जिल्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाउने गरिन्छ । दुई दिनसम्म मनाइने यो पर्वमा बाँडपाल लगायतका देवताको माडुमा (मन्दिर)मा धामी नाचेर गर्छन् । यो पर्वको आज (सोमबार) अन्तिम दिन हो ।
तनहुँ कारागारका कैदीबन्दीलाई रक्षा बन्धनको अवसर पाएका छन् । बह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय दमौलीले रक्षा बन्धन लगाइदिएको हो ।
अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ ।
झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु भएको छ । झाडापखालाका कारण जलवियोजन हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका दिप्सन भुजेलको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन्ट डा. रुपेश सङ्ग्रौलाले बताउनुभयो ।
जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टाप्पुमा बगर खेती गरिने भएको छ । चारैतिरबाट कोसी नदी सुसाउँदै बगिरहने ठन्डा हावा पानी र स्वच्छ वातावरण रहेको टापुमा किसानहरुले बगर खेती गर्ने भएका छन् ।
खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।
मोरङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । मोरङको कानेपोखरी –७ का ३३ वर्षीय हिराधन तामाङले खुकुरी प्रहार गर्दा ३० वर्षीया श्रीमती कविता घाइते हुनुभएको हो ।
स्थानीय तहको पुनर्संरचनाका बेला राजनीतिक पहुँच नपुग्दा विजयपुरवासीको यात्रा सुगमतिर भन्दा दुर्गमतिर मोडिएको छ । नगरपालिकाको सेवा लिन पुर्चौडी नगरपालिका–१० का विजयपुरवासी एक दिनको पैदल बाटो हिँड्दै आएका छन् । नगरको सेवाबाहेक हाटबजार, क्याम्पस, औषधी उपचारका लागि भने एक घण्टाको दुरीमा रहेको छिमेकी गाउँपालिकाबाट सजिलै प्राप्त हुन्छ । स्थानीय तहको पुनर्संरचनाका बेला साबिकको विजयपुर गाविसलाई १० नम्बर वडामा गाभिएपछि सुगमबाट दुर्गमतर्फ मोडिएको हो ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्वले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने बताउनुभएको छ ।
खप्तड छेडेदह गाउँपालिकाका अधिकांश ठाउँमा पहिरो रोक्न वृक्षरोपण कार्यक्रम सुरु गरिएको छ । उजाडिँदै गएको पाखापखेरा हरियाली बनाउने तथा गाउँबस्तीको नजिकमा गएको पहिरो रोक्न जिल्ला रेडक्रस शाखाले वृक्षरोपण कार्यक्रम सुरु गरेको हो । रेडक्रसको समन्वयमा खप्तड छेडेदह–४ को लिसाना, तल्लो लिसाना, गवानी, टम्टाना टोलमा गठित एकता सामुदायिक विपत् व्यवस्थापन समितिले पहिलो चरणमा तुहारे, खोलेघट्ट, कुकुडेखोला र भौनेतलामा वृक्षरोपण गरेको छ ।
व्यावसायिक रूपमा बाख्रापालन हुन थालेपछि सल्यानबाट खसीबोका निकासी हुने क्रम बढेको छ । गत आर्थिक वर्ष मात्रै सल्यानबाट ७२ करोड रुपियाँभन्दा बढीको खसीबोका निकासी भएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार खसीबोकाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले बाख्रापालनलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन् ।
दैलेखका स्थानीय तहले बैठक भत्ता र अनुगमन तथा भ्रमण भत्तामा साढे दुई करोडभन्दा बढी खर्च गरेका छन् । महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दैलेखका ११ स्थानीयले आर्थिक वर्ष २०७९/८० मा बैठक भत्ता, अनुगमन र भ्रमण शीर्षकमा दुई करोड ७३ लाख आठ हजार रुपियाँ खर्च गरेका छन् । कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐन, २०७७ को दफा १२ अनुसार अनुसूची २ बमोजिम सरकारी कामकाजका लागि जिल्लाबाहिर भ्रमण गरेको अवस्थामा मात्र दैनिक भ्रमण भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपत्का घटनामा परी ज्यान गुमाएका परिवारलाई छ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ । २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म ३४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बिमाबापत छ करोड ८८ लाख रुपियाँ राहत स्वरूप उपलब्ध गराएको हो ।
भानुभक्त प्राणी उद्यानबाट प्रभावित स्थानीयवासीले चार वर्ष बित्नै लाग्दा पनि मुआब्जाबापतको रकम पाउन सकेका छैनन् । व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिका–५ र ६ क्षेत्रका १४२ जनाले मुआब्जा रकम पाउन नसकेका हुन् । उद्यानबाट प्रभावित स्थानीयवासीलाई मुआब्जा वितरणका लागि चार वर्षअघि मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण गरिसकेको थियो । प्राणी उद्यानका लागि आवश्यक पर्ने जग्गा रोक्का हुँदा प्रभावितले बेचबिखन गर्न पाइरहेका छैनन् ।