भैरहवा समाचारदाता
भैरहवा, जेठ १ गते । सरकारले राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन सार्वजनिक गरेको दुई महिना बितिसक्दा पनि रुपन्देहीका स्थानीय तहहरूले आफ्ना वेबसाइटमा २०६८ सालको जनसङ्ख्या राखिरहेका छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ सालको जनसङ्ख्या सार्वजनिक गरेको करिब दुई महिना भयो। गत चैत १० गते सरकारले २०७८ सालको जनसङ्ख्या सार्वजनिक गरेको थियो।
रुपन्देहीका १६ वटै पालिकाका वेबसाइट चेक गर्दा धेरै पालिकाको वेबसाइटमा पुरानै जनसङ्ख्याको विवरण राखिएको पाइएको छ। पालिकाहरूमा सूचना तथा सञ्चार प्रविधि अधिकृतसरहको दरबन्दी छ तर रुपन्देहीका १३ वटा पालिकामा भने वेबसाइट नै अपडेट गरिएका छैनन्।
यसले पालिकाहरू प्रविधिमा अझै पनि अपडेट नरहेको देखाउँछ। बुटवल उपमहानगरले भने २०७८ सालकै जनसङ्ख्या आफ्नो वेबसाइटमा अपडेट गरेको छ।
आफूलाई प्रविधिमा अब्बल दाबी गर्ने तिलोत्तमा नगरपालिकाले आफ्नो वेबसाइटमा अझै पनि २०६८ सालकै जनसङ्ख्या राखिरहेको छ। नगरपालिकाको सङ्क्षिप्त परिचय भन्ने ठाउँमा तिलोत्तमाको जनसङ्ख्या २०६८ साल अनुसार एक लाख २३ हजार ८२६ उल्लेख छ। जब कि २०७८ को जनगणना अनुसार तिलोत्तमाको जनसङ्ख्या एक लाख ४९ हजार ६५७ रहेको छ।
सिद्धार्थनगर नगरपालिकाले २०७८ सालको प्रारम्भिक जनसङ्ख्याको विवरण मात्रै अपडेट गरेको छ। अन्तिम नतिजा वेबसाइटमा राखेको छैन। सैनामैना नगरपालिकाले आफ्नो वेबसाइटमा जनसङ्ख्याको विवरण उल्लेख नै गरेको छैन। देवदह नगरपालिकाले पनि आफ्नो वेबसाइटमा जनसङ्ख्याको विवरण अझै सच्याएको छैन। उसको वेबसाइटमा अहिले पनि २०६८ सालकै जनसङ्ख्याको विवरण उल्लेख छ।
त्यसै गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि आफ्नो वेबसाइटमा जनसङ्ख्याको विवरण सच्याएको छैन। उसको वेबसाइटमा अझै पनि २०६८ सालकै जनसङ्ख्या उल्लेख गरिएको छ। रोहिणी गाउँपालिकाले जनसङ्ख्याको विवरण नै वेबसाइटमा राखेको छैन भने मायादेवी गाउँपालिकाले २०६८ सालकै जनसङ्ख्यालाई आधार मानेर काम गरिरहेको छ।
शुद्धोधन गाउँपालिकाले भने आफ्नो वेबसाइटमा २०७८ कै जनगणना अपडेट गरेको छ। सियारी गाउँपालिकाले २०६८ कै जनगणना अनुसारको जनसङ्ख्या आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
कञ्चन गाउँपालिकाले पनि पुरानै जनगणना अनुसारको विवरण वेबसाइटमा राखिरहेको छ। रुपन्देहीको समरीमाई गाउँपालिकाले भने नयाँ जनसङ्ख्याको विवरण नै पालिकाको वेबसाइटमा अपडेट गरेको छ। मर्चवारी गाउँपालिकाले जनसङ्ख्याको विवरण त राखेको छ तर २०६८ वा २०७८ कुन सालको जनसङ्ख्या हो, त्यो नै उल्लेख गरेको छैन।
ओमसतिया, कोटहीमाई र गैँडहवा गाउँपालिकाले पनि पछिल्लो जनगणना अनुसारको जनसङ्ख्या राखेका छैनन्। हरेक पालिकामा सूचना प्रविधि विज्ञ तालिमप्राप्त कर्मचारी कार्यरत छन्। तर पनि उनीहरूले पालिकाको वेबसाइट नियमित अपडेट गरेको देखिँदैन।