• १० मंसिर २०८१, सोमबार

बहत्तर करोडको खसीबोका बिक्री

blog

श्रीनगर समाचारदाता

सल्यान, भदौ ३ गते । व्यावसायिक रूपमा बाख्रापालन हुन थालेपछि सल्यानबाट खसीबोका निकासी हुने क्रम बढेको छ । गत आर्थिक वर्ष मात्रै सल्यानबाट ७२ करोड रुपियाँभन्दा बढीको खसीबोका निकासी भएका छन् । पशु अस्पताल तथा  पशु सेवा कार्यालय सल्यानका अनुसार खसीबोकाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले बाख्रापालनलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन् । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतका अनुसार यहाँका किसानले दर्तावाल फर्मलाई ५९ करोड ६० लाखको खसीबोका बिक्री गरेका छन् । उहाँका अनुसार दर्ता नभएका स्थानीय व्यापारीमार्फत १३ करोडभन्दा बढीका खसीबोका निकासी भएको छ । आर्थिक वर्ष २०७९/८० मा कार्यालयको तथ्याङ्कमा ५९ करोड ५३ लाखको खसीबोका निकासी भएकोमा आव २०८०/८१ मा खसीबोका निकासीको दर बढेको उहाँको भनाइ छ । व्यावसायिक बाख्रापालनका लागि कृषकलाई आकर्षित गर्न बाख्रा वितरण, उन्नत जातका बोका खरिद, खोर निर्माणलगायतका कार्यक्रम सञ्चालन गरिएको पशु अस्पताल तथा  पशु सेवा कार्यालयका शर्मिला बुढाथोकीले बताउनुभयो । सल्यानमा पालिएको खसीबोका काठमाडौँ, पोखरा, धनगढीलगायतका प्रमुख सहरमा बढी माग हुने गरेको छ ।