• ७ असार २०८२, शनिबार

एक करोड ३० लाखका गरगहनासहित दुई जना पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार ७ गते। कास्की प्रहरीले सवा करोडका गरगहनासहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ। पोखराबाट बुटबलतर्फ जाँदै गरेको माइक्रो बस चेकजाँच गर्ने क्रममा पोखरा–२२, पुम्दीभुम्दीबाट कुलदीप सिंह र रामबहादुर विकलाई नियन्त्रणमा लिइएको हो। 

सिंह र विक दुवैलाई शनिबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ। भारतको पञ्जावका ४९ वर्षीय सिंह र रूपन्देहीका ४७ वर्षीय विकको फेसबुकमार्फत् चिनजान भएको प्रहरीले जनाएको छ। शुक्रबारको बजार मूल्य अनुसार सुनसहितका पत्थरको मूल्य एक करोड ३० लाख ४१ हजार आठ रुपियाँ पर्ने देखिन्छ। 

प्रहरीले उनीहरूको साथबाट सुनका ढिक्का दुई तोला, सिक्री २९ थान, औठी ५७ वटा, जुली तीन सय २४ थान, मङ्गलसूत्र १७ थान, लकेट ९९ थानसहित ८२ तोला १६ लाल सुन र पत्थर फेला पारेको छ। पक्राउ परेका दुवैलाई उक्त सामानसहित आवश्यक कारबाही र अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले बताउनुभयो। 

कुलदीपले पछिल्लो समय भारतका विभिन्न ठाउँमा सुनका गरगहना बेच्दै हिँड्ने गरेकोमा पछिल्लो समय नेपालमा पनि बेच्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको छ। असार ४ गते विकलाई साथमा लिएर पोखरा आएका सिंहले यहाँ पनि सुन बेच्न खोजेको थिए। सुन बिक्री भएवापत केही रकम लिने शर्तमा विक बुटबलबाट पोखरा आएको खुलेको छ।