‘क्लीन फिड’ नीतिको सान्दर्भिकता

ashok ghimireअशोक घिमिरे


विज्ञापनरहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो, जसअन्तर्गत दर्शकले विज्ञापनरहित टेलिभिजन च्यानलका प्रसारण हेर्न सक्छन् । विदेशी टेलिभिजन च्यानलहरूले नेपालको विज्ञापन बजारमा आफ्ना च्यानलबाट निःशुल्क विज्ञापन प्रसारण गरिरहेको देखिन्छ । ती च्यानलबाट प्रसारण हुने सामग्रीमा विज्ञापन नराखिने प्रक्रिया या विज्ञापनरहित प्रसारण गरिने नीति नै क्लीन फिड नीति हो । नेपालको टेलिभिजन प्रसारण जगत्मा आमदर्शकले विदेशी च्यानल हेर्दा कार्यक्रमसँगै त्यहा“बाट प्रसारण हुने विज्ञापन पनि हेर्नुपरेको बाध्यता छ । स्वदेशी विज्ञापनको बजार विस्तार गर्न मुलुकमा क्लीन फिडको नीति ल्याउनुपर्छ भनी लामो समयदेखि मिडिया बहस हँुदै आइरहेको छ । क्लीन फिड नीतिका पक्ष र विपक्षमा जनमत भए पनि देशकाल परिस्थितिअनुसार समयसापेक्ष सरकारी तहबाट देशको उच्चतम स्वार्थलाई मध्यनजर गरी नीतिगत निर्णय र कार्यान्वयन हुन अपरिहार्य देखिन्छ ।
विश्वव्यापी अभ्यास हेर्दा देशभन्दा बाहिर प्रसारणका लागि डाउनलिङ्क अनुमति लिएका विदेशी च्यानलहरू शुल्क तिरेर मात्र हेर्न पाउने अर्थात् ‘पे च्यानल’ र शुल्क नतिरी हेर्न मिल्ने अर्थात ‘फ्रि टु एयर’ व्यवस्था रहेको देखिन्छ । नेपालमा प्रसारण अनुमति लिएका विदेशी च्यानलहरू ग्राहकबाट शुल्क लिन पाउने अर्थात ‘पे च्यानल’ को रूपमा छन् । अन्तर्राष्ट्रिय प्रचलनअनुसार यस्ता ‘पे च्यानलहरू’ ले आफ्ना कार्यक्रमहरू विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था छ । विज्ञापनरहित प्रसारणलाई सम्बन्धित देशका नीति र कानूनले निर्देशित गर्नुपर्ने हुन्छ । संसारमा अहिले टेलिभिजन सङ्केत वितरण दुई प्रकारले व्यावसायिक हुने गरेको पाइन्छ । पहिलो आफ्ना ग्राहकबाट टेलिभिजन सङ्केत प्रसारणवापत शुल्क लिने तर यसमा विज्ञापन प्रसारण नगर्ने अर्थात् क्लीन फिड प्रसारण गर्ने नीति लिएको हुन्छ । दोस्रो, ग्राहकसँग प्रसारण सङ्केतको शुल्क नलिने तर विज्ञापन प्रसारण गरेर आफ्नो खर्च उठाउने नीति लिएको हुन सक्छ ।
विदेशी टेलिभिजन प्रसारकमध्ये केही च्यानलले आफ्नो प्रसारणवापत ग्राहकबाट निश्चित शुल्क लिई विज्ञापनरहित कार्यक्रम प्रसारण गर्दै आइरहेका छन् भने केही च्यानलले ग्राहकबाट शुल्क नलिई विज्ञापन प्रसारण गरेर आम्दानी सुरक्षित गर्दै आइरहेका छन् । यसको आशय प्रायः सबै टेलिभिजन च्यानलले विज्ञापनरहित वा विज्ञापनसहित प्रसारण गर्न सक्छन् । ग्राहकबाट आफ्नो प्रसारणवापत शुल्क असुल गरेर विज्ञापनरहित प्रसारण गर्ने प्रमुख विदेशी च्यानलमा एच.बी.ओ, सिनेम्याक्स, स्टार, नेशनल ज्योग्राफी आदि पर्छन् । यस्ता च्यानलले प्रसारणवापत ग्राहकबाट निश्चित शुल्क उठाउ“छन् र उनीहरूलाई गुणस्तरीय प्रसारण सेवा उपलब्ध गराउ“छन् ।
नेपालमा विगत लामो समयदेखि नै ‘पे च्यानल’ को अवधारणा उब्जेको तर फस्टाउन नसकेको हो । नेपालमा केबल तथा डी.टी.एच सेवा प्रदायकहरूले ग्राहकबाट विदेशी च्यानलको प्रसारण वापत निश्चित शुल्क लिने र विदेशी विज्ञापन समेत हेर्न बाध्य बनाएको देखिन्छ जुन पक्कै पनि न्यायसङ्गत होइन । टेलिभिजन प्रसारक, विज्ञापन एजेन्सी, विज्ञापन सङ्घ, आमसञ्चारका बुद्धिजीवी र सरोकारवालाका दबाब र मागका कारण सरकारले क्लीन फिड (विज्ञापनरहित) को नीतिगत व्यवस्था गरेको छ तर यससम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता भएको छ ।
नेपालमा स्वदेशी टेलिभिजनका लागि विज्ञापन बजार वृद्धि गर्न सरकारले क्लीन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित ग¥यो । आमसञ्चार माध्यम र जनचासोको विषय स्वदेशी विज्ञापन बजार मात्र नभएर विदेशी संस्कृतिको नकारात्मक प्रभाव रोक्न यो नीति आवश्यक देखियो । फलस्वरूप सरकारले २०७४ साउन १ गतेदेखि नेपालमा हेरिने विदेशी च्यानलको हकमा विज्ञापनरहित टेलिभिजन प्रसारण गर्न क्लीन फिड लागू गर्ने नीति लिइयो । नीतिको पूर्ण कार्यान्वयनका लागि जब निर्दिष्ट समयसीमा तोकियो, तब कार्यान्वयनको पक्ष र विपक्षमा सरकारमा दबाब सिर्जना भयो । नेपाल केवल टेलिभिजन महासङ्घ, नेपाल केवल टेलिभिजन व्यवसायी महासङ्घ, डिस होमलगायतका व्यावसायिक सङ्गठन यो नीतिको कार्यान्वयनमा बाधक बने । उनीहरूले सार्वजनिक विज्ञप्ति जारी गरेर सरकारलाई यो नीति कार्यान्वयन गरेमा आफ्ना माध्यमबाट प्रसारण भईआएका सबै च्यानल बन्द गर्ने चेतावनी दिए र सरकारलाई ज्ञापनपत्र समेत बुझाए । क्लीन फिड नीति कार्यान्वयन भएमा नेपालका केवल र डी.टी.एच सेवा प्रदायक कम्पनी नकारात्मक रूपमा प्रभावित हुने उनीहरुको तर्क आयो । उनीहरू भन्ने गर्छन्, ‘नेपालमा क्लीन फिड सम्भव छैन । क्लीन फिड नेपालको आवश्यकता होइन । ’ त्यसो भए नेपालको आवश्यकता चाहिँ के हो ?
यद्यपि, सरकारले जारी गरेको सार्वजनिक नीति कार्यान्वयनमा देखिएको शिथिलताले टेलिभिजन प्रसारकलगायत आम सञ्चार माध्यममा फेरि अर्को बहस शुरु भएको छ । यो नीतिको प्रभावकारी कार्यान्वयन हुनसकेमा यसले विज्ञापन बजारलगायत देशलाई सकारात्मक योगदान पु¥याउन सक्ने आमसञ्चार विज्ञहरूको बुझाइ छ । त्यसैले नेपालका टेलिभिजन प्रसारक संस्था मिडिया सोसाइटी, नेपाल विज्ञापन सङ्घ, केवल टेलिभिजन सञ्चालक महासङ्घ, डी.टी.एच सञ्चालक एवं नेपाल सरकारका पदाधिकारी लगायत सम्बन्धित विज्ञहरू, कानूनज्ञाताहरू बसेर राष्ट्रको हितमा निर्णय लिन अब ढिला गर्नु हुँदैन । मेरो गोरुको बाह्रै टाका भनेर अब देश निर्माण हुन सक्दैन । क्लीन फिड नीति कार्यान्वयन भए नेपाली टेलिभजन नै प्रसारण गर्दैनौँ भन्नु युक्तिसङ्गत होइन ।
यता नेपाल विज्ञापन सङ्घ, टेलिभिजन प्रसारक, सरकारी सञ्चार माध्यम र केही मिडियाले क्लीन फिड नीति लागू गर्न सरकारलाई बारम्बार अनुरोध र लबिङ गर्दै आइरहेका छन् । क्लीन फिड नीति नेपालका लागि नितान्त आवश्यक रहेकोले तत्काल लागू गर्नुपर्ने नेपाल विज्ञापन सङ्घको भनाइ छ । बीबीसी, सीएनएनजस्ता विज्ञापनरहित टेलिभिजन नेपालमा प्रसारण हुन सक्ने अरू किन नसक्ने ? क्लीन फिड लागू भएस“गै हालको नेपाली विज्ञापन बजार एक वर्षमै दोब्बर हुन सक्ने र यसले गर्दा सरकारको राजस्व बढ्ने नेपाल विज्ञापन सङ्घको दाबी छ ।
क्लीन फिड नीतिका मूलभूत उद्देश्यहरू छन् ः (क) विदेशी टि.भी. च्यानलहरूबाट सिग्नल विज्ञापनरहित प्रसारण गर्ने (ख) बहुर्राष्ट्रिय कम्पनीहरूको वस्तु तथा सेवाका विज्ञापन प्रत्यक्षरूपमा नेपाली टि.भी. च्यानलमार्फत प्रसारण गर्ने र नेपालका विज्ञापन एजेन्सी र च्यानललाई सकेसम्म आत्मानिर्भर बनाउने (ग) नेपालका च्यानलमार्फत प्रसारण हुने कार्यक्रम तथा विज्ञापनको गुणस्तरमा वृद्धि गर्ने, नेपाली बजार तथा च्यानलमा बहुराष्ट्रिय कम्पनीको विज्ञापन प्रवेशमा वृद्धि ल्याउने (घ) नेपाली भाषा तथा संस्कृतिको प्रवद्र्धन गर्ने र विदेशी संस्कृतिको नकारात्मक प्रभावलाई सकेसम्म कम गर्न नेपालमा विज्ञापन उद्योगको विकास गर्ने, रोजगार सिर्जना गर्ने र सरकारी आम्दानीमा थप वृद्धि गर्ने (ङ) टेलिभिजन व्यवसायलाई उद्योगको रूपमा विकास गर्ने र कार्यक्रम तथा विज्ञापन उत्पादन तथा प्रसारण कार्यलाई थप व्यवसायीकरण गर्ने आदि ।
एक अध्ययनअनुसार नेपालको वर्तमान विज्ञापन बजार वार्षिक ६ अर्बमध्ये ७० प्रतिशतभन्दा बढी हिस्सा बहुराष्ट्रिय कम्पनीले ओगटेको छ । क्लीन फिड कार्यान्वयन नगरी परम्परा नै कायम रहे बहुराष्ट्रिय कम्पनीले नेपालमा आएर विज्ञापन उत्पादन तथा प्रसारण गर्नुको साटो भारतीय टेलिभिजनमार्फत नै विज्ञापन गरिरहेका हुन्छन् । उनीहरू आउने दिनमा टेलिभिजन मिडियाभन्दा प्रिन्ट मिडियामा जान सक्छन्, त्योभन्दा पनि बढी अनलाइन मिडिया र डिजिटल माध्यममा आकर्षित हुँदै गइरहेको अवस्था छ, जुन टेलिभिजन प्रसारकका लागि चुनौती बन्न सक्छ । किनभने भारतीय च्यानलमार्फत उनीहरू आफ्नो वस्तु तथा सेवाको विज्ञापन प्रसारण गर्छन्, जुन यहा“का दर्शकहरूले हेर्ने गरेका छन् । यदि क्लीन फिड नीतिका कारण बहुर्राष्ट्रिय कम्पनीहरू नेपालका स्थानीय टेलिभिजनमार्फत प्रचारका लागि बाध्यकारी हुनसके नेपालको विज्ञापन बजार बढ्न सक्ने सम्भावनामा दुई मत छैन । मिडियामा बहुर्राष्ट्रिय कम्पनीको विज्ञापन बढेमा त्यसको सकारात्मक प्रभाव नेपालको टेलिभिजन व्यवसायमा पर्न सक्छ । बहुर्राष्ट्रिय कम्पनीले नेपालका टेलिभिजनमार्फत विदेशी भाषा, लवज र संस्कृतिअनुसार विज्ञापन प्रसारण गर्दै जाने हो नेपाली दर्शकको मनोविज्ञानमा कस्तो छाप पार्ला, जिम्मेवार पक्षहरूले मनन गर्नु जरुरी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना