काठमाडौं, पुस २६ गते । सरकारले १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप अभियानमा प्रदान गर्ने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी )खोप सुरक्षित रहेको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ ।
खोप शाखाका प्रमुख डा.अभियान गौतमलले यही माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा दिइने खोप सुरक्षित रहेको जानकारी दिनुभयो ।
डा.गौतमका अनुसार नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क प्रदान गर्ने सबै खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधी व्यवस्था विभागले स्वीकृत गरेको हुनाले यो खोप पनि अत्यन्तै सुरक्षित र प्रभावकारी छ ।
डा.गौतमले एचपिभी खोप १४४ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरूलाई दिइरहेको र यसको प्रभावकारीता शतप्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाइसकेको जानकारी दिनुभयो ।
एचपिभी भनेको के हो ?
यो एक प्रकारको भाइरस हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस हो । एचपिभी भाइरस दुई सयभन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ ।
नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण हो । यो रोगबाट नेपालमा प्रत्येक दिन चार जनाको मृत्यु हुन्छ ।