• २३ वैशाख २०८१, आइतबार

पूर्वमन्त्री आलमसहित चारलाई जन्मकैद

blog

पूर्वमन्त्री अफताव आलम । फाइल तस्विर

सञ्जयकुमार मिश्र 

गौर, वैशाख  १३ गते । रौतहट जिल्ला अदालतले पूर्वमन्त्री मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ । 

रौतहट जिल्ला अदालतका एक नम्वर इजलाशका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री आफताव आलम निजका भाइ महताव आलमसहित ११ जनाविरुद्ध २०७६ कात्तिक १८ गते दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जन्मकैदको सजाय सुनाएको हो ।

गत सोमवारदेखि चल्दैआएको बहस बादी पक्षबाट तीन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जनाले बहस गरेका थिए । बहस सकेपछि आफताव आलम, निजका भाइ महताव आलम, मुक्ति साह र शेख सेराजलाई जन्म कैद र बद्री सहनीलाई सफाइ दिइएको तथा फरार रहेका ६ जनालाई मुल्तवीमा राखिएको सजाय सुनाइएको रौतहट जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनुभयो ।

वादी पक्षबाट सरकारी वकिल कार्यालयका पुष्पराज पौडेल, वद्री कार्की र दयानिधि रिजालले बहस गरेका थिए । प्रतिवादीबाट वरिष्ठ अधिवक्ता मोहम्मद साविर हुसेन, गोपालकृष्ण घिमिरे, अजय पटेल, आफताव आलम, यदुनाथ खनाल, मजरुल हक, लालबाबु यादव र अनन्त अधिकारीले बहस गरेको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जलाएको आरोप श्रीनारायणप्रसाद सिंहसहितले लगाएर मुद्दा दर्ता गराएका थिए । नेता आलम अहिले केन्द्रीय कारागारको थुनुवा कक्षमा कैदीबन्दीसरह जिवन व्यतित गर्दैआएका छन्  ।