• २२ वैशाख २०८१, शनिबार

हाँडीगाउँमा गहना खोज्ने जात्रा

blog

काठमाडौँ, वैशाख १३ गते । आमा टुँडालदेवीलाई छोरी भाटभटेनीले भेट्न जाँदा आफ्नी आमाको एक व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन् । त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहना पोखरीमा हराउँछ । त्यही गहना खोज्न पोखरीमा देवीको खट लगी जात्रा गरियो । सोही गहना खोज्ने परम्परा अन्तर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको छ । टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहनापोखरीभित्र तीन पटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने तिसाः मालिगू जात्रा गरिन्छ । लिच्छवीकालदेखि सुरु भएको मानिने सो जात्रा अरू स्थानका जात्राभन्दा भिन्न छ । त्यसैले ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने आहान पनि चलनमा छ । 

त्वरंः अजिमा (वैष्णवी टुँडालदेवी) को मूर्तिलाई खटमा राखेर तिसाः मालिगू पुखु (गहना खोज्ने पोखरी) भित्र डुबाएर परिक्रमा गराइन्छ । ल्हुती पुन्हीका दिन टुँडालदेवीको जात्रा सुरु हुन्छ । त्यस दिन मपता अजिमा (भाटभटेनी) को मूर्तिलाई पनि टुँडालदेवी ल्याउने गरिन्छ । त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहनापोखरीमा गहना खोज्ने जात्रा हुन्छ । 

हाँडीगाउँ संस्कृति तथा जात्रा संरक्षण समितिका सूर्यलाल प्रजापतिले भाटभटेनी अजिमाको गहना खोज्ने जात्रा भए पनि ऐतिहासिक घटनासँग सम्बन्धित रहेको बताउनुहुन्छ । उहाँका अनुसार मानदेवको समयमा विशालनगरका रूपमा स्थापित हालको हाँडीगाउँ काठमाडौँकै गहना रहेको थियो । द्वापरयुगको अन्त्य र कलियुगको सुरुवाती समय हाँडीगाउँमा रहेको कैलाशकुट भवनमा तोला महारानी भन्ने रानी थिइन् । त्यहाँ दयालु र धर्मात्मा रानीको महल गरगहनाले भरिभराउ थियो । तोला महारानी आफ्नो करुणाका कारण उक्त पोखरीमा पातमा बसेर स्नान गर्नुहुन्थ्यो । उहाँमा सम्पत्तिको लोभले जनतामाथि कर लगाउने निर्णय गरियो । तोला महारानीको सान लोभले खुम्चिएपछि पातमा बसेर स्नान गर्दा लडबडाउँदै खस्न पुगिन् । त्यसपछि दरबार क्षेत्रमा रहेको पोखरीमा जनताका लागि गहना खोज्ने जात्रा सञ्चालन गरिएको बताइन्छ ।

उहाँका अनुसार जात्रा सकेपछि मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गरिन्छ । जात्रा तीन दिन हुन्छ । मूर्तिलाई सात दिन समयबाहिर राखिने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडालदेवीकी बहिनीको खटलाई पनि परिक्रमा गराइन्छ । चैत्र शुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ । भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।

बलि दिइएको राँगाको रगतले नुहाएका द्यलाः (एक जाति) पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवी (त्वरः अजिमा) को गहना खोज्ने जात्रा परम्परा अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन हुने गर्छ । टुँडालदेवी मन्दिरको पुजारी अद्यपि द्यलाः जातको हुने गर्दछ । त्रयोदशीको राति भाटभटेनी (मपता अजिमा) लाई टुँडालदेवीबाट फर्काइँदा मृत्युकर्ममा बजाइने सिंबाजा बजाइन्छ । सो खट हेर्नुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ । जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी–ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताको खटजात्रा हुने गर्दछ ।