर चुस्त टिम बनाउने गृहकार्यमा लागेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले उल्लेख गर्नुभयो ।
निर्वाचन तालिका सार्वजनिक
महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ प्रकाशन गर्नुभएको निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ७ बजेसम्म मतदाता नामावली प्रकाशन, सोमबार बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधार, सोही दिन बिहान ९:३० बजे मतदाता नामावलीउपर गरेको दाबी विरोध र सुधारको सूचना प्रकाशन, बिहान १० बजे दाबी विरोधउपर छानबिन र निर्णय गर्ने कार्यतालिका तय भएको छ । यसै गरी २९ गते बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण, १०ः३० देखि १ः३० सम्म उम्मेदवारको दरखास्त फाराम दर्ता, २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, २:३० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ३:१० बजे उजुरीउपर छानबिन र निर्णय, ३:१० देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ताको समय तय भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार पुस १ गते मङ्लबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । मतदानपश्चात् सोही दिन मतगणना, निर्वाचन परिणाम घोषणा गरिने छ । निर्वाचन समितिले तोके अनुसार निर्वाचन परिणाम घोषणा र नतिजा प्रकाशनपछि शपथग्रहण गर्ने कार्यतालिका छ । एमालेले विद्युतीय भोटिङ मेसिनबाट मतदान गराउँदै छ ।
चुस्त सुरक्षा व्यवस्था, संयमित कार्यकर्ता
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिबार भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रस्टको मैदानबाट प्रारम्भ भई आइतबार काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी सभा हलमा बन्दसत्र सुरु भएको छ । यो महाधिवेशनको उद्घाटन समारोह तथा जुलुस प्रदर्शनका कारण त्यस क्षेत्रको ट्राफिकमा कुनै चाप नपरेको मात्र होइन, प्रदर्शनकारी र सहभागीको अनुशासन र व्यवस्थापन यस्ता समारोह आयोजना गर्ने अन्यका लागि पनि प्रेरणादायी देखिएको छ ।
महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार देशभरबाट दुई हजार ७२१ महाधिवेशन प्रतिनिधि, हजारौँ कार्यकर्ता, पार्टीका शुभेच्छुक, आमन्त्रित पाहुना सहभागी भए ।
काठमाडौँ उपत्यकादेखि आसपासका जिल्लाका वडा कमिटीसम्मका नेताकार्यकर्ता सहभागी भएको उद्घाटन समारोह अत्यन्तै व्यवस्थित, संयमित र शान्त रह्यो । महाधिवेशनको पहिलो दिन विभिन्न स्थानबाट निकालिएको ¥याली, झाँकी र विभिन्न साङ्गीतिक कार्यक्रमसहित परेडको सुरक्षार्थ झन्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
महाधिवेशनलाई सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न उल्लेख्य मात्रामा खटाइएका स्वयंसेवक र स्वयम् सभ्य र संयमित रूपमा प्रस्तुत महाधिवेशन प्रतिनिधि, कार्यकर्ता र सहभागीका कारण सुरक्षा व्यवस्थापन निकै सहज देखियो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धितालले महाधिवेशनको सुरक्षार्थ सम्पूर्ण पूर्वतयारी गरी सोही अनुसार सूचना सङ्कलन, आवश्यक निगरानीसहित आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।
महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न स्थानबाट निस्किएका ¥याली तथा परेड र महाधिवेशन स्थलमा कुनै पनि प्रकारको घुसपैठ नहोस् भनी सबै सुरक्षा तयारी गरिएको बताउँदै धितालले भन्नुभयो, “हामीले आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेका छौँ, आयोजकले पनि उल्लेख्य मात्रामा स्वयंसेवक खटाएको र सहभागी पनि संयमित र सभ्य रूपमा प्रस्तुत हुनुभएका कारण अहिलेसम्म कुनै समस्या उत्पन्न भएको छैन ।”
पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह र प्रदर्शनहरू पनि व्यवस्थित र अनुशासित रूपमा हुँदा त्यस क्षेत्रको ट्राफिकमा पनि खासै समस्या परेन । बन्दसत्र चलिरहेको भृकुटीमण्डप क्षेत्रको आसपासको सुरक्षा व्यवस्थापन चुस्त पारिएको छ ।
सो स्थानमा हाल झन्डै एक हजार प्रहरी विभिन्न चोक, नाका र कार्यक्रम स्थल आसपास खटाइएको छ । कार्यक्रम स्थलको सम्भावित सुरक्षालाई ध्यानमा राखी पहिलो र दोस्रो घेरा तयार गरी सुरक्षा प्रदान गरिएको छ ।
त्यसै गरी उल्लेख्य मात्रामा सादा पोसाकका सुरक्षाकर्मी, ट्राफिक प्रहरी, सर्भिलेन्स टिम, क्राइम डिटक्सन, डग स्न्यापिङ, विस्फोटक पदार्थ पहिचान तथा निष्व्रिmय पार्ने विशेष टोलीसहित वाटरक्याननसमेत तयारी अवस्थामा राखिएको छ ।