• २६ पुस २०८१, शुक्रबार

लोक सङ्गीतमा स्याङ्जाका कलाकारको प्रभाव

blog

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ १ गते । नेपाली लोक सङ्गीतको क्षेत्रमा स्याङ्जाका लोक कलाकारको प्रभाव बढ्दै गएको देखिन्छ । स्याङ्जाका पुराना कलाकार चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह, राजेन्द्र लम्साल क्षेत्री, डिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपानेलगायतले लोक सङ्गीतका क्षेत्रमा आफ्नो उचाइ बढाउनुभएको छ । 

कालीगण्डकी गाउँपालिका–५, बलाम बेलटारीमा जन्मिएका लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले १७ वर्षको उमेरमा २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो । ४२ भन्दा बढी एल्बम तथा फुटकर गरी एक हजारभन्दा बढी गीतमा स्वर दिएका न्यौपानेले ‘ऐना हेरेर’, ‘मिर्मीमुनि काली थुनेको’ जस्ता चर्चित गीत मात्र होइन; राष्ट्रिय गीत, भजन, तीज तथा मगर भाषाका गीत पनि बजारमा ल्याउनुभएको छ । 

पोखरालाई कर्मथलो बनाएका न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय अध्यक्ष र वर्तमान संरक्षक रहनुभएको छ । वालिङ नगरपालिका–४, खाल्टेकी लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले २०५६ सालमा स्वर परीक्षा उत्तीर्ण गरी लोक तथा दोहोरी, एकल, सालैजो, कौडा गरी हालसम्म एक हजार पाँच सयभन्दा बढी गीतमा स्वर भर्नुभएको छ । गुरुङको ‘मिर्मीमुनि काली थुनेको’, ‘रानीघाटैमा’ लगायत थुप्रै गीतले चर्चा पाएको छ । 

कालीगण्डकी गाउँपालिका–५, गुरुङ्दीमा जन्मिई २०६२ सालमा ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीत गाएर गायक खुमन अधिकारी साङ्गीतिक क्षेत्रमा उदाउनुभएको हो । ‘त्यो मन रुन्न होला र’, ‘स्याङ्जालीलाई नभन जाली’ लगायत थुप्रै गीतले अधिकारीलाई चिनाएको छ । 

यस्तै चापाकोट नगरपालिका–१० की विष्णु माझी सानैबाट गीत सङ्गीतको क्षेत्रमा जुट्नुभएको थियो । माझीको ‘चरी जेलैमा’, ‘पछ्यौरा लेउ बैना’ लगायतका दर्जनौँ गीत चर्चित छन् । चापाकोट नगरपालिका–४ का गायक रामजी खाणले करिब १८ वर्षअघि आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘वालिङ बजारमा’ बोलको गीत गाएर नेपाली लोक सङ्गीतमा पाइला चाल्नुभएको थियो । त्यसयता उहाँले ‘फूल फुलेर पहेँलै भयो’ लगायत पाँच सयभन्दा बढी गीतमा स्वर दिनुभएको छ । स्याङ्जाली माटामा जन्मेर शब्द सिर्जना गर्ने सङ्गीतकार एकनारायण भण्डारीका हालसम्म छ सयभन्दा बढी गीत अभिलेख भएका छन् । गल्याङ नगरपालिका–९, गेझाका भण्डारीलाई अहिले शब्द सिर्जना गर्न भ्याइनभ्याइ छ । 

भण्डारीको रचनामा विसं २०५५ मा लोकगायक बुद्धिसागर बस्यालको स्वरमा ‘देउरालीमा हावा चल्यो मनभित्र हुरी’ बोलको गीत बजारमा आएको थियो । भण्डारीले रचना गरेका दोहोरी गीतमा ‘सुपारी चाम्रो’, ‘लालुपाते नुघ्यो भुइँतिर’ लगायत छन् भने ‘तिर्खा लायो पानी खाएँ’, ‘म बाँचेकै तिम्रै लागि हो’ बोलका आधुनिक गीत चर्चित छन् । 

नेपाली लोक सङ्गीतका क्षेत्रमा अर्को चिरपरिचित नाम हो, पशुपति शर्मा । पुतलीबजार नगरपालिका–३ का शर्माका धेरै गीत सफल भएका छन् । शर्माको स्वरमा रहेका ‘क्याम्पस पढ्न आउनि’, ‘मलाई अमेरिका यहीँ’ लगायत धेरै गीत चर्चामा छन् ।  स्याङ्जा जिल्लामा जन्मिएर गीतसङ्गीतका क्षेत्रमा योगदान दिने अन्य कलाकारमा भगवान भण्डारी, रमेश बिजी, राजु गुरुङ, शिव हमाल, लोकनाथ सापकोटा, शङ्करविरही गुरुङ, आधुनिक गायक रूपक डोटेल, बुद्धिसागर बस्याल, सिर्जनाविरही थापा, घनश्याम रिजाल, राजन कार्की, सुजन लम्साल, गोपाल जिटी, अर्जुन गैह्रे, कृष्ण काफ्ले, जगन्नाथ न्यौपाने, रोशन गैह्रे, कृष्णा गुरुङ, दीपक भट्टराई, ज्योति न्यौपानेलगायत छन् ।