• १४ वैशाख २०८१, शुक्रबार

एसियाड पूर्वावलोकन

विदेशी प्रशिक्षकको प्रशिक्षणले बढ्यो आत्मविश्वास

blog

काठमाडौँ, साउन १६ गते । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदमा जुडोबाट देशलाई पदक दिलाउन आठ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।  

हाङझाव एसियाडमा जुडोबाट चार पुरुष र चार महिलाले सहभागिता जनाउँदै छन् । १९ औँ एसियाड खेल्नेमा दाजुबहिनी इन्द्रबहादुर श्रेष्ठ र देवकी श्रेष्ठ पनि हुनुहुन्छ । नेपाल प्रहरीका इन्द्रबहादुर  ६६ केजीमुनि र देवकीले ५२ केजीमाथि खेल्नुहुने छ । अन्य खेलाडीमा पुरुष ६० केजीमुनि विकास विक, ८१ केजीमुनि जङ्गबहादुर सारु र १०० केजीमाथि रन्जेश गोले तथा महिलातर्फ ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठ हुनुहुन्छ । नेपाल जुडो सङ्घले छनोट प्रतियोगिताबाट यी आठ खेलाडी चयन गरेको हो । 

यी खेलाडी नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल केन्द्र एमएमएसीमा बिहान र बेलुकी जर्मनीका प्रशिक्षक मोहम्मद मन्सुरीको रेखदेखमा अभ्यास गरिरहनुभएको छ । मन्सुरीलाई नेपाली जुडो प्रशिक्षकहरू वीरेन्द्र रञ्जित र देवु थापाले साथ दिइरहनुभएको छ । एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी नेपाल आउनुभएको हो । इरानका पूर्वमुख्य प्रशिक्षक मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासङ्घ आइजेएफले नेपाल पठाएको हो । 

नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्य इरानलाई थुप्रै पदक दिलाइसकेका मन्सुरीले नेपालका लागि पनि पदक दिलाउने विश्वासमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “एसियाडमा नेपाली जुडो खेलाडीको प्रदर्शन उच्च रहोस् भन्ने हेतुले हामीले विश्वस्तरीय प्रशिक्षक बोलाएका हौँ । उहाँले धेरै मेहनत र नयाँ नयाँ टेक्निकसहित प्रशिक्षण दिइरहनुभएको छ । हुन त दुई/तीन महिनाको प्रशिक्षणले ठुलो परिवर्तनको आशा गर्न सकिँदैन । किनभने अन्य देशले दुई वर्षअघिदेखि नै एसियाडको तयारी सुुरु गरिसकेका छन् तर पनि मन्सुरीको आगमनले पदकको आशा पलाएको छ । हाम्रा खेलाडी पनि कम छैनन् । उनीहरूले देशलाई निराश पार्ने छैनन् ।” 

उहाँले एसियाडअघि  खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजाने प्रयास भइरहेको जानकारी पनि दिनुभयो । पोर्चुगलमा वैदेशिक प्रशिक्षण हुन सक्ने उहाँको भनाइ छ । त्यस्तै अन्तर्राष्ट्रिय जुडो महासङ्घले पनि हङ्गेरीमा चार जना खेलाडीलाई पठाउन आग्रह गरेको पनि उहाँले जानकारी दिनुभयो । 

एसियाडमा नेपालले तेक्वान्दो र कराँते जस्ता मार्सल आर्टस खेलबाट समय समयमा पदक ल्याएको इतिहास छ तर जुडोबाट नेपाललाई अहिलेसम्म पदक प्राप्त भएको छैन । प्रमुख प्रशिक्षक मन्सुरीलाई यस पटक पनि जुडोबाट खाली हात फर्कनुपर्ने डर छ ।

एसियाडमा जापान, चीन, कोरिया, मङ्गोलिया, इरानका विश्व विजेता खेलाडीहरू पनि सहभागी हुन्छन् । प्रशिक्षक मन्सुरीको भनाइमा नेपालका जुडो खेलाडीले हाङझावमा पदक ल्याउँछु भन्नु ठुलो कुरा हो । नेपाली जुडो खेलाडीहरू राम्रा छन् । उनीहरू पूर्ण रूपमा तयार मात्र नभएका हुन् । निरन्तर प्रशिक्षण भइरहेमा यी खेलाडी पेरिस ओलम्पिकसम्मका लागि तयार हुन्छन् । नेपाली जुडो खेलाडीको टेक्निक राम्रो भए पनि शारीरिक सामथ्र्य र फिटनेसमा कमी छ । 

प्रशिक्षकले चेन्ज प्रोग्राम भन्दै प्रशिक्षण शैली फरक पार्नुभएको छ । उहाँले जुडो खेलाडीको ‘इन्डुरेन्स’ वृद्धि गर्न जिम, ज्याकोजी, साउना, स्विमिङ, दौड, फिटनेसलाई पनि अनिवार्य प्रशिक्षण तालिकामा सामेल गर्नुभएको छ । नेपाली जुडो खेलाडीहरू ओलम्पिकमा वाइल्ड कार्डका रूपमा प्रतिस्पर्धा गर्न सक्ने प्रावधान छ ।  नेपालसँग प्रशिक्षक मन्सुरीले एक वर्षको सम्झौता गर्नुभएको  छ । उहाँ यो अवधि लम्बिएमा आफूले नेपाली जुडोका लागि अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तयार पार्ने दाबी गर्नुहुन्छ ।

पछिल्लो सागमा स्वर्ण पदक जित्ने पुनमले एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा पनि कांस्य पदक जित्नुभएको थियो । त्यसैले १९ औँ एसियाडका लागि उहाँको मनोबल उच्च छ । अझ राम्रो तयारी भइरहेकाले ७८ केजीमा खेल्ने पुनमले पदक जित्छु भन्ने आशा व्यक्त गर्नुहुन्छ । आर्मीकी पुनम विदेशी प्रशिक्षक आएपछि आफूहरूको क्षमता अझ बढेको बताउनुहुन्छ । रोल्पाका विकासले ६० केजीमा एसियाडमा  खेल्दै हुनुहुन्छ । पहिलो पटक सहभागी हुन लागेका विकासले पनि प्रशिक्षणमा सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आगामी एसियाडलाई एक्सपोजरका रूपमा लिनुभएको छ ।