• १५ जेठ २०८१, मङ्गलबार

होलीका लोकभाका हराउँदै

blog

काठमाडौँ, चैत ६ गते  । अघिल्लो पुस्तासम्म पनि होलीको लोकभाका गाउँदै आफूलाई मन परेको मान्छेसामु गीतमार्फत आफ्ना भावना व्यक्त गर्ने चलन थियो । महिला पुरुष सबैका लागि प्रेम अभिव्यक्त गर्ने अवसर हुन्थ्यो होली अर्थात् फागुको समय । रङ खेल्ने मात्र होइन, रङ जस्तै स्वच्छ माया पिरती लगाउने उपयुक्त मौसम पनि यसै समयलाई मानिन्थ्यो । 

प्रविधिको विकास तथा पश्चिमी संस्कृतिका कारण अहिले आनीबानी र व्यवहार परिवर्तन भएका छन् । अहिलेको युवा पुस्ताले चाडपर्व भनेको रमाइलो गर्ने माध्यमका रूपमा मात्र लिन थालेका छन् । फागुका गीत गाउने चलन हराउँदै गएर जथाभाबी रङ दल्ने प्रवृत्ति देखिन थालेको छ ।  अघिल्लो पुस्ताले बुढापाकासँग मिलेर युवाले खेल्ने होलीका मिठा गीत अचेल सुनिँदैनन्, न त ती लोकप्रिय सङ्गीत सुनिन्छन् । सुनिन्छन् त केवल आधुनिक गीतका चर्का र टर्रा गीत/सङ्गीत मात्र ।  

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले भन्नुभयो, “उहिले युवकयुवती टोल टोलमा गीत गाउँदै फागु खेल्दै हिँड्थे । पुरुषहरू एकापसमा अबिर छर्दै गीत गाउँदै हिँड्थे । महिला टोली उनीहरूको स्वरमा स्वर मिलाउँथे । झन्डै तीन दशकअघिसम्मको प्रचलन अब त कथा जस्तै भइसक्यो । फागु संस्कृति हराउन केही समय लागेन जस्तो लागिरहेको छ ।” एकापसमा रङ खेलेर, अबिर छरेर फागु मनाउँदै गर्दा त्यहाँ विविध रङ देखिन्छ ग्वङ्गले थप्नुभयो, “ती रङमा सङ्गीतले प्राण भरेको हुन्छ । आत्मीयता साटासाट गर्ने पर्वका रूपमा रहेको फागु कालान्तरमा प्रेम गीतले जीवन्त बनाएको छ ।” 

यस्तै सङ्गीतकार तथा जनवादी गायक रामकृष्ण दुवालका अनुसार मल्ल राजाहरूले दरबारमा बाँसमा रङ्गीबिरङ्गी ध्वजापताका सजाएर चीर स्वायगु (चीर ठड्याउन) सुरु गरिन्थ्यो । नौ वटा ताल, नौ वटा बाजा बजाएर नवरसमा नाचेर रमाइलो गरेर चीर ठड्याउने प्रचलन उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “फागुका लोकगीतहरू मल्ल कालदेखि प्रचलनमा आएका हुन् । जुन नेवार जातिको पहिचानसमेत बन्यो । धेरै ताल सुरमा मिथिला क्षेत्रबाट प्रभावसमेत रहेको थियो ।” 

अहिलेसम्म पनि यस्तै प्रेम गीतहरू गुञ्जिरहेका हुन्छन्, दुवालले थप्नुभयो, “भागवतीय परम्पराका अनुसार यी गीतमा प्रेमविनयका कुरा आउने गरेका छन् । जहाँ गीत/सङ्गीतका माध्यमबाट विभिन्न किसिमले प्रेम अभिव्यक्त गरिन्छ ।” फागुमा गाइने यस्ता गीतलाई मनोरञ्जनका लागि मात्रै नभएर यी गीतको सम्बन्ध आत्मासँगै सम्बन्धित रहेको उहाँको तर्क छ । दुवालका अनुसार पहिला फागुमा गाइने लोकगीतमा ताल, सुरु, राग र भावहरू मिलेका हुन्थे । नवरसका साथसाथै गीत/सङ्गीत गुञ्जिन्थ्यो । अहिलेका गीतहरू क्षणिक रमाइलोका लागि मात्रै प्रस्तुत भएकाले फागुलाई विकृतिका रूपमा व्याख्या गर्न समेत थालिएको छ ।

उहाँले भन्नुभयो, “पहिलाका फागु भनेको रङको पर्व थियो, अबिरको उत्सव थियो । मानिसहरू विभिन्न रङले सजिन्थे । अहिले मानिस नचाहिँदो रङ अनुहारमा पोतेर अनावश्यक रूपमा हिँडेको समेत देखिन्छ । नयाँ शब्दमा भए पनि फागुका लोकभाका उपत्यकामा जीवित नै छन् । ती धुनले बिहान बेलुकी नेवार बस्ती गुञ्जायमान भएकै छन् । वृद्धवृद्धाहरू दाफामा अबिरकै भाका हाल्दैछन् तर नयाँपनले मौलिकता गुम्ने खतरा पनि उत्तिकै छ ।” दुवाल भन्नुहुन्छ, “त्यो बेला निर्माण गरिएका गीत/सङ्गीतमा प्रेमसँग मात्रै नभएर उपत्यकाको जीवनशैली र दर्शन व्यक्त भएको पाइन्थ्यो । अचेल आधुनिकतासँगै ती गीत/सङ्गीतमा धेरै विकृति देखिन थालेका छन् ।”