• १५ चैत २०८२, आइतबार

महावीर विजयी म्याग्दीमा ९ जनाले जमानत जोगाउन सकेनन्

blog

महावीर पुन ।

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै १५ हजार मतान्तरसहित महावीर पुनले म्याग्दीमा बाजी मार्नुभएको छ । म्याग्दीमा नौ जना उम्मेदवारले भने जमानत जोगाउन सकेनन् । 

हिमाली जिल्ला म्याग्दीको मतगणना अनुसार अन्तिम परिणाम अनुसार पुनले २२ हजार ८ सय ५० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९ सय १९ मत पाउनुभयो ।

उहाँहरु दुई जना बिचमा १४ हजार नौ सय ३१ मतान्तर भयो । त्यसैगरी तेश्रो स्थानमा आउनुभएका नेपालाी कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार छ सय ७६ मत पाउनुभयो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले तीन हजार पाँच सय २९ मत पाउनुभयो ।

स्वतन्त्र पार्टीका युवराज रोकाले एक हजार ५ सय ३०, राप्रपाका डम्भरबहादुर सुवेदी २५२, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरेले १८५, श्रम संस्कृति पार्टीका विनोद रानाले १२७, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी ३८, नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजाले २७, जनमोर्चाका छेमबहादुर विकले २२ र मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामाले ५ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

कुल ८६ हजार तीन सय ९७ मतदाता रहेको म्याग्दी जिल्लामा ४६ हजार तीन सय ३६ मत खसेको थियो । ४३ हजार एक सय ६० मत सदर भएको म्याग्दीमा तीन हजार एक सय ७६ मत बदर भएको थियो ।

निर्वाचन भन्दा अगाडी नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार महावीर पुन बिचमा प्रतिस्पर्धाको आँकलन गरिएको भए पनि मतपरिणामले भने त्यास्तो देखाएन । झण्डै १५ हजार मतान्तर सहित महावीर पुन विजयी भएपछि सबैको आँकलन फेल खाए ।

नौ जना उम्मेदवारले जमानत जोगाउन सकेनन्

उम्मेदवारी दर्ता पछि निकै प्रतिस्पर्धी भनेर प्रचार गरिएकै उम्मेदवारले पनि आफ्नो जमानत जोगाउन सकेनन् । म्याग्दीमा एक स्वतन्त्र सहित १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएको भए पनि ९ जनाले जमानत जोगाउने मत ल्याउन सकेनन् । 

विजयी हुने महावीर पुन, दोश्रो हुने हरिकृष्ण श्रेष्ठ र तेश्रो हुने कर्णबहादुर भण्डारीले जमानत जोगाएको भए पनि अन्यले जोगाउन सकेनन् । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने भए पनि नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले तीन हजार पाँच सय २९ मत पाउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले एक हजार ५ सय ३०, राप्रपाका डम्भरबहादुर सुवेदी २५२, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरेले १८५, श्रम संस्कृति पार्टीका विनोद रानाले १२७, प्रगतिशिल लोकतान्त्रीक पार्टीका देवेन्द्र कामी ३८, नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजाले २७, जनमोर्चाका छेमबहादुर विकले २२ र मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामाले ५ मत पाएकोले जमानत जोगिन सकेन ।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार सदर मत ४३ हजार १ सय ६० को दश प्रतिशत मत नआउने उम्मेदवारको जमानत जफत हुन्छ ।